Powered by Blogger.
सिन्धुलीमा म्यादी प्रहरीका लागि आवेदन खुल्ला,



राजन गाउँले
सिन्धुली १३, चैत्र । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन म्यादी प्रहरी छनौटका लागि आवेदन खुल्ला गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लाको लागि म्यादी प्रहरी भर्ना आह्वान गरेको हो । एक साताको समय तोकेर म्यादी प्रहरी भर्नाका लागि आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकृत तथा प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।
प्रहरीले यही चैत्र ११ गतेदेखि १७ गतेसम्म आवेदन दिनसक्ने जनाएको छ । जिल्लाबाट म्यादी प्रहरीका लागि छनौट गरिने एकिन संख्याका बारेमा उल्लेख गरेको नभएपनि दोस्रो संविधान सभाको निर्वाचनका बेलामा लिइएको संख्याकै हारहारीमा म्यादी प्रहरी भर्ना गरिने उनको भनाई छ ।
दोस्रो संविधानसभाको निर्वाचनका लागि जिल्लाबाट ५ सय ५८ ओटा दरबन्दीका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । जिल्लामा म्यादी प्रहरीका लागि भर्ना गराउन आवेदन खुल्ला गरिएको तिन दिन हुँदा जिल्लामा जम्मा ३७ वटामात्र आवेदन परेको पनि प्रहीले जनाएको छ ।
जिल्लामा म्यादी प्रहरी प्रति आकर्षण कम भएका कारण पनि भर्ना हुन चाहनेहरुको संख्या न्यून भएको हुन सक्ने अनुमान गरिएको छ ।
म्यादी प्रहरी भर्नाका लागि जिल्लामा आगामी बिहिबारसम्मका लागि मात्र समय सिमा तोकिएको छ । सो समयसम्ममा यही अवस्था रहे निक्कैकम मात्र निवेदन पर्ने अनुमान गर्न सकिन्छ । निर्वाचन र सुरक्षा प्रतिको विश्वासमा कमी भएकाले पनि आवेदन दिन नागरीकहरु अनुइच्छुक भएको हुन सक्ने बताइएकोे छ ।
आगामी दुई महिनाका लागि छनौंट गर्न लागिएको म्यादी प्रहरीलाई पनि नेपाल प्रहरी जवान सरह तलव, भत्ता, रासन र पोषाकको व्यवस्था छ ।
निर्वाचन मतदान केन्द्रको थप सुरक्षाका लागि तालिम तथा हतियार सहितका म्यादी प्रहरीहरु खटाउने गरिएको छ । जिल्लामा १ सय ३७ ओटा निर्वाचन केन्द्र तोकिएको छ । ति केन्द्रहरुमा नेपाली सुरक्षा निकायसंगै म्यादी प्रहरी परिचालन गर्ने सरकारको तयारी छ ।
‘यस पटक जिल्लामा म्यादी प्रहरीका लागि इलाका प्रहरी कार्यालयबाट समेत आबेदन दिन पाउने व्यवस्था मिलाइएको छ,’ प्रहरी नायव उपरिक्षक बोहोराले भने ।
देशैभरी ७५ हजारको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने गरि निर्णय भएको छ । गत निर्वाचनहरुमा म्यादी प्रहरी भइ भाग लिएकाहरुलाई प्राथमिकता दिएको छ भने १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले आवेदन दिनसक्ने बताइएको छ ।


0 comments

Write Down Your Responses