Powered by Blogger.
भुकम्पले भत्केको विद्यालयको पुनः निर्माण

सिन्धुली,२० बैशाख । सिन्धुलीको फिक्कल गाउपालिका वडा नं. ३ खोलागाउँमा रहेको माध्यमिक विद्यालय रातमाटाको नव निर्मित भवनको आज उद्घाटन गरिएको छ । 

सिन्धुलीका प्रतिनिधिसभा सदस्य गणेश पहाडीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी नव निर्मित भवनको हस्तान्तरण तथा उद्घाटन गरिएको हो । 

२०७२ साल बैशाख १२ र २९ गतेको भुकम्पका कारण क्षति भएको विद्यालयको भवन एसियाली विकास बैंक ‘एडिबी’को ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत गरी कुल ५ करोड ३३ लाख १५ हजार २ सय ६४ रुपैया लागतमा निर्माण गरिएको हो । 

भुकम्पले विद्यालय भत्केपछि चार बर्ष सम्म अस्थायी टहरामा बसेर पठ्न बाध्य विद्यार्थी तथा पढाउन बाध्य भएका शिक्षक नयाँ भुकम्प प्रतिरोधी भवन निर्माण भएपछि अहिले खुसी भएका छन् । 

नव निर्मित ३ वटा भवनमा १४ कोठा रहेका छन् । जसमा एक प्रशासनीक कक्ष, एक प्रधानाध्यापक कक्ष, एक शिक्षक कक्ष, एक विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब कक्ष, एक बाल शिक्षा कक्ष, एक किचेन  र ८ कक्षा कोठा रहेका छन् । 

तुलसी भक्त कन्ट्रक्सन प्रा.लिले भवन निर्माणको ठेक्का लिई सन् २०१७ अगस्ट ७ मा निर्माण सुरु गरी २ बर्ष ३ महिनामा निर्माण सम्पन्न गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर रजन मगरले बताउनुभयो ।  

भुकम्प पछिको पुनःनिर्माण अन्तर्गत एसियाली विकास बैंक एडिबीले सिन्धुलीमा २६ वटा सामुदायिक विद्यालयहरुको पुनःनिर्माणको जिम्मा लिएको छ । जस अनुसार १३ विद्यालय भवन निर्माण सम्पन्न भई ९ वटा विद्यालय उद्घाटन भईसकेको छ भने बाँकी १३ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजन मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सांसद पहाडीसँगै प्रदेश साँसद तथा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल राजन, प्रदेश सांसद तथा नेकपा सिन्धुलीका सचिव प्रदिप कटुवाल, फिक्कल गाउपालिकाका उपाध्यक्ष पार्वती सुनुवार, शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख डम्बरद्धोज आम्दाबे लगाएतको उपस्थिती रहेको थियो । 

उक्त विद्यालयमा कक्षा एक देखि १० सम्म करिव ३ सय विद्यार्थीहरु अध्ययनरत छन् । 



, , ,

0 comments

Write Down Your Responses