Powered by Blogger.
कमलामाईको दोश्रो आवधिक योजना निर्माण सुरु

बुद्धकुमार आछामी 
सिन्धुली, ८ कात्तिक । जिल्लाकै पहिलो कमलामाई नगरपालिका कार्यालय, सिन्धुलीले आफ्नो दोश्रो आवधिक नगर विकास योजना निर्माणको तयारी सुरु गरेको छ । 
नगरपालिका कार्यालयले सोमबार सरोकारवालाहरुसँगको कार्याशाला मार्फत आवधिक नगर विकास योजना तर्जुमा प्रक्रियालाई अगाडि बढाउन निर्देशक समिति तथा विभिनन् विषयगत उपसमितिहरुको निर्माण गरी तयारी सुरु गरेको छ । 
कार्यशाला मार्फत सम्पूर्ण सरोकारवालाहरु वीच सम्पर्क तथा समन्यव गरी सहयोग अभिवृद्धि तथा परीचालन गर्न नगरपालिकाका कार्यकारी अधिकृत जगत प्रसाद भुषाल संयोजक तथा विभिन्न् राजनैतिक दल र विषयगत कार्यालयका प्रतिनिधीहरु रहेको निर्देशक समिति गठन गरेको हो । 
त्यस्तै नेपाली काग्रेसका जिल्ला सचिब दिपक घिमिरे संयोजकत्वमा भौतिक विकास उपसमिति, नेकपा(एमाले)का नेता विनोद खड्काको संयोजकत्वमा आर्थिक विकास उपसमिति, नेकपा(माओवादी केन्द्र)का हितलाल श्रेष्ठको संयोजकत्वमा बन तथा वातावरण र विपद उपसमिति, राप्रपाका भिष्मराज श्रेष्ठको संयोजकत्वमा सामाजिक विकास उपसमिति र राप्रपा नेपालका मंकर बहादुर कार्कीको संयोजकत्वमा संस्थागत विकास, सुशासन तथा वित्तिय व्यवस्थापन उपसमिति गठन गरिएको कमलामाई नगरपालिका कार्यालयले जनाएको छ । 
निर्माण गरिएका उपसमितिहरुले स्थानीय स्तर सम्म पुगेर सुचना तथा तथ्याकं संकलन, बजेट र विकासको विश्लेषण, विषयगत योजना तयारी लगायतका आवश्यक कार्य गरी निर्देशक समितिमा प्रगति विवरण बुझाउने नगरपालिका कार्यालय प्रमुख जगत प्रसाद भुषालले बताए ।
स्थानीय स्वायत्त शासन ऐन २०५५, नियमावली २०५६ ले नगरपालिका कार्यालयले आवधिक योजना तर्जुमा गर्नुपर्ने व्यवस्था गरेको भएपनि कमलामाई नगरपालिका कार्यालयले २०६९÷७० मा मात्र आफ्नो पहिलो आवधिक योजना निर्माण गरेको थियो । सो आवधिक योजना पनि बजेट अभावका कारण कार्यान्वयन गर्न नसकिएकाले दोश्रो आवधिक योजना निर्माण सुरु गरिएको नगरपालिका कार्यालयका सुचना अधिकारी बिनोदबावु खकुरालले बताए । 
कमलामाई नगरपालिका कार्यालयको अगुवाई तथा श्रेष्ठ स्कलर एड्भान्स इन्जीनियरिङ डिजाइन कन्सलटेन्टको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको आवधिक नगर विकास योजनाको काम आउँदो ५ महिना भित्र सम्पनन् हुने जनाइएको छ । यस कामका लागी झण्डै १० लाख खर्च हुने कार्यालयको अनुमान छ । 
२०५३ सालमा स्थापना भएको नगरपालिका भएपनि नगरको विकासले खासै गतिलिन भने सकेको छैन । अझैपनि कतिपय वडाहरुमा बाटो, बिजुली, खानेपानी लगायतका आधारभुत पुर्वाधारहरुनै विकास हुन सकेको छैन । त्यसक्षेत्रका नगरवासीहरुले आफु नगरवासी भएपनि कहिले पनि नगरवासीले पाउने सेवा सुविधा उपभोग गर्न नपाएको गुनासाहरु बारम्बार गर्दै आईरहेका छन । 
नगरको समग्र विकासका लागी लक्ष्य तथा उदेश्य निर्धारण गरी भविष्यको मार्गचित्र तयार गर्न सुरु गरिएको आवधिक योजना निर्माणको तयारीले ति विकट क्षेत्रका नगरवासीहरुमा पक्का पनि उत्साह थप्ने छ तर दोश्रो आवधिक योजना निर्माण पहिलो जस्तो नबनोस समग्र नगरवासीहरुको कामना छ । 


,

0 comments

Write Down Your Responses