Powered by Blogger.
वीपी राजमार्ग अतिक्रमण गरी निर्माण गरिएको सबै संरचना हटाउन निर्देशन

राजन गाउँले
सिन्धुली ३, फागुन । धुलीखेल–सिन्धुली–बर्दीवास (वीपी राजमार्ग) सडक दायाँ बायाँ बनेका भौतिक संरचना हटाउन सडक विभागले निर्देशन दिएको छ । सडकको दायाँ बायाँ ३१÷३१ मिटर क्षेत्र भित्र सडक मिचेर निर्माण गरिएका भौतिक संरचनाहरु तत्काल हटाउन विभागले सार्वजनीक सूचना जारी गर्दै निर्देशन दिएको हो । 
सडकको लागि २५÷२५ मिटर र दायाँ बायाँ ६÷६ मिटर नगरपालिकाको सेट ब्याकको लागि गरी जम्मा ३१÷३१ मिटर गरी दायाँ बायाँ जम्मा ६२ मिटर भित्र निर्माण गरिएको सार्वजनीक भवन, पसल, निजी आवस, सहायक सडक, होटल लगायतका संरचना खाली गर्न निर्देशन आएको छ । 
सडक अतिक्रमण गरी कुनै पनि कार्य नगर्न र अतिक्रमण गरी निर्माण गरिएका सबै प्रकारका संरचना हटाउन सडक विभागले सूचना निकाल्दै निर्देशन दिएको कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगत प्रसाद भुषाले जानकारी दिए । 
उक्त सडकको दायाँ वायाँ १५÷१५ मिटर भित्र पर्ने निजी घर तथा जग्गाको सडक विभागले सडक निर्माणकै चरणमा मुआब्जा दिइ सकेको छ । तर, हाल आएर २०५४ सालकै राजपत्रमा प्रकाशित सूचाना भन्दै विभागले सडकको दायाँ बायाँ थप १०÷१० मिटर गरी २५÷२५ मिटर भित्र पर्ने सबै घर तथा नीजी जग्गा लगायतका संचना हटाउन निर्देशन दिदै सडक खाली गर्न थालेको छ । थप १०÷१० मिटरको मुआब्जा समेत सरकारले पिडितलाई दिएको छैन् ।
वीपी राजमार्गको दायाँ वायाँ पछिल्लो समय ठुल ठुला सरकारी भवन, नीजि आवास, होटल तथा ब्यापारका लागि टहराहरु निर्माण कार्य भइरहेको छ । ‘सडक अतिक्रमण हुँदै गएको बेला सडकलाई विस्तार भन्दै सार्वजनीक सडक ऐन २०३१ को दफा १९ (क) अनुसार सडक विभागको पूर्व स्विकृत विना सडक अतिक्रमण गर्ने कुनैपनि कार्य गर्न निशेध गरिएको सडक विभागले सार्वजनीक सूचना जारी गर्दै निर्देशन दिएको छ,’ भुषालले भने ।
शनिवार राष्ट्रिय दैनिकमा एक सूचना जारी गर्दै सडक विभागले सडक अतिक्रमण गरि बनाइएको संरचनाहरु हटाउन निर्देशन दिँदै अटेर गरे त्यस्ता व्यक्ति संघसंस्था, कार्यालयबाट लाग्ने खर्च असुल उपर गरी हटाइने चेतावनी समेत दिएको छ ।
महोत्तरीको बर्दीवास देखि काभ्रेको धुलीखेलसम्म सडकको दायाँबायाँ हाल पाँच सयबढी ठुला साना भौतिक संरचनाहरु निर्माण गरि अतिक्रमण गरिएको छ । सडकको दायाँ वायाँ च्यापेर ठुला ठुला भौतिक पूर्वाधारहरु निर्माण भएका छन् । सिन्धुली जिल्ला सदरमुकाम माढीमा सडकको मापदण्ड मिचेर झण्डै आधा दर्जन सरकारी भवनहरु धमाधम निर्माण भई रहेका छन् । सडक विभागले जारी गरेको सूचनालाई आधार मान्ने हो भने, जिल्लामा निर्माण भाइरहेका नापी कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला खानेपनी कार्यालय, सरकारी वकीलको कार्यालय, जिल्ला विकास समिति लगायतका कार्यालयहरु निर्माण नसकिँदै हटाउनु पर्ने हुन्छ । 
जिल्लामा सडक विभागको पत्रका आधारमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको कार्यकारी अधिकृत भुषालको भनाई छ । ‘एक सातासम्म त्यस्ता संरचना नहटाए नगरपालिका आफैले हटाउने छ,’ उनले थपे । नगरपालिकाले यस अघिदेखिनै सडक दायाँ वायाँ ३१÷३१  मिटर भित्र पर्ने घरजग्गाको किन बेच तथा भौतिक संरचना निर्माण रोक लगाउँदै आएको छ । तर जवरजस्त गर्नेहरुको बल प्रयोग गरेरै भएपनि हटाउने बताइएको छ । 
उता स्थानीयले भने सडक विभागको निर्देशनलाई अटेर गरेका छन् । कि त आफ्नो घर जग्गाको उचित मुआब्जा पाउनु पर्ने, अन्यथा आफ्नो घर जग्गा नछाड्ने भन्दै स्थानीयले नगरपालिका र सडक विभागलाई दवाव दिँदै आएका छन् ।


, ,

0 comments

Write Down Your Responses