Powered by Blogger.
महामारीमा स्थानीय सरकारलाई सहयोग गर्ने यी मनकारीहरु


सिन्धुली, ६ बैशाख । विश्वब्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारी खेपीरहेको अवस्थामा स्थानीय सरकारको रुपमा रहेको कमलामाई नगरपालिकालाई सहयोग गर्ने मनकारी ब्यक्ति तथा संघ संस्थाहरु पनि बढ्दै गएका छन । 
कोरोना भाइरस महामारीको सुरुवातसँगै नेपाल सरकारले चैत्र ११ देखी गरेको लकडाउन पछि उक्त महामारीसँग जुध्न कमलामाई नगरपालिका कार्यालयले नगरपालिका स्तरिय विपद ब्यवस्थापन ऐन अनुसार नगरक्षेत्रमा विपदमा परेका मजदुरहरु तथा गरिब असहायहरुलाई सहयोग गर्न चैत्र १६ गते राहत कोष खडा गरेको थियो । उक्त राहत कोषमा सहयोग गर्न इच्छुक दाताहरुलाई प्रमुख खड्ग बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सबैलाई आग्रह गरेका थिए ।
राष्ट्रिय बाणिज्य बैक सिन्धुली शाखामा प्रकोप ब्यवस्थापन कोषको नाममा खाता सञ्चालन गरी कार्यालयको तर्फबाट १२ लाख ६१ हजार १७९ रुपैयाँ जम्मा गरी सुरु गरिएको कोषमा सनिबार सम्म आउँदा ६५ लाख ४ हजार ७२७ रुपैयाँ जम्मा भएको नगरपालिका कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको ३४ लाख ९४ हजार ५७१ र प्रदेश सरकारबाट प्राप्त १२ लाख रुपैयाँ समेत जोडिएको छ । भने अन्य रकम सिन्धुलीमाढीका विभिन्न् संघ संस्था र ब्यक्तिहरुबाट प्राप्त भएको छ ।
महामारीका विरुद्ध लड्न स्थानीय सरकारले गरेको सहयोगको आग्रहलाई स्वीकार गर्दै पहिलो सहयोग सिन्धुलीमाढी स्थित शिद्धबाबा अग्रेजी माबिले २७,१५० रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । पहिलो सहयोग रकम हस्तान्तरण गर्दै उक्त बोर्डिङका प्रिन्सीपल तथा प्याबसन सिन्धुलीका अध्यक्ष राजेश मास्केले आफुहरुको सहयोगले महामारी विरुद्ध लड्न स्थानीय सरकारलाई सानो भने पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
त्यस्तै सिन्धुली कमलामाई नगरपालिका–५ का ब्यवसायी टिका श्रेष्ठले कोरोना महामारी विरुद्ध लड्नका लागी स्थानीय सरकारलाई १ लाख रकम प्रकोप ब्यवस्थापन कोषमा सहयोग गरेका थिए भने निक्कै चर्चामा रहेका तपस्वी रामबहादुर बम्जनको संरक्षणमा रहेको संस्था बोधि श्रवण धर्मसंघले कोरोना महामारीका विरुद्ध लड्न अहिले सम्म सहयोग गर्नेहरु मध्येनै सबैभन्दा ठुलो रकम रु २ लाख
१२१ रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै सामुदायीक बनहरु सरस्वती सामुदायीक बन उपभोक्ता समिति, कमलामाई सामुदायीक बन उपभोक्ता समिति, दक्षिणकाली सामुदायीक बन उपभोक्ता समितिले २०÷२० हजारको दरले प्रकोप ब्यवस्थापन कोषमा सहयोग गरेका छन । त्यस्तै कमलाजी जन्मस्थान सामुदायीक बन उपभोक्ता समितिले १५ हजार रुपैयाँ कोषमा सहयोग गरेको छ ।
यो विपदमा स्थानीय सरकालाई सहयोग गर्नेमा बचत तथा ऋण सहकारीहरु पनि रहेका छन । कमलामाई नगरपालिका–६ को सिन्धु बचत तथा ऋण सहकारीले १५ हजार १५१ रुपैयाँ र समय बचत तथा ऋण सहकारीले २० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । त्यस्तै सिन्धुली सदरमुकामको निक्कै पुरानो युवा क्लब ब्लु अल्पाइन युवा क्लब कमलामाई–६ ले पनि स्थानीय सरकारलाई महामारीसँग जुध्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ भने नेपाल निबृति शिक्षक समाज सिन्धुलीले पनि रु ५००० रकम कोषमा सहयोग गरेको छ ।
निजी विद्यालयबाट सुरु भएको सहयोग दिने अभियान सनिबार सम्म आइपुग्दा अर्को निजी विद्यालय भगवति अग्रेजी मावि सम्म आईपुगेको छ । आज भगवति अग्रेजी माविका प्रिन्सीपल कृष्ण कुमार उप्रेतिले मेयर खड्ग बहादुर खत्रीलाई ५५ हजार ५५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन । 
जिल्लाका स्थानीय तहहरु मध्ये प्रकोप ब्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्नेमा कमलामाई नगरपालिका अग्रणी स्थानमा रहेको छ । अन्य स्थानीय तहले पनि प्रकोप ब्यवस्थापन कोष स्थापना गरेपनि आफ्नै रकम बाहेक खासै रकम जम्मा हुन सकेको अवस्था छैन । दुधौली नगरपालिका कार्यालयको प्रकोप ब्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुधौली नगर कमिटीले ५० हजार सहयोग हस्तान्तरण गरेको छ भने अन्य स्थानीय तहले ब्यक्ति तथा संघ संस्थाहरुबाट सहयोग रकम संकलन गर्न सकेको अवस्था छैन । सबै स्थानीय तहले ब्यक्ति, संघ संस्थाहरुबाट सहयोग संकलन गरी समस्यामा परेका मजदुर बर्गहरुको निम्ती प्रयोग गर्न सकेमा कोरोना महामारी विरुद्धको लडाई जित्न अझ सहज हुने थियो कि ? 




, ,

0 comments

Write Down Your Responses