Powered by Blogger.
सिन्धुलीमा माओवादी केन्द्रको उमेद्वार सार्वजनीक

कांग्रेस र एमाले छलफलमै

राजन गाउँले
सिन्धुली ९, बैशाख । आशन्न बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र सिन्धुलीले शनिवार औपचारीक कार्यक्रमको आयोजना गर्दै आफ्ना उमेद्वारहरुको घोषणा गरेको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिका गरी नौं वटै स्थानीय तहमा एकै साथ आफ्ना उमेद्वारहरुको नाम सर्वजनीक गरेको हो । 
शनिवार सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिकामा माओवादी केन्द्रका नेता तथा पूर्व कृषी मन्त्रि हरिबोल गजुरेल, मरिण गाउँपालिकामा नेता लिलामणी पोखरेललगायतका केन्द्रीय तहका नेताहरुको उपस्थितीमा उमेद्वारहरुको नाम घोषणा गरेको हो । लामो सयसम्मको कसरतपछि विरोध र समर्थनकै विच पार्टीले गाउँ तथा नगरपालिकाका नौ नौ जना प्रमुख तथा उपप्रमुख र ७९ वटा वडाका वडा अध्यक्ष र एक जना महिला र एक जना दलित महिला सहित ३ सय १६ जना सदस्यहरुको नामसहित उमेदवारी घोषणा गरेको माओवादी केन्द्र सिन्धुलीका जिल्ला इन्चार्ज विषमलला अधिकारी दनुवारले बताउँनु भयो ।
घोषणा गरिएका उमेद्वारहरुमा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल देखि जिल्ला अध्यक्ष राजन दाहालको जिवन संगिनी समेत रहेका छन् । यस्तै दलित र वेपत्ता तथा शहिद परिवारका सदस्यहरु समेत उमेद्वार भएका छन् । जिल्लाको महत्वका साथ हेरीएको कमलामाई नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै महिला लाई उठाइएको छ । कमलामाई नगरपालिकामा हरिबोल गजुरेलकी जिवन संगिनी सावित्री पाण्डे गजुरेललाई नगरपालिका प्रमुखमा टिकट दिइएको छ । ‘यस्तै कमलामाई नगरपालिकाको उप्रमुखमा माओवादी जनयुद्धमा तत्कालीन सरकराी पक्षबाट वेपत्ता पारिएका शिक्षक चित्रनारायण श्रेष्ठकी जिवन संगिनी सावित्रा श्रेष्ठलाई टिकट दिइएको छ,’ दनुवारले भन्नुभयो ।
यस्तै दुधौली नगरपालिकाको प्रमुखमा दिनेश अधिकारी दनुवार र इन्दीरा काफ्लेलाई पार्टीले उमेद्वारी दिएको छ । माओवादी केन्द्रले शुनकोसी गाउँपालिकामा केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालकी जिवन संगिनी दिपा दाहाल बोहोरालाई प्रमुखमा उठाइएको छ । उक्त गाउँपालिकामा उपप्रमुखमा महाधीवेशन आयोजक समिति सदस्य कमल दाहाललाई उठाएको छ ।
मरिण गाउँपालिकामा पानिराज बम्जनलाई प्रमुख र संगिता माझीलाई उपप्रमुखमा निर्णय गरिएको छ । हरिहरपुरगाढीमा कार्साङ तामाङ प्रमुख र सुनिता राईलाई उपप्रमुखमा निर्णय गरिएको छ । तिनपाटान गाउँपालिकामा पूर्व माओवादी लडाकु धनबहादुर पुलामी प्रमुख र जानुका तिमलसेनालाई उपप्रमुखमा निर्णय गरिएको छ । 
घ्याङ्लेक गाउँपालिको प्रमुख पदका लागि शंकरमान बोलनलाई चयन गरिएको छ । उक्त गाउँपालिकाको उपप्रमुखमा भने महिलालाई उठाउँने भएपनि हाल टुङ्गो नलागेको दनुवारको भनाई छ । 
फिक्कल गाउँपालिकामा खड्ग रजनलाईलाई प्रमुखमा उठाइएको छ भने उपप्रमुख टुङ्गो लाग्न बाँकी छ । यस गाउँपालिकामा माओवादी केन्द्र, नयाँ शक्ति नेपाल र बैद्य माओवादीविच कार्यगत एकता हुने बताइएको छ । तिन पार्टीविच संयुक्त उमेदवार उठाएर चुनावमा हुमिए उपप्रमुखमा नयाँ शक्ति वा बैद्य माओवादी मध्य एकलाई दिने केन्द्रले तयारी गरेको बताइएको छ ।
गोलन्जोर गाउँपालिकामा ज्वालाप्रसाद न्यौपाने प्रमुख र पुष्पा भुजेललाई उपप्रमुखमा उठाइएको छ । ‘पार्टीले नौं वटै गाउँ तथा नगरपालिकाका ७९ वटा वडाहरुमा समेत वडा अध्यक्ष देखि खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यको टुङ्गो लगाएर उमेद्वार घोषणा गरेको छ,’ जिल्ला इन्चार्ज दनुवारले थप्नु भयो ।
उमेदवारी घोषणा सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष समेत रहेका पूर्व कृषि मन्त्री गजुरेलले पार्टीले जिल्लामा सबै तहमा समावेशी, दलित, तथा अल्पसंख्यक देखि जनयुद्धमा महत्वपूर्ण योगदान पु¥याउने सबैलाई समेटीएर उमेदवारी दिएकाले सबै तहमा आफ्नो पार्टीका उमेदवारहरुको जित सुनिश्चित रहेको जनाए ।
यसै विच जिल्लाको ठुलो दल नेपाली कांग्रेसले भने चारवटा गाउँपालिका बाहेकमा आफ्ना उमेदवारहरुको टुङ्गो लगाउँन सकेको छैन् । पार्टीभित्र गाउँ तथा नगर तहमा उमेदवार बन्ने आकांक्षिहरु धेरै भएपछि टुङ्गो लगाउँन समस्या भएको जनाइएको छ । कांग्रेसमा गाउँ तहदेखि क्षेत्रले समेत सबै आकांक्षिलाई जिल्लामा सिफारीस गरेको छ । क्षत्रबाट आएका सिफारीसहरुलाई टुङ्गो लगाउँन तिन दिनदेखि पार्टीको जिल्ला कमिटिको बैठक निरन्तर बसीरहेकोले आइतबार अबेरसम्ममा टुङ्गो लगाउँने कांग्रेस सिन्धुलीका सभापति उज्ज्वलप्रसाद बरालले बताउँनु भयो । 
उहाँका अनुसार उमेदवारी टुङ्गीएका चारवटा गाउँपालिकाहरु मध्ये शुनकोसी गाउँपालिका प्रमुखमा कपिल कोइराला र उपप्रमुखमा शान्त कार्की, घ्याङलेक गाउँपािलकाको प्रमुखमा जगतबहादुर भोलन र उपप्रमुखमा दुर्गा सुनुवार, हरिहरपुरगढी गाउँपालिकाको प्रमुखमा  बमबहादुर स्याङतानलाई चयन गरिएपनि उपप्रमुखमा टुङ्गो लाग्न बाँकी छ । ‘यस्तै  मरिण गाउँपालिकामा नवराज श्रेष्ठ प्रमुख र विष्णुकुमारी माझीलाई उपप्रमुखमा उमेदवारी टुङ्गीएको छ । यस्तै केही वडाहरुको प्रमुख तथा सदस्यको समेत टुङ्गो लागेको छ,’ बरालले भन्नु भयो ।
उता नेकपा एमालेले भने कमलामाई नगर पालिकाको प्रमुखमा खड्ग खत्रिलाई सर्वसम्मत चयन गरेको छ । यस्तै दुधौली नगरपालिकामा घनस्याम राहुतलाई टिकट प्रदान गरेको छ । यी दुबै नगरपालिकामा उपप्रमुखको टुङ्गो लाग्न बाँकी छ ।
उता शुनकोसी गाउँपालिकामा एमालेले कौशल कोइरालालाई प्रमुख र उपप्रमुखमा मिथुला प्याकुरेललाई उमेदवार दिइएको छ । प्याकुरेल दोस्रो संविधान साभाको निर्वाचनमा एमालेबाट समानुपातीक सभासदमा सिफारीस भएकी उमेदवार हुन् । 
यस्तै एमालेले मरिण गाउँपालिका भने आदीवासी जनजाती महासंघ समन्वय परिषदका उपाध्यक्ष गोविन्दलाल माझीलाई प्रमुखमा उठाएको छ । यस्तै एमालले जिल्लाका नौं वटै गाउँ तथा नगरका वडाहरुमा केही उमेद्वारहरुको टुङ्गो लगाएका जिल्ला सचिव सूर्य पाख्रिनले जानकारी दिनु भयो  ।
उता नयाँ शक्ति नेपालले कमलामाई नगरपालिकाको प्रमुखमा दिर्घराज श्रेष्ठ र उपप्रमुखमा बन्दना सुवेधीलाई उठाइएको छ । यस्तै हरिहरपुगढीमा पन्चमान बम्जन प्रमुख, दुधौली नगरपालिकामा कर्णबहादुर सुनुवार तिनपाटनमा सरोज पुलामी, घ्याङलेकमा सुरतबहादुर स्याङ्तान, मरिण गाउँपालिकामा एकबहादुर राना, फिक्कल गाउँपालिकामा विक्रम सुनुवार, गोलन्जोरमा रामबाबु थापालाई प्रमुखमा उठाएको छ । नयाँ शक्तिले कमलामाई नगरपालिका बाहेकका गाउँ तथा नगरमा उपप्रमुखमा उमेद्वारीको टुङ्गो लगाएको छैन् ।
यस्तै जिल्लामा राप्रपा लगायतका अन्य साना दलहरुले पनि गाउँ तथा नगरपालिकामा वडा तहका उमेद्वारहरुको टुङ्गो लगाउँदै आएका भएपनि गाउँ तथा नगरप्रमुखहरुमा उमेद्वारी टुङ्गो लाग्न सकेको छैन् ।


,

0 comments

Write Down Your Responses