Powered by Blogger.
लालपुर्जा नहुँदा भुकम्प पिडितहरु अनुदान पाउनबाट बन्चित

सिन्धुली ५,कात्तिक । आफ्नो नाममा लालपुर्जा नहुँदा सिन्धुली जिल्लाका ६ हजार बढी भुकम्प पिडितहरु अनुदान पाउनबाट बन्चित भएका छन् । निजी आवस पुनर्निर्माणका लागि अनुदान पाउनका लागि पुनर्निर्माण प्राधिकरणसंग सम्झौता गर्न अनिवार्य लालपुर्जा चाहिने भएपछि यहाँका पिडितहरु बन्चित बन्नु परेको हो ।
जिल्ला भरका झण्डै ६ हजार पिडितहरुसंग आफ्नो नाममा जग्गा नहुँदा उनिहरुले घर निर्माणका लागि अनुदाननै नपाउने अवस्था आएको हो । लालपुर्जा नहुने पिडितहरुसंग हालसम्म सम्झौतानै हुन नसकेको जिल्ला विकास समिति सिन्धुलीले जनायो । 
जिल्लाको निपाने गाविसमा हालसम्म एक जना पिडितसंग पनि सम्झौत हुन सकेको छैन् । उक्त गाविसका सबै भुकम्प पिडित अनुदान पाउनबाट बन्चित हुनु पर्ने अबस्था आएको छ ।  गाविसका २ सय ६ जना पिडित मध्ये दुई सय १ जनासंग लाल पुर्जा नहुँदा अनुदान वितरणका लागि हालसम्म सम्झौता नै हुन नसकेको जिल्ला विकास समिति सिन्धुलीका डिजास्टर फोकल पर्सन बविन्द्रलाल माझीले बताए । 
आवस पुनर्निर्माणका लागि सरकारले दिने भनेको तिन लाख रुपैयाँको पहिलो किस्ता ५० हजार रुपैयाँ पाउन पहिला प्राधिकरणसंग सम्झौता गर्नु पर्छ । लाभ ग्राहीले अनुदान पाउन सम्झौंतामा कहाँ घर बनाउने हो निश्चित गरी लालपुर्जा र घर बन्ने जग्गाको कित्ता नम्बर समेत उल्लेख गर्नु पर्छ । ‘तर, निपाने गाविसका दुइ सय ६ जना लाभग्राही मध्ये दुई सय एक जनासंगनै लालपुर्जा नभएपछि सिंगो गाविसमै सम्झौतानै हुन सकेको छैन्,’ उनले भने ।
गाविसभरका जम्मा पाँच जना लाभग्राहीले मात्र आफ्नो नाममा घर बनाउन मालपोत कर्यालयमा राजिष्ट्रेशन पास भएको जग्गा देखाएपनि अन्य पिडितको अबरोधका कारण कसैसंग पनि सम्झौता नभएको उनले बताए । माझीले भने, ‘जिल्लाका अन्य गाविस र नगरपालिकाहरुमा पिडितहरुसंग सम्झौता गरी पहिलो किस्ताको ५० हजार रुपैयाँ समेत वितरण थालीएको भएपनि निपनेमा भने लालपुर्जाकै कारण सम्झौतामै ढिलाई भएको हो ।’
त्यस गाविसमा बसोबास गर्नेहरु अधिकांस सामुदायिक वन अतिक्रमण गरी बसेका सुकुम्बासीहरु हुन । सरकारले यस अघि लालपुर्जा नभएकाहरुलाई पनि निजी आवस पुनर्निर्माणका लागि अनुदान दिने जनाएपनि प्राधिकरणले त्यस सम्बन्धि कार्यविधिमा स्पष्ट नखुलाउँदा सम्झौता गर्नै समस्या भएको बताइएको छ । 
निपानेको जस्तै जिल्लाको कमलामाई नगरपालिका १० स्थित भिमान, हर्षाही गाविस, कल्पवृक्ष, सिर्थौली, कपीलाकोट लगायतका गाविसका हजारौं पिडितहरुले लालपुर्जा नभएकै कारण अनुदान पाउन सकेका छैनन् । 
जिल्लाका ३४ हजार दुइ सय लाभ ग्राही मध्ये हालसम्म २८ हजार पिडितहरुसंगमात्र सम्झौता सम्पन्न गरिएको छ । बाँकी ६ हजारबढीसंग सम्झौता हुन सकेको छैन् । सम्झौंता नहुनुको मुख्य कारण लालपुर्जा नै रहेको बताइएको छ । यसरी लालपुर्जा नहुनेहरु सुकुम्बासी रहेका छन् । भिमान बजार सिंगै लालपुर्जा विहिन छ । वर्षौंदेखी पिडितहरुले सार्वजनीक जग्गा ओगटेर बसोबास गर्दै आएपनि उनिहरुले आफ्नो नाममा लालपुर्जा पाउन सकेका छैनन् । उनिहरु पनि अनुदान पाउनबाट बन्चित हुनु परेको छ । 
जिल्लामा लालपुर्जा नभएका पिडितहरुसंग सम्झौता गर्न नसकीएको कुरा पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराएको भएपनि त्यस विषयमा कुनै निर्देशन नआएको माझीले बताए । जिल्लामा हालसम्म २५ हजार पिडितलाई पुनर्निर्माणको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ वितरण सम्पन्न गरेको बताइएको छ । तर, लाल पुर्जा नहुनेहरुका लागि प्राधिकरणले सम्बोधन नगरे पिडितहरुको घर बनाउने सपना अधुरै रहने निश्चित छ ।


, ,

0 comments

Write Down Your Responses