नगरपालिको नाम र केन्द्र परिवर्तन गर्न माग
सिन्धुली, ५ मंसीर । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति सिन्धुलीले सिफारिस गरेको दुधौली नगरपालिकाको नाम र केन्द्रको विरोध गर्दै कमलाखोज क्षेत्रका स्थानीयहरु विरोधमा उत्रिएका छन ।
दुधौली नगरपालिका र ककुरठाकुर गाविस बाहेक सिर्थौली, हत्पते, निपाने, हर्षाही, जिनाखु र अरुणठाकुर गाविसका स्थानीय राजनैतिक पार्टीहरुले प्राविधिक सहयोग समितिको सिफारिसको विरोध गर्दै आईतबार जिल्ला विकास समितिमा आएर ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र मार्फत उनीहरुले नगरपालिकाको नाम परिवर्तन गरी कमलाखोज नगरपालिका राख्नु पर्ने र केन्द्र परिवर्तन गरी सिर्थौलीलाई केन्द्र बनाउनु पर्ने माग गरेका छन ।
सयुक्त संघर्ष समितिमा रहेका नेकपा(माओवादी केन्द्र) सिर्थौलीका नेता अर्जुन कार्कीले भने, ‘समितिले गरेको सिफारिस अवैज्ञानिक छ, नगरपालिकाको नामाकरण र केन्द्रको चयन जनताको मनोविज्ञानलाई समेट्ने र सेवामा सहज पहुँच पु¥याउने भन्दा पनि हैरानी दिने खालको छ ।’ हालको नगरपालिकाको नामाकरण ऐतिहासीक तथा प्राकृतिक आधारमा भन्दा पनि बजार केन्द्रीत भएर राखिएकोले नाम र केन्द्र दुवै परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।
एक साता अघि मात्र राजनैतिक दलको सहमति बिना नै स्थानीय तह पुर्नसंरचना प्राविघिक सहयोग समितिले जिल्लालाई २ नगरपालिका सहित ८ गाउँपालिका बनाउन सिफारिस गरेको थियो ।
सिफारिस लगत्तै स्थानीय तहमा रहेका राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु नै विरोधमा उत्रिन सुरु गरेका छन । फिक्कल गाउँपालिकाको विरोध गर्दै भुवनेश्वरी, बासेश्वर, वितिजोरका स्थानीयहरुले अघिल्लो साता आन्दोलन गरेको थिए भने तिनपाटन क्षेत्रका स्थानीयहरुले छुट्टै गाउँपालिकाको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
0 comments
Write Down Your Responses