Powered by Blogger.
छोराछोरी हुर्काउने यस्तो काइदा, बनौ प्रफेक्ट अभिभावक


आमाबुवा बन्नु आफैमा सुखद अनुभव हो । यद्यपी आमाबुवा बनेर पारिवारिक दायित्व निर्बाह गर्नु त्यती सजिलो छैन । छोराछोरीलाई कसरी सधै सुखी र खुसी राख्ने ? अक्सर आमाबुवाको चिन्ताको बिषय बन्छ ।


बच्चालाई जन्म दिएपछि उसको लालनपालन, शिक्षा, स्वास्थ्यदेखि उसलाई कसरी पारिवारिक बनाउँदै लाने भन्ने कुरा पनि अहंम रुपमा उठ्छ । बच्चालाई भौतिक सुख सुविधा मात्र दिएर पुग्दैन, उसलाई मानविय व्यवहारको पनि उत्तिकै खाँचो हुन्छ ।

जब एउटा बच्चा स्वास्थ्य हुन्छ, शिक्षित हुन्छ, संस्कारयुक्त हुन्छ, तबमात्र उसले राम्रो अभिभावकत्व पाएको ठहर्छ । अतः बच्चालाई कसरी हुर्काउने, जसले गर्दा उनको बुवाआमाप्रति कुनै गुनासो नरहोस् ।

१. स्नेह र केयर

बच्चालाई जहिलेपनि अभिभावकको प्रेममय स्पर्शको खाँचो हुन्छ । बच्चाले यस्तो अनुभूत गर्न सकोस् कि आमाबुवाको निम्ती मेरो कति महत्व छ ।

एक सौम्य आलिंगान, थोरै प्रोत्साहन, प्रसंसाले बच्चालाई सधै खुसी राख्न सकिन्छ, साथसाथै आत्माविश्वास पनि बढाउन सकिन्छ । बच्चालाई कहिलेपनि आफु अपहेलित भएको वा आफ्नो कारणले अभिभावकलाई झर्को लागिरहेको छ भन्ने महसुष नहोस् । उनलाई आफ्नो जीवन मूल्यवान छ भन्ने कुरा बुझाउन सक्नुपर्छ ।

२. बच्चालाई प्रोत्साहित गरौं

यदि बच्चाले कुनैपनि राम्रो काम गर्ने प्रयास गर्छ भने अभिभावक त्यसको मुकदर्शक भएर बस्नु हुँदैन । वा बच्चाको सकारात्मक प्रयासप्रति तपाई बिना प्रतिक्रिया बस्नु उचित हुँदैन ।

चाहे त्यो जतिसुकै सानो काम किन नहोस्, यदि बच्चाले सकारात्मक ढंगले प्रयास गर्छ भने उसलाई प्रोत्साहित गर्नुपर्छ । यसले उनमा आत्मामनोबल त बढ्छ नै, नराम्रो काम गर्नु हुँदैन भन्ने बोध पनि हुन्छ ।

३. अर्को बच्चासँग तुलना नगरौं

अक्सर अभिभावकले गर्ने ठूलो गल्ती हो यो । आफ्नो बच्चाले राम्ररी खाएन, राम्ररी सरसफाइ गरेन, राम्ररी होमवर्क गरेन भने अभिभावकले अर्को बच्चासँग तुलना गरेर आफ्नो बच्चामा इष्र्या पैदा गरिरहेका हुन्छन् । उनीहरुको मनोबल पनि कमजोर बन्दै जान्छ ।

अर्को महत्वपूर्ण कुरा के पनि हो भने, कुनैपनि बच्चा समग्रमा पूर्ण हुँदैनन् । सबैको केहि न केहि कमजोरी हुन्छ । त्यसैले अर्को बच्चासँग उसको कुनै हालतमा तुलना हुन सक्दैन । बरु, आफ्नो बच्चाको प्रबृत्ति, गुण, क्षमतालाई बुझेर त्यही अनुसार उनलाई हौसला दिनुपर्छ ।

४. बच्चाको कुरा सुनौ

आमाबुवाले आफ्नो कुरामात्र बच्चामाथि लाद्ने होइन, उनको कुरा पनि सुन्नुपर्छ । मनन गर्नुपर्छ । बच्चाले के भन्न खोजिरहेको छ, के चाहेको छ भन्ने कुरालाई बेवास्ता नगरौं । उनीहरुको कुरालाई गंभिरतासाथ सुन्नुपर्छ । उनीहरुको भावनाको कदर गर्नुपर्छ ।

बच्चा यदि आमाबुवासँग कुराकानी गर्दैन भने आफुले नै त्यस्तो अभ्यास गर्नुपर्छ, ताकि बच्चा खुलेर कुरा गर्न सकोस् । यसले उनीहरु प्रष्ट रुपमा आफ्नो बिचार राख्नसक्ने त हुन्छन् नै, आत्माविश्वासी पनि ।

५. परजीवी नबनाउनुहोस्

बच्चालाई माया गर्ने भनेर सबै काम अभिभावकले गरिदिनुपर्छ भन्ने होइन । कति अभिभावक बच्चालाई खाना ख्वाउने, दाँत सफा गरिदिने मात्र होइन, होमवर्क समेत गरिदिने हुन्छन् ।

यदि बच्चा सक्षम छ भने उसको सबै काम उसैलाई गर्न छाडिदिनुपर्छ । उसले खेलेको खेलौना आफैलाई मिलाउन दिनुपर्छ । खाना आफै खान दिनुपर्छ । लुगा लगाउन, पुस्तक मिलाएर ब्यागमा राख्न, जुत्ताको लेस बाँध्न, दाँत ब्रस गर्न सबै काम बच्चालाई गर्न दिनुपर्छ । यदि उसले नसकेको आवस्थामा आफुले सहयोग गर्न सकिन्छ । यसले बच्चालाई कर्मशिल, स्वभिमानी बनाउँछ । साथै आमाबुवालाई सहज पनि हुन्छ ।

६. संस्कार दिनुहोस्

बच्चालाई सानैदेखि संस्कार सिकाउँदै लानुपर्छ । संस्कारले मानिसलाई पथभ्रष्ट हुन दिदैन । पितापूर्खाले अंगाल्दै आएको संस्कारमा बच्चालाई पनि अभ्यस्त बनाउँदै लानुपर्छ ।

कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा सानैदेखि अनुभूत गराउनु पर्छ । आफुले मनाउँदै आएको चाडपर्व विधिगत रुपमा कसरी मनाउने र त्यसको सामाजिक, सांस्कृतिक फाइदाबारे पनि बुझाउनु पर्छ ।

७. स्वास्थ्य दिनचर्यामा अभ्यस्त बनाउने

बच्चालाई सहि समयमा सुताउने, उठाउने, ख्वाउने, शौचालय पठाउने अभ्यास गर्नुपर्छ । घरमा यस्तो तालिका निर्धारण गर्न सकिन्छ, जस अनुरुप बच्चाको दैनिकी तय होस् । राती सहि समयमा सुताउने, उठ्ने समय पनि निर्धारण गरिदिने । ठीक-ठीक समयमा खाने बानी गराउनु पर्छ ।


,

0 comments

Write Down Your Responses