Powered by Blogger.
काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीसम्म साइकल यात्रा हुने


सिन्धुली, ३० असोज । समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते (नेभेम्बर ८ र ९) काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने भएको छ । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकलयात्रा काठमाडौं–धुलिखेल हुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ ।
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते गोर्खालीले विजय हासिल गरेको सम्झनामा विजयउत्सव मनाउने गरिएको छ । 

नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, जिल्ला विकास समिति सिन्धुली र स्थानीय सेनाको गणले संयुक्त रुपमा आयोजना गर्ने उक्तविजयोत्सवले सरकारी उत्सवको रुप लिइसकेको छ । आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकलयात्रा त्यसैको सुरुवात रहेको समृद्ध सिन्धुली नागरीक अभियानका अभियान्ता सौरभ ढकालले बताए । 

ढकालले भने, “साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्यहो । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने हाम्रो योजना छ ।” ‘राइड टु सिन्धुलीगढी’लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकल यात्रीलाई यस यात्रामा सहभागी गराउने हाम्रो उदेश्य रहेको ढकालको भनाई छ । 
‘राइड टु सिन्धुलीगढी’मा यात्रागर्न इच्छुक साइकल यात्रीका लागि आवेदन खुल्लागरिएको छ । प्रतिब्यक्ति १ हजार रुपैयाँ तिरेर यात्रीले आफूलाई दर्ता गर्न सक्ने र यात्रीका लागि आयोजकले खाने, बस्ने, टिसर्ट, बीमा, फर्कँदा सवारी साधन लगायतको ब्यवस्था गरेको आयोजनकले जनाएको छ । 
साइकल यात्रामा विश्व साइकल यात्री पुस्कर शाह समेत सहभागी हुने र राइड टु सिन्धुलीगढीको नेतृत्व ब्यवसायिक साइकल यात्री देवेन्द्र बस्नेतले गर्ने जनाइएको छ । 
त्यस्तै सिन्धलीगढी विजयउत्सवलाई भव्य बनाउन नगरपालिका कार्यालय सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढी देखी गढी सम्म म्याराथुन समेत आयोजना गरिएको छ । नेपालीहरुकै गौरबको रुपमा रहेको सिन्धुलीगढीलाई अझ स्थापित गराउनका लागी “माढी–गढी” म्याराथुनको आयोजना गर्न लागीएको कमलामाई नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगत प्रसाद भुषालले बताए । 
साइकल यात्रा जान चाहनेले    http://storycycle.com/stories/story/410  मा आफूलाई दर्ता गर्न सक्न हुने छ ।


,

0 comments

Write Down Your Responses