Powered by Blogger.
फिक्कल गाउँपालिका कार्यालयबाटै हरायो महत्वपूर्ण कागजात

जनप्रतिनिधी भन्छन, “कर्मचारीकै लापरबाहि हो ।” 

प्रशासकीय अधिकृत भन्छन, “आश्चर्यमा परेको छु ।”

निर्माण कम्पनी भन्छ, “नियोजित तरिकाले फाईल हराइयो ।”


बुद्धकुमार आछामी
सिन्धुली, २३ बैशाख । सिन्धुलीको फिक्कल गाउँपालिका कार्यालयबाटै गत साता टेण्डर फाईल चोरी भएको छ । फिक्कल गाउँपालिका कार्यालयले टेण्डर मार्फत फिक्कल गाउँपालिका वडा नं.–३ चनौटेमा निर्माण गर्न लागेको स्वास्थ्य चौकी भबनको टेण्डर फाइल तथा निर्माण कम्पनीसँगको सम्झौता पत्र कार्यालयबाटै चोरी भएको हो ।
गाउँपालिका कार्यालयले २०७५ फाल्गुण २ गते भवन निर्माणका लागी बोलपन्त्र आब्हान गरेको थियो । जम्मा १६ वटा बोलपत्र विक्रि भएको भएपनि १२ वटा निर्माण कम्पनिले मात्र बोलपत्र दर्ता गराएका थिए । दर्ता भएका मध्ये दुई निर्माण कम्पनी श्री कृष्ण दाहाल जेभी र शिद्धकाली निर्माण सेवा प्रा.लि.ले निर्माण कार्यका लागी न्यून रकम कबोल गरेका थिए । न्यून रेट कबोल गर्ने कम्पनीसँग कार्यालयले निर्माण कार्य सम्पनन् गर्ने आधारहरु माग गर्दै पत्र पठाएको थियो
न्यून दररेटमा निर्माण कार्य गर्न कबोल गरेको श्री कृष्ण दाहाल जेभिले आफुले काम गर्न नसक्ने लिखित पत्र गाउँपालिका कार्यालयलाई दिएपछि सार्वजनिक खरिद ऐन–२०६३ तथा नियमावली–२०६४ अनुसार उक्त कम्पनीलाई कार्वाही र धरौटी जफत गर्दै पुन बोलपत्र प्रकाशन गर्नुपर्ने भएपनी गाउँपालिका कार्यालयले दोश्रो निर्माण कम्पनी शिद्धकाली निर्माण सेवा प्रा.लि.लाई सम्झौताको लागी आशय–पत्र प्रकाशन गरेको थियो ।
कुल ७९ लाख २६ हजार ६ सय ७९ रुपैयाँको बोलपत्रमा दोश्रो निर्माण कम्पनी शिद्धकाली निर्माण सेवा प्रा.लि.ले ५१ लाख रुपैयाँमा काम सम्पनन् गर्ने गरी कबोल गरेको थियो । उक्त कम्पनीसँग निर्माणको सम्झौता गर्न कार्यालयले बोलाएपछि सम्झौताको सम्पूर्ण काम सकि कार्यदेश मात्र लिन बाँकी रहेको थियो । तर केहि दिन पनि नबित्दै उक्त निर्माण कम्पनिको सम्पूर्ण कागजात तथा सम्झौता पत्रहरु कार्यालयबाटै चोरी भएको हो ।
सम्झौता कार्यका लागी आफुले पेश गरेको बैंक ग्यारेन्टी, आवश्यक कागजपत्रहरु र  सम्झौता किताब समेत कार्यालयले बेपत्ता बनाएको शिद्धकाली निर्माण सेवा प्रा.लि.का प्रोपाइटर रुम बहादुर राईले बताए । उनले भने, “ मैले ११ लाख ५० हजारको बैंक ग्यारेन्टी पत्र सहित आवश्यक डकुमेन्ट बुझाएर सम्झौता पत्रमा समेत हस्ताक्षर गरिसकेको थिए, हाकिम सापले म अध्यन गरेर सहि गरी पठाईदिन्छु भन्नुभएको थियो ।” राईले थपे “काम सुरु गरीसकेको थिएँ पछाडि डकुमेन्ट हरायो, लफडा भयो भनेर कार्यालयबाट मौखीक खबर आयो ।” कर्मचारीहरुकै मिलेमतोमा नियोजित तरिकाले आफ्नो फाईल हराएको भन्दै राईले गुनासो गर्दा हाकिमले माथिल्लो तहको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाउने आश्वासन दिए पनि हालसम्म कुनै जानकारी नपाएको निर्माण कम्पनीका प्रोपाईटर राईको भनाई छ ।
कार्यालयको लापरबाहिलाई निर्माण ब्यवसायी संघ सिन्धुलीका उपाध्यक्ष उद्धब प्रसाद दाहालले लापरबाहिको पराकाष्ठाको आरोप लगाएका छन । दाहालले कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा टेण्डरका कागजपत्रहरु चोरी भएको आरोप लगाए । उनले भने, “ ठेक्काको अनौठो नियम भेटियो, पहिलो फर्मलाई दिनुपर्ने ठेक्का दोश्रो फर्मसँग सम्झौता गरियो, सम्झौता पछि फेरि डकुमेन्ट हरायो ।”कार्यालयले गम्भीर कमजोरी गरेकाले कानुन अनुसार कार्वाही गर्नुपर्ने दाहालले बताए ।
उता ठेक्का सम्झौताको समयमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा भई आएका कार्यालय प्रमुख दिपक रिजालले भने कार्यालयबाटै टेण्डर सम्बन्धी डकुमेन्टहरु हराएको स्वीकार गर्दै आफु आश्चर्यमा परेको बताए । उनले भने, “ टेण्डर त नियम अनुसार नै भएको हो तर कागजपत्र कसरी हरायो भन्ने विषय गम्भीर छ ।” उक्त विषयमा गाउँकार्यपालिकको आकस्मीक बैठक बसीरहेको र बैठकको निर्णय अनुसार नै हुने रिजालले बताए ।
आइतबार देखि बसेको गाउँकार्यपालिकाको आकस्मीक वैठकले आज उक्त बोलपत्र रद्ध गर्ने निर्णय गरेको छ । गाउँपालिका उपाध्यक्ष पार्वति सुनुवारले टेण्डर फाइल कर्मचारीकै लापरबाहिका कारण हराएको बताउँदै आवश्यक छानविनका लागी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्र पठाइसकिएको बताइन । प्रहरी कार्यालयले भने गाउँपालिका कार्यालयले मुचुल्का सहित निवेदन दिएकाले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा निर्माण कार्य सम्पनन् हुनुपर्ने भवन फाल्गुणमा मात्र टेण्डर भएको थियो । टेण्डर पछिको बिवादका कारण भवन निर्माण कार्य अन्यौलमा छ भने सरकारी कार्यालयबाटै महत्वपूर्ण कागजातहरु हराउनुले जनप्रतिनिधी तथा कर्मचारीहरु प्रति जनविश्वास समेत गुमेको छ ।




, , ,

0 comments

Write Down Your Responses