Powered by Blogger.
जिल्लाका सवारी साधनले अस्थायी रुटपरमिट पाउने


तीन दर्जन रुटका लागी परमिट दिन सर्वपक्षिय सिफारिस 

राजन गाउँले 
सिन्धुली, १२ भदौं । जिल्लामा सञ्चालन हुने सार्वजनीक यातायातका सवारी साधनलाई अस्थायी रुट परमिट दिन यातायात व्यवस्था विभाग तथा अञ्चल यातायात व्यवस्थापन समितिमा सिफारीस गरिएको छ । 
जिल्लामा आइतबार बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी बासुप्रसाद काफ्लेको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्र र बाहिर सञ्चालन हुने सबै प्रकारका सार्वजनिक यातायातका साधनलाई अस्थायी रुट परमिट दिन सिफारीस गर्ने निर्णय गरेको हो । यस अघि यातायात व्यवस्था विभागले रुटपरमिट बिनाका सवारी साधन सञ्चालनमा रोक लगाएपछि जिल्ला भित्र र बाहिर सञ्चालन हुने यातायातका साधनहरु बन्द भएका थिए । 
यातायात ब्यवस्था कार्यालय जनकपुरको पत्रअनुसार जिल्लामा अस्थायी रुट परमिटका लागी सिफारिस माग भई आए अनुसार संशोधन सहित सर्वदलीय निर्णय गरी सिफारिस गरिएको निमिक्त प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए । 
‘यातायात ब्यवस्था कार्यालय जनकपुरले अस्थायी रुटपरमिटका आधारमा यातायातका साधनहरु सञ्चालन गर्न भनि आएको पत्रका आधारमा जिल्लाका राजनीतिक दल, ब्यावसायी, उपभोक्ता मञ्च, प्रहरी सहित बसेको बैठले संसोधन सहित झण्डै तिन दर्जन सडकमा अस्थायी रुट परमिटको लागी सिफारिस गर्ने निर्णय भएको हो,’ उनले भने ।
यातायात ब्यवस्था कार्यालय जनकपुरले गत बुधबार रुट परमिटि नभएका सवारी साधनलाई अस्थायी परमिटका लागी सिफारिस गर्न निर्णय गर्दै चलानी नम्बर १५८ को पत्र जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई पठाएको थियो ।
‘उक्त पत्रमाथी छलफल गर्दै जिल्ला भित्रका सबै ग्रामिण सडकका साथै विपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा अस्थायी रुट परमिट उपलब्ध गराउन सिफारिस गरिएको छ,’ काफ्लेले भने ।
सिफारिस कार्यान्वयन भएमा जिल्ला भित्रका सबै सार्वजनीक यातायातका साधनहरुले अस्थायी रुट परमिटि पाउने छन् । निर्णय अनुसार, सिन्धुलीमाढीबाट वीपी राजमार्ग हुँदै काठमाण्डौं, सिन्धुली–खुर्कोट–मन्थली–दोलखासम्म, सिन्धुली–खुर्कोट–घुर्मी, सिन्धुली बर्दीवास नारायणघाट कोहलपुर तथा बुटवल भैरहवा सम्मका लागि अस्थायी रुट परमिट प्रदान गर्न अञ्चल यातायात व्यवस्था विभागलाई सिफारिस गरीएको छ ।
यस्तै सिन्धुली जनकपुर, बर्दीवास, पोखरा, विरगंजसम्म सञ्चालन हुने सबै सार्वजनीक यातायातका साधनलाई अस्थायी रुट परमिट दिन माग गरिएको छ  । जिल्लाको ग्रामिण क्षेत्रबाट अब काठमाण्डौंसम्म जाने आउने सवारीका साधनलाई समेत अस्थायी रुट परमिट दिन सिफारिस गरिएको छ । जिल्लाका ग्रामिण क्षेत्र स्थित क्यानेश्वर हरिऔन बर्दिवास सिन्धुली खुर्कोट हुँदै काठमाण्डौं, दुधौली सिन्धुली काठमाण्डौं, धनसारी सिन्धुली काठमाण्डौं, डकाहा सिन्धुली काठमाण्डौं, जिनाखु सिन्धुली खुर्कोट काठमाण्डौं, लंगुरखोला सिन्धुली काठमाण्डौं सञ्चालन हुने सवारी साधनलाई पनि अस्थायी रुट परमिट दिन सर्वपक्षिय निर्णय सहित सिफारिस गरिएको छ । 
यस्ता सारी साधनहरुलाई प्रक्रिया पुरा गरेर यातायात व्यवस्था विभागबाट स्थायी रुट परमिट वितरण गराईने समेत निमिक्त प्रजिअ काफ्लेको भनाई छ ।
उता यसरी अस्थायी रुट परमिट वितरण संगै यातायात वयवस्था विभागले निर्धारण गरेको भडादर कडा रुपमा कार्यान्वयन गराइने काफ्लेले जनाएका छन् ।
जिल्ला स्थित वीपी राजमार्ग हुँदै काठमाण्डौं  जाने आउने र मध्यपहाडी लोकमार्गमा सञ्चालन हुने भाडाका सवारी साधनले यस अघि मनलाग्दी भाड लिँदै आएका थिए । विपी राजमार्ग निर्माण सम्पन्न छ भने मध्य पहाडी लोकमार्ग निर्माणाधिन छ । यी दुबै सडक प्रयोग गर्ने सार्वजनीक सवारी साधनले सरकारले तोकेको भाडा भन्दा झण्डै ५० प्रतिसतसम्म बढी असुल गर्ने गरेका छन् ।


, ,

0 comments

Write Down Your Responses