Powered by Blogger.
सिन्धुलीका दर्जनौं बस्तिमा खानेपानीको हाहाकार

राजन गाउँले
सिन्धुली १३, चैत्र । २०७२ बैशाख १२ गतेको भुकम्प र लामो समयदेखिको खडेरीका कारण सिन्धुलीका ग्रामिण क्षेत्रका मुहानहरु सुकेपछि खानेपानीको हाहाकार भएको छ ।
लाखौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका खानेपानी आयोजनाको मुहानमै पानि सुकेपछि धाराहरुमा पानी आउन छाडेको उपभोक्ताहरुले गुनासो गरेका हुन् ।
भुकम्पका कारण मुहान सुक्दा जिल्लाको जलकन्या ७, ८, ९ मझुवा गाविसको ६ रतनचुरा गाविसको १, ३ लगायतका वडाहरुमा खानेपानीको हाहाकार भएको हो ।
यस्तै तिनकन्या, भद्रकाली, रानीचुरी, भिमेश्वर, भुवनेश्वरी, कपिलाकोट, क्यानेश्वर लगायतका गाविसको एक दर्जनबढी वस्तिमा पनि खानेपानीको समस्या सुरु भएको बताइएको छ । भुकम्प अघि जिनतिन आएको पानीले आवश्यकता पुरा गर्ने गरेको भएपनि २०७२ बैशाख १२ गतेको भुकम्पले पुरै मुहान सुक्दा अहिले गाउँभरी खानेपानीको हाहाकार भएको जलकन्या ९ चपौलीका कैलास कार्कीले गुनासो गरे ।
उनले भने, ‘भुकम्प पछि सुकेको महुान वर्षामा समेत पलाउन नसक्दा अहिले पानीको समस्या छ । गाउँ भन्दा झण्डै दुई घण्टा टाढासम्मको दुरीबाट पानी ओसारेर दैनिक उपभोग गर्ने गरेका छौं ।’
पानीकै लागि घरका दुई जनाले दिन मायाँ मार्नु पर्ने बाध्यता रहेको कार्कीको भनाई छ । गाविसको वडा नम्बर ९ मा मात्रै झण्डै ६५ घरधुरी खानेपानीको यस्तो समस्या झेल्न बाध्य छन् । गाविसको वडा नम्बर ७ मा पनि भुकम्प पछि खोनपाीको समस्या भएको स्थानीय शिक्षक पुष्पराज देवकोटा बताउँछन् । ‘भुकम्प पहिला गाउँमा चौविसै घण्टा पानी छेलोखेलो हुन्थ्यो । अहिले गाउँमा खानेपानीको समेत हाहाकार हुँदा गाई भैसी तथा तरकारी फलफुलका लागि झनै समस्या छ । करेसाबारीका तरकारी खेती गर्नेहरुलाई समेत समस्या भयो,’ उनले भने ।  
पानीको मुहना सुकेपछि गाविसको गाउँ गाउँमा खानेपनिको समस्या भएको भद्रकालीका गाविसका स्थानीय हरि कार्की बताउँछन् । ‘गाउँको चम्फा गाउँ, सरस्वती, बोहोरे लगायतका वस्तिमा खानेपानीको मुहना सुक्दा लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरीएका खानेपनी योजनाहरु अलपत्र बनेका छन्,’ कार्कीले भने । गाउँमा पानीको समस्या भएपछि अधिकांश परिवारहरु गाउँ छाडेर बसाँइनै सर्न बाध्य भएको उनको भनाई छ ।
गैर सरकारी सस्थाले बनाई दिएको खानेपानी योजनाको मुहाननै सुकपछि धारमा जिल्लाकै भिमेश्वर गाविसका गाउँभरीका धारामा पानी आउँन छाडेको छ । अहिले त्यहाँका सयौं घरपरिवारका बासिन्दा खानेपानी समस्याबाट पीडित बनेका छन् ।
एक बर्षअघि धनुषा सेवा समितिले निर्माण गरेको खानेपानी योजनाको धारामा पानी नआएपछि खानेपानीका लागि यस्तो समस्या व्यहोर्नु परेको स्थानीय बासिन्दाको गुनासो छ । लामोसमयसम्म खडेरी परेपछि पानीका मुहानहरु सुकेको र केही धाराहरुमा गलत स्टमेट हुँदा पनि धारोमा पानी नचड्दा खानेपानीको हाहाकार भएको हो ।
‘गाँउ भरि खानेपानी योजनाका धारा छन्, तर पानी आँउदैन’ भिमेश्वरका स्थानीय बासिन्दा शरद आचार्यले भने,—‘धनुषा सेवा समितिले भिमेश्वर गाविसका वडा नं. ३, ४, ५ का बासिन्दालाई खानेपानी खुवाउन २१ लाख रुपैयाँको लगानीमा उक्त योजना गतबर्ष निर्माण सम्पन्न गरेको थियो । योजना सकिएपछि दुईचार दिन सबै धारामा पानी आयो, त्यसपछि आउन छाड्यो ।’
मुहान सुकेपछि अहिले उक्त योजनाबाट वडा नं. ४ को माथिल्लो भागका बासिन्दाले मात्रै खानेपानी उपभोग गर्दै आएका उनको भनाई छ । यि वडाका १ सय १३ घर परिवारलाई खानेपानी सुविधा दिने भनी उक्त लागतमा खानेपानी आयोजना सञ्चालन गरिएको सो आयोजना निर्माण उपभोक्ता समितिका उपाध्यक्ष समेत रहेका आचार्यले जानकारी दिए ।
अहिले यि वडा सहित गाविसभरी नै खानेपानीका हाहाकार मच्चिएको छ अर्कौ एक स्थानीय बासिन्दाको भनाई छ । स्थानीय बासिन्दा रुपा अधिकारीका अनुसार अहिले झण्डै डेढ किलोमिटर दुरीमा रहेको भिमेश्वर खोलाको जरुवा पानी साझाटोलका बासिन्दाले बोकेर उपभोग गर्दै आएका छन् । केही उपभोक्ताले मोटरसाईकल र ट्रयाक्टरमा बोकेर टाढा–टाढाबाट खानेपानी ओसार्ने गरेको उनले थपे ।
सुनकोशीको पानीमा ढल मिसाईएकोले पिउनाका लागि योग्य नभएको र गाँई भैंसिको लागि भने उक्त पानी प्रयोग हुदै आएको स्थानीय बासिन्दा नबराज श्रेष्ठ बताउछन् । घरअगाडी सुनकोसी नदी सुसाएर बग्छ तर, किनारका सायैं परिवार खडेरीका कारण खानेपानी समस्यामा छन श्रेष्ठले गुनासो गरे । खडेरीका कारण जिल्ला सदरमुकाम तथा बेलघारी भिमस्थानलगायतका क्षेत्रमा समेत खानेपानीको हाहाकार भएको  छ ।


,

0 comments

Write Down Your Responses