Powered by Blogger.
नदी नियन्त्रण आयोजनामा ब्यापक अनियमितता


राजन गाउँले
सिन्धुली ३०, फागुन । जिल्लामा संचालीत जलउत्पन्न तथा प्रकोप नियन्त्रण कार्यक्रममा ब्यापक अनियमितता भएको आरोप लागेको छ । जिल्लामा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय जनकपुरले सञ्चालन गरेको झण्डै चार करोड रुपैयाँ बढीको कार्यक्रममा अनियमितता भएको सरोकारवालाहरुले आरोप लगाएका हुन् ।
उपभोक्ता समिति, डिभिजन प्रमुख र इन्जीनियरको मिलेमतोमा जिल्लामा अनियमितता भएको आरोप लागेको हो । उपभोक्ता गठन देखि प्राविधिक स्टमेट तयार गर्न नै डिभिजन प्रमुख र प्राविधिक इन्जीनियरहरुले किर्तेकाम गरेको जिल्लाका राजनीतिक दलहरुलेनै आरोप लगाएका छन् । 
जिल्ला स्थित ग्वाङखोला, कमला, मरिण, तावा, चदाहा र दुम्जा खोलामा सञ्चालीत कार्यक्रममा ब्यापक अनियमितता भएको नेपाली कांग्रेस महासमिति सदस्य दिनेश अधिकारीले बताए । 
‘यस्तो आयोजनाहरुमा उपभोक्ता समिति गठन गर्दा प्रक्रियानै नपुग्ने, आफ्ना मान्छे मात्रै राखेर समिति गठन देखि उपभोक्तासंग ३० देखि ४० प्रतिशतसम्म रकम लिएर आर्थीक हिनामिना गरेका छन्,’ अधिकारीले भने ।
जिल्लामा सबै प्रकारका उपभोक्ता समिति गठन गर्दा स्थानीय र सर्वदलिय हुनु पर्ने भएपनि आयोजनाकै निर्देशनमा आफुखुसी गरेकाले मन्त्रालयमा समेत आफुले उजुरी दिएको अधिकारीको भनाई छ । 
अधिकारी जस्तै जिल्लामा जल उत्पन्न प्रकोप नियन्त्रणको काममा एमाले र माओवादी पनि सन्तुष्ट छैनन् । एमाले जिल्ला कार्यसमिति सदस्य पार्वती भट्टराईका अनुसार आवश्यक पर्ने ठाउँमा भन्दा पनि आफुलाई पाएक पर्ने स्थानमा मात्र बजेट विनीयोजन गरेर दुरुपयोग गरिएको छ । ‘प्रायः सरोकारवालाहरुको आँखा छलेर योजना झारो टार्ने गरी सक्ने र बजेट भागबन्डा गर्नेगरी काम भएको थाहा पाएपछि हामीले त्यस्तो कामको विरोध गरेका हौं,’ उनले भनिन् ।
 जिल्लामा यस्तो काम गर्न योजना छनौट देखि उपभोक्ता समिति गठन गर्ने काममा समेत राजनीतिक दलहरुलाई कुनै जानकारी नदीइएको उनको आरोप छ । धेरै जसो योजनाहरु गत वर्षनै काम भएको स्थानमा बजेट पारेर डुब्लीकेशन गर्ने षणेन्त्र गरिएको उनले जनाइन् । 
उता माओवादी केन्द्रका जिल्ला सदस्य पुकार न्यौपानेले पनि जलउत्पन्नको काममा पारदर्शीता नभएको भन्दै तत्काल काम रोकी आयोजना प्रमुखलाई कारबाही गर्नुपर्ने माग राखे । ‘उपभोक्ता समितिमा क्षेत्रधीकार बाहिरका मान्छे राखेर काम गर्दा ३० देखि ४० प्रतिसतसम्म रकम लैजाने दाउमा आयोजनाले काम गरेपछि काम रोक्न जिल्ला प्रशासन कार्यालयमा भनेका छौं,’ उनले थपे । कतीपय आयोजनामा कामनै हुन सकेको छैन भने भएको काममा पनि ३० देखि ४० प्रतिसतसम्म रकम नदीए पास नगरिदिने भन्दै उपभोक्तालाई धम्की दिने गरेको आरोप छ ।
जिल्लाको मरिण क्षेत्रनै तहस नहस गर्नेगरी क्षेती पु¥याउने मरिण खोला नियनत्रणका लागि ६० लाख रुपैयाँ परिचालन गरिएको भएपनि पारदर्शीरुपमा काम नभएको स्थानीय तथा कांग्रेस जिल्ला सदस्य महेश खतिवडाको आरोप छ । उनले यस्तो काम तत्काल रोक्नु पर्ने भन्दै आपत्ती समेत व्यक्त गरे । 
प्राविधिकहरुको अनुसार एउटा जालीको २२ सय, ढुङ्गा भर्न २५ सय र ज्याला १ हजार गरी ५७ सय रुपैयाँमा सकिने भएपनि जिल्ला सदरमुकामकै कामका लागि एउटा जाली भर्न ८ हजारका दरले लागत लाग्ने स्टमेट बनाएर बाँकी रकम आफुहरुलाई दिनु पर्ने सर्तमा काम गराएको आरोप छ । आयोजनाको काम र आयोजना प्रमुख र इन्जीनियरहरुले रकम माग गरेको विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी नै परेको छ । 
जलउत्पन्नको काम प्रति जिल्लाका तिनवटै संसदहरुले समेत आपत्ति जनाएका छन् । उनिहरुले समेत काम पारदर्शीता गर्न र सर्वदलिय उपभोक्ता समिति बनाउँन माग गरेका छन् । 
आयोजनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सर्वदलिय छलफल बोलाइएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको भनाई छ । ‘जिल्लामा भएको कामका विषयमा असन्तुष्ठ व्यक्त गर्दै मकहाँ समेत उजुरी आएको छ । सत्य तथ्य के हो भन्ने विषयमा बुझन् मैले आयोजना प्रमुख देखि सर्वदलिय वैठकका लागि अनुरोध गरेको छु,’ उनले भने ।
जिल्लामा यस अघिका वर्षहरुमा समेत करोडौं रुपैयाँ जलउत्पन्न तथा नदी नियन्त्रणको नाममा खर्च हुने गरेको भएपनि उपभोक्तालाई कमसल काम गर्न लगाउँदै बाँकी पैसा आयोजनाकै प्राविधिक इन्जीनियरहरुले लाने गरेको आरोप लाग्ने गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका निवर्तमान अध्यक्ष द्धारीका काफ्लेले जनाए । 
आयोजनाले कुनै वर्षपनि योजना, खर्च र कामको प्रगतीको बारेमा कुनै जानकारी नगराउने गरेको उनको आरोप छ । उता आयोजनाको काममा भएको अनियमितताका बारेमा भने डिभिजनका प्रमुखसंग सम्पर्क भएन । तर इन्जीनियर सुधानन्द झाले भने आफुहरुले नियम अनुसारनै काम गरेको दावी गरे । उपभोक्ता समिति गठनको विषय स्थानीयको नै भएको भन्दै सत्य तथ्य नभएकोमा आफु बोल्न नचाहाने भन्दै उपभोक्ता समितिसंग रकम भने माग नगरेको बताए ।


, ,

0 comments

Write Down Your Responses