Powered by Blogger.
लागु भएको ११ महिनामा ३१ हजार भन्दा बढीबाट स्वास्थ्य विमा

बुद्ध नेपाली, भदौं २० , सिन्धुली – सिन्धुलीमा स्वास्थ्य विमा कार्यक्रम लागु भएको ११ महिनामा ३१ हजार भन्दा बढीले स्वास्थ्य विमा गरेका छन् । गत आर्थिक वर्ष २०७४ साल असोज देखि लागु भएको स्वास्थ्य विमा कार्यक्रममा जिल्लाका नौ ओटा स्थानिय तहका ३१ हजार ४ सय २५ जनाले स्वास्थ्य विमा गरेका स्वास्थ्य विमा बोर्ड सिन्धुलीले जनाएको छ । 

दुई नगरपालिका र सात गाउपालिका सहित नौ ओटा स्थानिय तह रहेको सिन्धुलीमा २ हजार ८ सय ४४ घर परिवारका ३१ हजार ४ सय २५ जना सदस्यहरुले स्वास्थ्य विमा गरेको स्वास्थ्य विमा बोर्ड सिन्धुलीका निमित्त जिल्ला प्रबन्धक रमेश कुमार घिमिरेले जानकारी दिए । 

उनका अनुसार सिन्धुलीमा पुरुषले भन्दा महिलाहरुले केही बढी मात्रामा विमा गराउने गरेका छन् । ११ महिनाको अवधीमा १६ हजार २ सय ७४ महिलाहरुले स्वास्थ्य विमा गरेका छन् भने १५ हजार २ सय ५४ जना पुरुषले स्वास्थ्य विमा गरेका छन् । 

सरकारले वितरण गरेको गरिव घर परिवार परिचय पत्रमा अति गरिवमा परेका ३ हजार २ सय २७ घर परिवारका सदस्यहरुको समेत निःशुल्क विमा गरिएको प्रबन्धक घिमिरले बताएका छन् । 

कार्यालयको तथ्याँङ अनुसार जिल्लाका नौ स्थानिय तह मध्ये हरिहरपुरगढी गाउपालिका र घ्याङलेख गाउपालिकामा भने स्वास्थ्य विमा गराउनेको संख्या न्युन गरेको छ । जिल्लाका अन्य नगरपालिका तथा गाउपालिकाहरुको तुलनामा यी दुई गाउपालिका भौगोलिक रुपमा विकट र जनतामा स्वास्थ्य विमा बारेमा सचेतना कम भएकाले पनि उल्लेख्य रुपमा स्वास्थ्य विमा कम भएको प्रबन्धक घिमिरेले बताए । 

हरिहरपुरगढी गाउपालिकामा ४९५, घ्याङलेख गाउपालिकामा ४८७, कमलामाई नगरपालिकामा ६१२२, दुधौली नगरपालिकामा ६९३०, तिनपाटन गाउपालिकामा ६११० जनाले स्वास्थ्य विमा गरेका छन् । 
त्यस्तै सुनकोशी गाउपालिकामा २५७४, गोलन्जोर गाउपालिकामा १३४२, फिक्कल गाउपालिका २४४३ र मरिण गाउपालिकामा ४५२२ जनाले स्वास्थ्य विमा गरेका प्रबन्धक घिमिरेले बताए । 

५ जना सम्मको परिवारले बार्षिक रुपमा प्रति परिवार २५ सय तिर्नु पर्छ भने परिवारमा ५ जना भन्दा बढी सदस्य भए प्रति थप सदस्यले ४२५ का दरले थप रकम तिरेर विमा गर्न सक्ने व्यवस्था छ । 

विमा गर्ने विमितले सिन्धुली अस्पताल सिन्धुली, कपिलाकोट प्राथमिक स्वास्थ्य चौकी, बेलगारी प्राथमिक स्वास्थ्य चौकी, सिर्थौली प्राथमिक स्वास्थ्य चौकी र लाम्पानटार प्राथमिक स्वास्थ्य चौकीबाट सेवा लिन सक्ने प्रबन्धक घिमिरेको भनाई छ । 

जिल्लाका स्वास्थ्य संस्था बाहेक धुलिखेल अस्पताल, कटारि अस्पताल उदयपुर, कोरिया मैत्री नेपाल अस्पताल भक्तपुर ठिमी लगाएतका अस्पताल बाट सेवा लिन सक्ने प्रबन्धक घिमिरेले बताए । 

जिल्लामा स्वास्थ्य विमा गराउनेक्रम विस्तारै वृद्धि हुदै गएपनि जटिल रोगको उपचार जिल्लामा स्वास्थ्य विमा बोर्डसँग सम्झौता भएका स्वास्थ्य संस्थामा उपचार नहुदाँ विमितमा केही निरासा देखिएको प्रबन्धक घिमिरेको भनाई छ । 

सरकारले दिने निःशुल्क औषधी समेत स्वास्थ्य संस्थाले नियमित उपलब्ध गराउन नसक्दा त्यसको असर स्वास्थ्य विमामा परेको प्रबन्धक घिमिरेले जनाए । 



,

0 comments

Write Down Your Responses