Powered by Blogger.
सुनकाेशी नदिमा निर्माणाधीन पुल बाढीले बगायाे

सिन्धुली, १३ जेठ । वर्षा बढेसँगै सुनकाेशी नदिमा आएकाे बाढीले सिन्धुली र ओखलढुंगा जिल्ला जाेड्न निर्माणाधिन पक्की पुल बगाएकाे छ ।

सिन्धुलीकाे फिक्कल गाउँपालिका-२ पोखरी रओखलढुंगाकाे चम्पादेवी गाउँपालिका-१ पलापु जोड्ने बहुप्रतिक्षित निर्माणाधीन नवलपुर पक्की पुल बुधवार राती सुनकोसी नदिमा आएको बाढिले भत्काएको हो ।

करिब २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल २ सय १० मिटर लम्बाईको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लागेको थियो ।

बुधबार मात्रै ढलान गरेको पुलको ४० मिटरभागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तिव्र बनाईएको थियो । वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्नेगरि काम अघि बढाईएको भएपनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए ।


उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तरगतको केवल ब्रिज हो । उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो । केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउँछन् । ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिन सम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’ माझीले दर्पणसँग भने, ‘गुणस्तरीय काम गर्दा गर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याव भत्कियो । निकै ठुलो क्षति भयो ।’ माझीका अनुसार करिब ६ करोड बराबरको क्षति भएको छ ।

निर्माणाधिन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुलीको फिक्लल गाउँपालिका २ का वडाअध्यक्ष शंकर भण्डारीले बताए ।  ‘वर्षाको समयमा सुनकोशीको बाढी संधै यस्तै हो क्षति गर्छ । वर्षा लाग्दालाग्दै पनि निर्माण कम्पनीले नदिको मुलबहावमा काम गरिरहेको थियो । हेर्दाहेर्दै बगायो ।’ भण्डारीले भने, ‘दिगो विकास यहाँको आवश्यकता हो । यहि क्षतिलाई देखाएर काम रोक्न वा अन्य बहाना गर्न पाइदैन समयमै काम सक्न हामी ताकेता गर्छौ ।’

यता ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफुहरुसँग कुनै समन्वय नगरेको र कोभिड नियन्त्रणमा आफुहरु रहेकाले यसविषयमा जानकारी नरहेको बताए ।

सुनकोशी नदिकै घुर्मी र हर्कपुर जोड्ने पुल यसअघि हावाले लडाएको थियो ।


, ,

0 comments

Write Down Your Responses