Powered by Blogger.
५४ बर्ष पछि नयाँ भवनमा सिन्धुली प्रहरी


सिन्धुली, २६ माघ । विक्रम सम्बत २०२० सालमा प्रहरी सहायक निरीक्षकको दरबन्दी सहित स्थापना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहिबार बाट आफ्नै अत्याधुनिक सुविधा सहितको कार्यालय भवन पाएको छ । कार्यालय स्थापनाको ५४ वर्ष पछि आधुनिक सुविधा सहितको नयाँ भवनमा सरेको हो । 
नेपाल सरकारबाट प्राप्त २ करोड ७३ लाख रकमबाट निर्माण गरिएको आधुनिक भवनको समुउदघाटन सुक्रबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एक समारोह बीच गरेका छन । 
हाल प्रहरी उपरीक्षक सहित ५ सय १४ जना प्रहरी दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कार्यालय भवन उदघाटन गर्दै महानिरीक्षक अर्यालले भने, “यो प्रहरी भवन सिन्धुलीबासी नागरिकहरुको सम्पति हो, यहाँ बस्ने प्रहरीले जनमुखी, पारदर्शि र कानुनी मुल्यमान्यताको आधारमा काम गर्दै नागरिकहरुलाई मुस्कान सहितको सेवा प्रदान  गर्नु पर्दछ ।” नागरिकहरुलाई सेवा प्रवाह गर्न प्रहरीको लागी भवन साधन मात्र हो साध्य होइन भन्दै अर्यालले नागरिकहरुलाई उत्कृष्ट सेवा दिन प्रहरी सधै उत्कृष्ट हुनुपर्नेमा जोड दिए । 
उनले प्रहरी आन्तरिक सुद्धिकरण अभियानमा पनि उत्तिकै सक्रिय रहेको बताउँदै संगठन भित्र गैर व्यवसायीक चरित्र कसैले प्रदर्शन गरेमा कार्वाहीको दायरामा ल्याउने समेत प्रतिबद्धता व्यक्त गरे । राज्यको संरचना फेरिएपनि प्रहरीको काम, कर्तव्य नफेरिएको बताउँदै सधै आफ्नो अनुशासनमा रहेर नागरिक प्रति जवाफदेही बन्न सवै प्रहरीलाई निर्देशन समेत दिए । 
२०७० फाल्गुणबाट निर्माण कार्य सुरु भएको प्रहरी कार्यालय भवनको समुदघाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रहरी सधै राज्यप्रति इमान्दार भएकै कारण स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन् भएको चर्चा गरे । कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले पनि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा ३ नं.प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानीरीक्षक केशरी राज घिमिरेले धन्यवाद ज्ञापन गर्दै ३ नं.प्रदेश भरिकै उत्कृष्ट भवन सिन्धुली प्रहरीमा बनेको बताउँदै नागरिकलाई सेवा पनि उत्कृष्ट खालको दिने प्रतिबद्धता व्यक्त गरे । 
स्वागत मनतव्य राख्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टिकाबहादुर केसीले कार्यालय भवन निर्माणले नागरिकहरुलाई गुणस्तरिय सेवा दिन सहयोग पुग्ने बताए । 
कार्यालय भवन समुदघाटन समारोहमा ९ नं.बाहिनीका बाहिनीपति सुरेश कार्की, विभिन्न् राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, कार्यालय प्रमुखहरु र सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा महानिरीक्षक अर्यालले नागरिकहरुको गुनासाहरु समेत सुनुवाई गरेका थिए । 
जिल्ला प्रहरी कार्यालय सहित २६ स्थानमा रहेको प्रहरी चौकी मध्ये भिमान, खुर्कोट, कपिलाकोट, सिर्थौली, झागाँझोली रातमाटामा आफ्नै प्रहरी भवन रहेको छ भने अन्य स्थानमा प्रहरी भवनहरु छैन्न । जिल्लाको शान्तेश्वरी, ग्वाल्टार लगायत स्थानमा भने प्रहरी भवन निर्माण सुरु गरिएको छ । 


,

0 comments

Write Down Your Responses