Powered by Blogger.
बाख्रा पालनबाटै मासिक ५० हजार आम्दानी

सिन्धुली ६, मंसिर । बाख्रा पालन ब्यावसायबाट मासिक ५० हजार आम्दानी गर्न सकिन्छ भन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ । त्यो पनि महिलाहरुबाट । तर जिल्लाको लदाभिर गाविसका प्राय महिलाहरु बाख्रा पालन ब्यावसायबाटै मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आत्मनिर्भर बन्न थालेका छन् । 
हाल दुधौली नगरपालिका (साविकको लदाभिर गाविस)का महिला कृषकहरुले गाविसलाई नै ब्यावसायीक बाख्रापालनका दृष्टिले पकेट क्षेत्र घोषणा गर्दै गरेको ब्यावसायबाट यस्तो आम्दानी गर्न थालेका हुन् । गाविसका एक परिवारले मासिक कम्तीमा १५ हजार रुपैयाँदेखी ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय तथा बाख्रा पालक ब्यावसायी सिता हमालले बताइन् । 
लदाभिर गाविस ५ स्थित ज्योति परिवार बाख्रापालन कृषक समुहमा आबद्ध हमालले आफुले बाख्रा पालन गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको बताईन् । उनि गाविसकै नमुना र उत्कृष्ठ कृषक हुन् । उनले हाल ४० वटा खसी बाख्रा पालेकी छिन् । ‘आधुनीक प्रविधिको खोर व्यवस्थापन सहित पालिएको बाख्राबाट बार्षीक ५ लाख ७० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छु,’ उनले भनिन् । 
गाविसमा हेफर इन्टर नेशनल नेपालको सहयोगमा हाम्रो प्रयास नामक स्थानीय गैर सरकारी संस्थाको सहयोगमा साना उद्यमी सुदृढीकरण परियोजना मार्फत ६ वटा उन्नत जातका बोका र पाठी सहयोग पाएपछि हमालले ब्यावसायीक बाख्रापालन सुरु गरेकी हुन् । उनले भनिन्, ‘अहिले मेरो खोरमा ४० वटा बढी उन्नत जातका खसी बाख्रा छन् । महिनामा तिनदेखी चारवटासम्म खसीहरु विक्री गर्ने गरेको छु । त्यसबाट ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ 
२०६९ सालबाट हेफर इन्टरनेश्नल नेपालले गरेको सहयोग पछि गाविस एक हजार ४ सय १६ घरका महिलाहरुले विभिन्न ६० वटा समुह बनाएर बाख्रा पालन गरेका छन् । उनिहरुलाई हेफर इन्टर नेश्नल नेपालको सहयोगमा हाम्रो प्रयासले ७५ वटा विऊ बोका निशुल्क उपहारका रुपमा वितरण गरेको छ । संस्थाले दिएको विऊ बोका र आफुहरुले पाल्दै आएका बाख्राविच नश्ल सुधार गरेपछि आम्दानी समेत वृद्धि हुन थालेको अर्का कृषक राजकुमारी तामाङले सुनाइन् । 
‘मैले ४५ वटा खसीबाख्र पालेकी छु । मलाई मेरो ब्यावसायबाट दुई वर्षदेखी बार्षीक ५ लाख आम्दानी भएको छ । त्यस बाहेक पोसिलो घाँषको खेती गरेकी छु । त्यसबाट पनि वार्षीक लाखबढी आम्दानी हुन्छ,’ तामाङले भनिन् ।
उनले दुई विगाहा जमिनमा घाँस खेती गरेकी छिन् । आफ्नो बाख्रालाई आवश्यक बाहेकको घाँस छिमेकीलाई विक्री गर्ने गरेको उनको भनाई छ । हमाल र तामाङ जस्ता गाविस भरका १४ सय महिलाहरु मासिक रुपमा यसरी आम्दानी लिदै आएका छन् ।  आफुहरुको सानो सहयोगले गाउँनै परिवर्तन भएको हाम्रो प्रयास नेपाललकी अध्यक्ष गंगा दाहालको दावी छ । संस्थाले कृषकहरुलाई बैज्ञानीक रुपमा पशुपालन गर्न सिकाएपछि यस्तो परिर्वतन आएको उनको दावी छ । उनले भनिन्, ‘अहिले गाविसबाट महिनामा एक सयबढी खसी बोका विक्री हुने गरेको छ । यसबाट मासिक रुपमानै झण्डै २० लाख रुपैयाँ गाउँमा भित्रन्छ ।’
बाख्राबाट आम्दानी मात्र नभएर उनिहरुको जिवनमै परिर्वतन आएको दाहालले बताइन् । आफ्नो ब्यावसायका अतिरीक्त स्थानीय महिलाहरु मन्दिर बाटोघाटो, खानेपानी, विद्यालय लगायतका विकास निर्माणको काममा समेत नेतृत्व सहितको सक्रिय सहभागिता देखाउन थालेका छन् । उनिहरु दैनिक अरुको ज्यालमजबुर गर्ने काम समेत बन्द गरेर लागि परेका छन् । सामान्य खर्चका लागि श्रीमानसंग माग्नु पर्ने बाध्यतालाई दुर गर्दै आफै कमाएर श्रीमानको लागि घर खर्च गर्न सघाउँछन् । ‘महिलाहरुको ब्यावसायमा घरका पुरुषहरुले समेत सहयोग गर्दा रोजगार खोज्दै परिवारका सदस्यहरु विदेश भौतारीनु पर्ने अवस्था समेत आएको छैन्, दाहालले भनिन्, ‘जसका कारण गाउँमै महिला दिदिबैनीहरु बाख्रापालन ब्यावसायबाटै हुने आम्दानीबाट आत्मनिर्भर हुन सिकेका छन् ।’ 
महिलाहरुले आफुले गरेको आम्दानीले घरखर्च कटाएर मासिक बचत समेत गर्ने गरेका छन् । गाउँमै प्रयास सामाजिक महिला उद्यम सहकारी संस्थाको गठन गरी आफ्नो आम्दानीलाई बचत गर्ने गरेका छन् । उनिहरुले पालन गरेका खसीबाख्रा र सुधारीएको खोर हेर्न तथा खसी बाख्रा खरीद गर्न जिल्लाका अलवा झापा, बुटवल, धादिङ, चितवन लगायतबाट आउने गरेका छन् ।
हमाललाई स्वर्णीम पुरस्कार
यसैविच लदाभिर गाविसमा बाख्रापलन ब्यावसायमा उत्कृष्ठ हुन सफल एक महिला कृषकलाई नगद ७० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । सुधारीएको खोरको निर्माण गरी गाविसमै नमुना कृषकका रुपमा बाख्रा पाल्दै आएकी दलाभिर गाविस ५ की सिता हमाललाई हेफर इन्टरनेश्नल नेपालले नगद ७० हजार रुपैयाँ उत्कृष्ठ कृषक घोषीत गर्दै स्वर्णीम पुरस्कारको नामबाट पुरस्कृत गरेको हो ।
गाविसमा आयोजित एक भब्य समारोहका विच हमाललाई हेफर इन्टरनेश्नल नेपालका कन्ट्री डाइरेक्टर डाक्टर शुभनारायण महत्तोले सम्मान गर्दै नगद पुरस्कारको लागि ७० हजारको चेक हस्तान्तरण गरेका हुन् । हमालले सिन्धुली जिल्लामै उत्कृष्ठ कृषकका रुपमा काम गर्न सफल भएपछि संस्थाकै तर्फबाट सम्मान गरिएको हेफरका निर्देशक तिर्थराज रेग्मीले बताए । हमालले बाख्रापालन ब्यावसायलाई ब्यावसायीकरण अनुनिकिकरण गर्न मद्दत गरेपछि उनलाई उत्कृष्ठ कृषकका रुपमा छनौट गरिएको उनको भनाई छ । हमालले बाख्रा पालन ब्यावसायबाटै हुने दुई वर्षको आम्दानीबाट गाउँमै १२ लाख रुपैयाँ बराबरको खेत किन्न सफल भएकी छिन् ।


, , ,

0 comments

Write Down Your Responses