Powered by Blogger.
लिखित गुनासो नै आएपछि माछा मासु पसलको अनुगमन

बुद्ध नेपाली,सिन्धुली,१८ माघ / लिखित गुनासो नै आएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पहिलो पटक आज सदरमुकाम सिन्धुलीमाढी भित्र संचालन भएका माछा तथा मासु पसलहरुमा अनुगमन गरेको छ । 
पशु बधशाला तथा मासुजन्य पदार्थको विक्री वितरणलाई व्यवस्थित गर्न प्रशासनमा लिखित गुनासो नै परेपछि कार्यालयले जिल्लाको सदरमुकाम भित्र संचालन भएका पसलहरुमा अनुगमन गरेको हो । 

सदरमुकाममा संचालित १३ वटा माछा, मासु पसलमा अनुगमन गरिएको छ । ३ वटा खसी मासु पसल, ३ माछा पसल, १ रागाँ मासु पसल, १ बंगुर मासु पसल, ५ कुखुरा मासु पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका नायब सुब्बा सूर्य बहादुर घिमिरेले जानकारी दिए । अनुगमन गरिएका १३ वटा मध्ये ४ वटा मासु पसल मापदण्ड विपरित संचालन भईरहेको पाईको उनले बताए ।

यी चार पसलहरुमा प्यान नम्बर नभएको, मुल्य सुचि नराखेको, खुल्ला ठाँउमा राखेर बेचेको, सरसफाई नभएको लगाएतका मापदण्ड पुरा नगरी संचालन भएका पाईएकाले यस्ता पसलहरुलाई १५ दिन भित्र मापदण्ड अनुसार पसल संचालन गर्न निर्देशन दिएको नायब सुब्बा घिमिरेले जनाए । 

मापदण्ड पुरा भएका तर व्यवस्थापनमा केही सुधार गर्नुपर्ने अवस्थाका पसलहरुलाई पनि ३० दिनभित्र सुधार गर्न आग्रह गरिएको नायव सुब्बा घिमिरेको भनाई छ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईको संयोजकत्वमा, कमलामाई नगरपालिका सिन्धुलीका प्रतिनिधि, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष विष्णु ढकाल, उद्योग बाणिज्य संघ सिन्धुलीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि लगाएतको संयुक्त टोलीले माछा, मासु पसलहरुको अनुगमन गरेको हो । 

सुधार गर्न सुझाव दिदाँ पनि मापदण्ड पुरा नगरे पुनः अनुगमन गरेर मापदण्ड विपरित संचालन भएका पसल बन्द गर्ने सहायक प्रजिअ प्रसाईले बताईन् । 

मासुजन्य पदार्थको विक्री वितरण व्यवस्थित गर्न माग गर्दै जिल्लामा रहेको स्वास्थ्य सञ्जालले एक साता अघि जिल्ला प्रशासन कार्यालयमा लिखित गुनासो गर्दै ध्यानाकर्षण गराएको थियो । 


,

0 comments

Write Down Your Responses