Powered by Blogger.
पहिलो फिक्कल महोत्सवमा प्याराग्लाइडिङ र राफ्टीङको सफल परिक्षण

बुद्ध नेपाली ,फिक्कल (सिन्धुली) ३, माघ । जिल्ला मै पहिलो पटक सिन्धुलीको फिक्कल गाउँपालिकाको फिक्कल बेसीमा प्याराग्लाइडिङ र सुनकोशी नदीमा राफ्टीङको सफल परिक्षण गरिएको छ ।

पर्यटन, कृषि उत्पादन र जडिबुटीको प्रवद्र्धन गर्ने उद्देश्य सहित फिक्कल गाउँपालिकाको आयोजनामा बुधवार (माघ २ ) देखि खाङसाङ्गमा सुरु भएको प्रथम फिक्कल महोत्सवमा प्याराग्लाइडिङको उडान र जलयात्राका लागि राफ्टीङको सफल परिक्षण गरिएको हो । 

एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको मुख्य आकर्षणका रुपमा प्याराग्लाइडिङ र राफ्टीङलाई लिइएको छ । फिक्कल महोत्सवमा राफ्टीङ र प्याराग्लाइडिङले स्थानीयको ध्यान केन्द्रीत गरेको छ ।
बुधबार प्याराग्लाइडिङ व्यवसायी तथा अनुभवी पाइलट ओखलढुङ्गाको चम्पादेवी गाउपालिका २ दिलकुमार सुनुवारले सफल परिक्षण उडान गरेका हुन् । 

ओखलढुङ्गाको टोड्केडाँडाबाट सुनुवारले एक जना पर्यटक सहित ३० मिनेट लामो परिक्षण उडान गरेका हुन् । सिन्धुली, रामेछाप, ओखलढुङ्गा र उदयपुर जिल्लाका महत्वपूर्ण क्षेत्रहरुको अवलोकन गर्न सकिने गरि प्याराग्लाइडिङको उडान थालिएको फलाई हिमालयन प्याराग्लाइडिङका पाइलट सुनवारले बताए । 

ओखलढुङ्गाको टोड्केडाँडामा २ देखी ४ घण्टा लामो समयसम्म प्याराग्लाइडिङलाई व्यवसायिक रुपमानै सञ्चालन गर्न सकिने छ । 

प्याराग्लाइडिङ उडान गर्न अग्लो स्थलको आवश्यक पर्ने भएकाले टोड्केडाँडा सम्म पुग्न सडक सुविधा नहुँदा दुई घण्टासम्म पैदल हिडेर पुग्नु परेको र सम्पर्कका लागि टेलीफोन नलाग्दा केही समस्या भएको उनको गुनासो छ । 

त्यस्तै महोत्सवका अवलोकन कर्ताहरुलाई लक्षित गर्दै बिहिबार देखि सुनकोसी नदीमा राफ्टीङ् सुरु गरीएको महोत्सवका संयोजक तथा फिक्कल गाउँपलिकाकी उपाध्यक्ष पार्वती सुनुवारले बताईन् । 

महोत्सवअवधिभर राफ्टीङमा जलयात्रा गर्न प्रति व्यक्ती ५ सय र प्रतिव्यक्ती २ हजार रुपैयाँ शुल्क बुझाएर प्याराग्लाइडिङ चढ्न सकिने बताइएको छ ।

महोत्सवमा सुनकोशीमा जलयात्रा र खाङसाङ्गदेखि फिक्कल टाकुरासम्म पदयात्रा समेत गरिने बताइएको छ । महोत्सवमा फिक्कलको कृषि उत्पान, घरेलु उत्पादन लगायत १ सय २० स्टल राखिएको छ । 

‘सडक, शिक्षा र विजुली फिक्कलको पुर्वधार कृषि वन र पर्यटन समृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव माघ ७ गते सम्म संचालन हुने आयोजकले बताएको छ । महोत्सव अवधीभर विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो साँगितक प्रस्तुती राख्ने छन् ।  


, ,

0 comments

Write Down Your Responses