Powered by Blogger.
दुधौली नगरपालिकाबाट सिफारिस तथा व्यक्तिगत दर्ता निःशुल्क


बुद्ध नेपाली, सिन्धुली भदौं ७ - विभिन्न स्थानीय तहहरुले अत्याधिक कर असुली गरिरहेको भन्ने समाचार आइरहेका बेला यहाँको दुधौली नगरपालिकाले भने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गरेको छ। नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ दर्ता ३५ दिनभित्र दर्ता गराए निःशुल्क र त्यसपछि ५० रुपैयाँ शुल्क लाग्ने जनाएको छ।   

स्वास्थ्य उपचार, दैवी प्रकोप, छात्रवृत्ति सिफारिस, विपन्नता, भुूकम्प प्रभावितको नक्सा पास दस्तुर सिफारिस निःशुल्क गरिने नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए। त्यस्तै, स्वास्थ्य सेवा सञ्चालन अनुमति, योजनाहरुको सम्झौता, विद्यालयको बैंक खाता सञ्चालन सिफारिस, विद्यालयमा कर्मचारी र शिक्षक अस्थायी र करार पदपूर्ति अनुमति, विद्यालयको नामाकरण, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने सिफारिस निःशुल्क गरिने उनले बताए। 


यस्तै, झगडियाबीचको मेलमिलाप, ज्येष्ठ नागरिक, अपांग परिचयपत्र वितरण, आर्थिक अवस्था कमजोर भएको सिफारिस, सामाजिक सुरक्षा भत्ता परिचयपत्र, संरक्षक प्रमाणित गर्ने, संस्थागत तथा व्यक्तिगत संरक्षक सिफारिस निःशुल्क गरिएको गाउँपालिकाले जनाएको छ। 


0 comments

Write Down Your Responses