Powered by Blogger.
स्थानिय तहहरुले खर्च गर्नै सकेनन्

बुद्ध नेपाली,२२ फागुन सिन्धुली 
स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिने अपेक्षा गरिएको थियो । तर सिन्धुलीका नौ वटै स्थानिय तहहरुको अहिले सम्मको विकास बजेट खर्च निराशाजनक रहेको पाईएको छ । 
स्थानिय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिने स्थानियहरुले आस गरेका थिए । तर स्थानिय तहको अहिले सम्मको विकास बजेट खर्च देख्दा स्थानिय निरास भएका छन् । 

फिक्कल गाउपालिकाले २६ करोड ४१ लाख ६४ हजार ३९ रुपौया विकास बजेट मध्ये २ करोड १७ लाख ७० हजार ६५१ रुपैया खर्च गरेको गाउपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना तिमल्सिना शर्माले बताईन् । वडा कार्यालयबाट हुने योजनाको उपभोक्ता समिति गठनमा ढिलाई भई सम्झौता गर्न ढिलासुस्ती भएकाले विकास बजेट कम खर्च भएको उनले बताईन् । 

तिनपाटन गाउपालिकाले ७ महिनामा १८ करोड ५९ लाख विकास बजेट मध्ये २ करोड ७८ लाख अर्थात करिव १५ प्रतिशत खर्च गरेको गाउपालिकाले जनाएको छ । 

कर्मचारी अभाव, उपभोक्ता समिति गठनमा ढिलाई लगाएतका कारणले विकास बजेट कम खर्च भएको गाउपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले बताए ।‘ कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी छैन्न र उपभोक्ता समिति गठन गर्दा पनि राजनीतिक भागबण्डा अनुसार मिलाउन समय लाग्ने भएकाले काम छिटो छरितो हुन सकेको छैन्’ उनले भने । 

त्यस्तै सुनकोेशी गाउपालिकाले १९ करोड ८८ लाख ७ हजार ४ सय ८८ रुपैया विकास बजेट मध्ये ६ करोड ३ लाख मात्रै खर्च गरेको गरेको छ । 

काम भईरहेको तर निकासी काम सकिएपछि अन्तिममा मात्रै हुने भएकाले वित्तिय प्रगती नदेखिएको गाउपालिकाका लेखा पाल जय प्रकास चालिसेले बताए । उनले भने‘विकास निर्माणका काम भईरहेका छन् । दोस्रो चौमासिक सकिनै लाग्दा हामीले ३० प्रतिशत निकासी गरिसक्यौं । अव अर्को निकासी गर्दा वित्तिय प्रगती पनि देखिन्छ ।’

गोलन्जोर गाउपालिका विकास बजेट खर्चको तुलनामा अरु स्थानिय तहभन्दा अब्बल देखिएको छ । दोस्रो चौमासिक सकिन्नै लाग्दा २६ करोड २१ लाख ५२ हजार विकास बजेट मध्ये १९ करोड ६६ लाख १४ हजार खर्च भएको गाउपालिकाका सुचना अधिकारी तिर्थ कुमार भण्डारीले बताए । उनले ७५ प्रतिशत काम भएको दावी गरे । 

दुधौली नगरपालिकाले २८ करोड ९१ लाख ४२ हजार ६३५ रुपैया विकास बजेट मध्ये करिव ६ करोड ७ लाख४ हजार ७ सय ३ रुपैया खर्च भएको सुचना अधिकारी चुडामणी आचार्यले बताए । विकास निर्माणको काम भर्खर सुरु हुन थालेकोले पुँजीगत बजेट खर्च कम भएको उनले बताए । 

हरिहरपुरगढी गाउपालिकाले २२ करोड ९४ लाख पुँजीगत बजेट मध्ये ३२ प्रतिशत मात्रै खर्च गरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल श्रेष्ठले जानकारी दिए । कर्मचारी अभाव, उपभोक्ता समिति गठनमा ढिलाई जस्ता कारणले ८ महिनामा विकास बजेट कम खर्च भएको उनले बताए । 

सिन्धुलीको मरिण गाँउपालिकाको पनि बजेट खर्च सन्तोष जनक छैन । चालु आर्थिक वर्ष २०७५÷०७६ को १६ करोड ३७ लाख विकास बजेट मध्ये हालसम्म ३० प्रतिशत मात्रै खर्च भएको गाँउपालिकाका लेखा अधिकृत विदुर शर्माले बताए । 

कमलामाई नगरपालिकाको २७ करोड ५ लाख १६ हजार पुँजीगत बजेट मध्ये ३० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । घ्यालेख गाउपालिकाको १६ करोड ४६ लाख ८२ हजार विकास बजेट मध्ये २५ प्रतिशत खर्च भएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष नेपालीले बताए । 

जिल्लाका स्थानिय तहको अहिले सम्मको पुँजीगत खर्चको गति प्रति स्थानियले पनि असन्टुष्टी जनाएका छन् । ‘स्थानिय सरकार आएपछि समयमै धेरै काम होला भन्ने हाम्रो आशा थियो । तर चालु आर्थिक वर्षको ८ महिना वित्नै लाग्दा विकास निर्माणले गतिलिन सकेन’,जलकन्या चपौलीका स्थानिय भक्त ठटालले भने । 

लामो समय पछि जनप्रतिनिधि आएको अवस्थामा पनि स्थानिय तहको विकास बजेटको खर्च दयनिय भएकाले यसतर्फ जिल्लाका जनप्रतिनिधिहरुको ध्यान जानुपर्ने कमलामाई नगरपालिका २ का सम्सोद योञ्जनले बताए । उनले भने‘ जहिले पनि असारमा आएर गुणस्तरको ख्यालै नगरी सवै काम गर्ने गलत प्रवृत्ति छ । यसको अन्त्य गर्नुपर्छ । समयमै काम सुरु गरेर समयै सक्ने बानी बासाल्नु पर्छ’ । 


, ,

0 comments

Write Down Your Responses