‘बाह्र वर्षे सशस्त्र जनयुद्धमा १७ हजार बढीले ज्यान गुमाए । जनयुद्धका कारण हजारौं परिवार विस्तापित भए । राज्यपक्ष र तत्कालीन विद्रोही माओवादी पक्षको युद्धका कारण लाखौं सर्वसाधारणले दुःख पाए । माओवादी आन्दोलनको उपलब्धिको रुपमा रहेको २०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि नेपालमा राज्यव्यवस्था परिवर्तन भयो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधासभाले संविधान जारी गर्न सकेन । दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गयो । शनिबार चौथो संविधान दिवस मनाइँदैछ । राज्यव्यवस्था परिवर्तनका लागि संघर्ष गरेका तत्कालीन विद्रोही माओवादीका नेता तथा पहिलो संविधासभा सदस्य गोपीबहादुर अछामीको संघर्ष यहाँ प्रस्तुत गरेका छौं ।’
विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन् राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामी । बुबा मुरली अछामी गाउँमा डकर्मीको काम गर्थे । चार दाजुभाइ र पाँच दिदीबहिनीमा जेठा सन्तान हुन् गोपी । निम्न वर्गीय दलित (सार्की) समुदायको परिवार भएकाले खानलाउन धौधौ थियो । जातीय विभेद र छुवाछुतको व्यवहार पनि निरन्तर भोग्नुपथ्र्यो । संघर्षकाबीच गोपीले गाउँकै बिद्यालयबाट एसएलसी उत्तीर्ण गरे ।
त्यसपछि उनी काडमाडौं गएर कानुन पढ्न थाले । विद्यालय पढ्दा नेविसंघमा आबद्ध थिए गोपी । तर वर्गीय विभेदबारे बुझ्न थालेपछि उनको संगत असारे काका अर्थात् ईश्वरीप्रसाद दाहालहरुसँग हुन थाल्यो ।
बीएल पढ्दै गर्दा उनी २०४६ सालमा अखिलको इकाई सचिव भए । त्यसपछि माओवादी आन्दोलनमा लागेका उनी २०५३ सालदेखि छापामार दलको सदस्य बनेर भूमिगत भए ।
चौकी आक्रमण गर्दा तीन गोली लाग्यो, दुई बहिनी गुमाए
माओवादी युद्धमा लागेका उनलाई २०५५ सालमा गोली लाग्यो । रातमाटा प्रहरी चौकी आक्रमण गर्दा उनी घाइते भए । प्रहरीसँग भिडन्तमा उनको शरीरमा तीनवटा गोली लाग्यो । उपचारपछि निको भए । तर अझै गोलीको घाउ दुखिरहन्छ । पीडा सहन उनी थेरापी गरिरहन्छन् ।
गोपीले भोजपुरको घोडेटार, सिरहाको बन्दिपुरमा सेनासँग प्रत्यक्ष युद्ध लडेका थिए । सिन्धुलीको मझुवा दोभानमा र सिरहाको बन्दिपुरमा पनि लडे । भूमिगतकालमा प्रहरीसँग धेरै ठाउँमा प्रहरीसँग जम्काभेट भयो । २०६३ मा धनुषामा हुँदा तारापट्टीमा सेनासँग आमनेसामने हुँदा उनी मुस्किल बाँचेका थिए ।
गोपीको श्रीमतीसहित परिवारका सदस्यले पनि जनयुद्ध लडे । गोपीकी साहिली बहिनी निर्मला र काइँली मन्जु अछामी जनयुद्धकालमा शहीद भए । एकजनालाई भिडन्तमा सेनाले र अर्की बहिनीलाई प्रहरीले गोली हानेर मारेको थियो । उनका भाइ विवेक, बुद्ध र एक बुहारी पनि जनयुद्धमा भूमिगत बने ।
युद्धकालमा उनी पार्टीको ब्रिगेट कमिसार बनेका थिए । विस २०५८ मा युद्धविराम भएपछि माओवादी पार्टी र सरकारबीच पहिलो वार्ता भयो । तर वार्ता सफल नभएपछि पार्टी फेरि युद्धमा होमियो । त्यो बेला गोपीले मकवानपुरको जिल्ला सेक्रेटरीको नेतृत्व पाए । २०५९ मा उदयपुरको इन्चार्ज बने । त्यही साल उनी माओबादी पार्टीको जनकपुर सगरमाथा अञ्चल ब्युरो सदस्य पनि बने ।
२०६१ मा गोपी जनमुक्ति सेनाको १७ औं वटालियन कमाण्डर कमिसार बने । २०६२ मा उनले विशालकुमार स्मृति बिग्रेड कमिसारको जिम्मेवारी पाए । जनआन्दोलनपछि २०६३ मा उनले तत्कालीन माओवादीको कोचिला राज्य कार्यालय सचिवको जिम्मेवारी पाए । राज्य कार्यालय विराटनगरमा थियो । त्यसपछि उनको कार्यक्षेत्र मोरङ बन्यो । पछि उनी मोरङ जिल्ला इन्चार्ज पनि बने ।
उनी निर्वाचनबाट माओवादी पार्टीको मोरङ अध्यक्षमा पनि भए । त्यसपछि त्यसपछि माओवादी पार्टीको पोलिटब्युरो सदस्य र मोरङ इन्चार्ज बने । माओवादी र एमाले पार्टीको एकतापछि बनेको नेकपामा केन्द्रीय सदस्य र मोरङ जिल्ला सहइन्र्चाज छन् । उनी राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाट ६ वर्षका लागि निर्वाचित पनि भएका छन् ।
शान्ति वार्तापछि १० वर्षे सशस्त्र जनयुद्ध अन्त्य भयो । देशमा पहिलो पटक संविधानसभाको निर्वाचन हुँदा उनी मोरङ क्षेत्र नम्बर ८ बाट निर्वाचित भए । पहिलो संबिधानसभापछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उनी खेलकुद राज्यमन्त्रीको जिम्मेवारी पाए । राज्यमन्त्रीको जिम्मेवारी पाएपछि उनले राष्ट्रिय खेलकुदलाई निरन्तर गराउने काम गरे । पहिलो संविधानसभाले संविधान बनाउन सकेन । दोस्रो संविधानसभामा उनी सोही निर्वाचन क्षेत्रमा उठ्दा पराजित बनेका थिए ।
विभेदकारी समयलाई गोपीबहादुर र उनको परिवारले भोगेको थियो । ‘जनयुद्ध नभएको भए देशमा गणतन्त्र आउने थिएन, न त संविधानसभा गठन हुने थियो,’ उनी भन्छन्, ‘जनयुद्धका कारण महिला दलित र सीमान्तकृतले अधिकार पाए ।’
सालीन र भद्र स्वभावका गोपी राष्ट्रियसभाको सदस्य शान र मानका लागि हैन गणतन्त्रको सुरक्षा र आम सर्वहारा उत्पीडितहरुको मुक्तिका लागि भएको बताउँछन् ।
राष्ट्रियसभाको सांसद भएर संविधान कार्यान्वयन गराउन ऐन, कानुनहरुको निर्माण गर्न दत्तचित्त भएर लागिपर्ने उनी बताउँछन् । अछामी भन्छन्, ‘म जनयुद्धदेखि नै पार्टीको जिम्मेवारीमा प्रतिबद्ध छु र अब पनि विकास निर्माण र जनसेवामा निरन्तर जोडिरहनेछु यो नै मेरो जीवन हो ।’copied feom www.koshionline.com
0 comments
Write Down Your Responses