Powered by Blogger.
किसान भन्छन, ‘कृषि प्रधान देश तर समस्या नै समस्यामा हामी’

बुद्धकुमार आछामी 
सिन्धुली, १४ भाद्र । नेपाल कृषि प्रधान देश भनिएपनि आफुहरु सधै समस्या नै समस्यामा बाच्नु पर्ने बाध्यता रहेको सिन्धुलीका किसानहरुले गुनासो गरेका छन । 
बुधबार सिन्धुलीमाढीमा राष्ट्रिय कृषक समुह महासंघ जिल्ला कार्यसमिति सिन्धुलीले आयोजना गरेको किसानका समस्या तथा समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश कृषकहरुले कृषि पेशा प्रति उत्साह भन्दा पनि निरासा मात्र भएको भन्दै सरकारलाई कृषकका समस्या समाधान गरी उत्साहीत भएर कृषि पेशामा लाग्ने बातावरण बनाईदिन आग्रह गरेका छन । 
अन्तरक्रियामा सहभागी कृषकहरुले कृषि अनुदान, कृषि क्षेत्रको बजेट बास्तविक कृषकहरुकोमा पुग्न नसकेको भन्दै जिल्ला कृषि विकास कार्यालयले राजनैतिक दलका कार्यकर्ताहरुलाई भागवण्डा गर्ने गरेको आरोप लगाए । किसानहरुका समस्या समाधानका लागी सरकारले बास्तविक कृषकहरुलाई आधुनिक र व्यवसायीक खेती गर्न अनुदान, ऋण तथा तालिम र आधुनिक उपकरणहरुको व्यवस्था गरि  दिएमा कृषकहरु उत्साहित भएर कृषि पेशामा लाग्न सक्ने बातावरण बन्ने धारणा व्यक्त गरेका थिए । 
कमलामाई नगरपालिका–५ को दिपज्योती साना किसान कृषि सहकारीका अध्यक्ष समेत रहेका कृषक हिरालाल श्रेष्ठले भने, ‘हामी अझै पनि बाबु, बाजेकै पालाको जस्तो खेति किसानी गरिरहेका छौं, आधुनिक उपकरणहरुको प्रयोग, बिउबिजनको प्रयोग गर्न सकेको छैनौं ।’ आधुनिकता तर्फ जान नसक्दा कृषि पेशा ब्यवसायीक भन्दा पनि जिवन निर्वाहमुखी बन्न पुगेको उनको भनाई थियो । 
जिल्लामा केहि कृषकहरुले व्यवसायीक र आधुनिक तरिकाले कृषि पेशा गरेपनि उत्पादित बस्तुको बजार व्यवस्थापन हुन नसक्दा र उचित मुल्य नपाउँदा कृषकहरु उत्साहित भन्दा पनि हतोतसाहित बन्दै गएको अवस्थामा समस्याहरुको पहिचान गरी स्थानीय तहलाई समाधानका लागी सुझाब सल्लाह दिन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष नारायण प्याकुरेलले बताए । 
अध्यक्ष प्याकुरेलले भने, ‘हाम्रा किसानहरुले उत्पादन गरेका खाद्यवालीहरु धान, गहुँ मकै जस्ता अन्न बालीहरु विदेश निर्यात भएका तथ्याङ्कहरु प्रशस्तै  पाउन सकिन्छ ।, कृषि उत्पादन निर्यात गर्ने नेपाली किसानहरु यतिखेर भने खाद्यवालीहरु विदेशबाट आयात गरेर खानुपर्ने वाध्यतामा छन ।’ कृषिको विकास लागि स्थापना भएको सरकारी संयन्त्रहरु राजनीतिक खिचातानी र कमाई खानेभाँडोका रुपमा विकसित हुनुले पनि नेपाल वास्तवमै कृषि प्रधान देश हुन नसकेको उनले आरोप लगाए । 
कार्यक्रममा कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले किसानका गुनासा र समस्यालाई स्थानीय तहले गम्भीर भएर सम्बोधन गर्ने र कृषकहरुलाई व्यवसायीक उत्पादन तर्फ लाने कार्यक्रमहरु बनाएर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । 


,

0 comments

Write Down Your Responses