Powered by Blogger.
के नेपालमा जनयुद्धको बिकल्प छ ?

बिनाेद दाहाल

बिकल्प छ भने आउनुस्, बहस गरौं । शोषित पिडित जनताप्रतिको उत्तरदायित्व पुरा गरौं । आफ्नो वर्गप्रति इमानदार बनौं । 

संसदवादी बाटोबाट हजार वर्ष नेतृत्व लिन पुगे पनि संसदवादीले ती आधारभूत जनतालाई मुक्त गर्न सक्ने छैनन्, न्याय दिन सक्नै छैनन् भन्नेमा ढुक्क होऔं । इमानदार मानिसले शोषित पिडित जनताको समवेदनामा खेलबाड गर्नु हुन्न ।

पूर्व नेतृत्वहरुले क्रान्तिकारिका लागि यो चुनौति खडा गरिदिएका छन् । १३ वर्षसम्म सशस्त्र अवस्थामा रहेर नेतृत्व गर्ने सबैले जनयुद्धको बाटो परित्याग गरिसकेका छन् । नयाँ ढङ्गले क्रान्ति अगाडि बढाउने वा बलप्रयोगको सिद्धान्त नछोडेको भनाई चाहिं अझै पनि छ भन्ने केही दलहरु छन् । कम्युनिस्ट कै नाममा कोही संसदवादमा चुर्लुम्म ढुबेका छन् भने कोही सारसंग्रहवादी चिन्तन बोक्दै गोलचक्करमा फसेका छन् र उही संसदवादतिर सोझिएका छन् । उनीहरुले क्रान्तिकारी जनसमुदायलाई आशा जगाउन र विश्वस्त पार्न सकेका छैनन् । फेरि पनि के देखिएको छ भने जनयुद्धको बिकल्प नै छैन । 

अक्टोबर क्रान्तिले विश्व सर्वहारा वर्गमा जगाएको चेतना र चीनीयाँ नयाँ जनवादी क्रान्तिको प्रभावले नेपालका कम्युनिस्ट पार्टी स्थापना हुन पुग्यो । त्यसमा पुष्पलालको महत्वपूर्ण भूमिका थियो । त्यसपछिको लामो समय अवसरवादी धारको नेतृत्वले गर्दा वर्गसंघर्ष निर्णयक ढङ्गले उठन सकेन । प्रथम र दोश्रो सम्मेलनदेखि ३ वटै महाधिवेशनमा यही समस्या आयो, अन्ततः पार्टीनै बिघटनको स्थितिमा पुग्यो ।

२०२५ सालमा पुष्पलालले भारतको उत्तरप्रदेशको गोरखपुरमा तेश्रो राष्ट्रिय सम्मेलनको आयोजना गरेर पुर्नगठनको प्रयास गर्नुभयो । उक्त सम्मेलनले दीर्घकालिन जनयुद्धको आवश्यकताको कुरा उठायो । यो नीतिको लागि कार्यदिशा तय गर्न र व्यवस्थित तरिकाले लागु गर्ने सवालमा काम भएन । 

त्यसपछि एमवीको नेतृत्वमा सारसंग्रहवादी सार बोकेका एक समुहले तेश्रो राष्ट्रिय सम्मेलनको नीति अस्वीकार गरेर केन्द्रिय कम्युनिस्ट न्युक्लियस गठन गरे तर शुरुमा त्यसले कुनै नीति लिनसकेन । समुहका केही मानिस बाहिरिएपछि २०३१ सालमा चौथो राष्ट्रिय महाधिवेशन गरेर मालेमावादी मार्गदर्शनमा कटिबद्ध रहेर कम्युनिस्ट आन्दोलनलाई गतिदिने निर्णय लियो । यो समुहले २०३४ सालसम्म पार्टीलाई मजबुत बनाउने र आन्दोलन उठाउँदै २०३५ देखि जनयुद्धको शुरुवात निर्णय लियो ।

चीनको जनवादी क्रान्ति र भारतको नक्सालवादी बिद्रोहको प्रभावबाट आएकाहरुले केन्द्रबाट टुटेको प्रान्तिय कमिटिहरुमध्ये पुष्पलालसँग पनि सम्बन्ध बिच्छेद गर्दै पूर्वकोशी प्रान्तिय कमिटिले २०२८ सालमा झापा जिल्ला कमिटिको नेतृत्वमा सामन्तवाद बिरोधी “वर्गसत्रू सफाया अभियान” चलायो । शुरुमा बिद्रोहको नेतृत्व राधाकृष्ण मैनाली, त्यसपछि जिम्मेवारि पाएका खड्ग ओलीले नेतृत्व नगरेर भागेपछि सिपि मैनालीले नेतृत्व गरेर उक्त बिद्रोह केही महिना राष्ट्रिय राजनीतिको केन्द्रमा आयो ।

२०३०/३१ तिर चौम आयोजक समितिको नेतृत्वमा किसान आन्दोलनहरु उठ्यो । त्यसको समिक्षा गर्दै चौमको योजनामा जनयुद्धको थालनी गर्ने निर्णय गरेर संगठनहरु मजबुत पार्न थालियो । जव समय आयो नेतृत्वमा उदासिनता थपिंदै गएकाले २०३५ सालमा चौमभित्र बिद्रोहहरु शुरु भयो । एकातिर नेतृत्वमा बिचलनहरु देखापर्न थाल्यो भने अर्कोतिर नेतृत्वले धान्नै नसक्नेगरी बिद्रोहहरु भएपछि जनयुद्धको शुरुवात गर्ने नीति उल्लङ्घन भयो । नेतृत्वमाथि प्रश्न उठ्न थाल्यो भने फेरिएको नेतृत्वले पनि सुधारवादी लाईन लिन थाल्यो । यसैबीच जनयुद्ध नहुने देखेपछि ऋषि देवकोटाहरुले बिद्रोह गरेर कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व सशस्त्र हुनुपर्ने नीति अगाडि सारेर सशस्त्र आन्दोलनको पुनर्गठनको प्रयासमा लाग्नुभयो । यहीक्रममा निरंकुश र फासिस्ट राजतन्त्रको निर्देशनमा उहाँलाई पक्राऊ गरी अघोषित मृत्युदण्ड दिइयो । 

यता पुष्पलालसँग मतभेद प्रकटगरी अलग्गिएको किसान मजदुर संगठन बनाई संघर्षमा जाने नीति लियो तर त्यसमा पनि मतभेद भएर रोहितहरु छुट्टिएपछि अर्को समुहले संघर्ष शुरु गर्याे। यो संघर्ष पनि माओवादी नीतिमा आधारित थियो । यो बिद्रोह किसान संघर्षको नामले चिनिन्छ । यो २०३४ देखि २०३८ सम्म चल्यो । पछि उक्त बिद्रोहका नेतृत्वहरु रुपलाल विश्वकर्माको नेतृत्वमा सर्वहारावादी श्रमिक संगठनको नाममा २०४६ सालको संयुक्त जनआन्दोलनमा सहभागी भयो ।

यसरी बेलाबेलामा सशस्त्र बिद्रोहले व्यवस्थित र लामो संघर्ष गर्न नसके पनि यी सबै बिद्रोहहरुले जनतामा क्रान्तिकारि आशा जगाईराख्न सक्यो । यसैको फलस्वरुप २०५१ सालमा एकताकेन्द्रले निरन्तरतामा क्रमभङ्ग गर्न माओवादमा आधारित दीर्घकालिन जनयुद्ध गर्ने भएकोले बहुमतको आधारमा पार्टी नाम नेकपा (माओवादी) राख्ने निर्णय भयो र २०५२ साल फागुन १ गते प्रतिक्रियावादी राज्यका संयन्त्रहरुमा आक्रमण गर्दै महान् जनयुद्धको थालनी भयो । राजसंस्था कायम भैरहेकै अवस्थामा र विजयको स्थितिमा नपुग्दै माओवादीले १३ वर्षपछि विधिवत रुपमा प्रत्याक्रमणमा पुगेको जनयुद्धलाई परित्याग गरि बृहत शान्ति संझौताको नाममा सशस्त्र युद्धको अन्त्य भएको घोषणा गर्यो । 

यो बीचमा मातृकाले एकपटक र मणी थापाले पनि एक पटक जनयुद्ध हाँक्ने असफल प्रयासहरु गरे । निम्न पुँजीवादी सोच र चिन्तन बोकेका यी नेताहरुले जनयुद्धको नेतृत्व गर्ननसकि पतन भए ।

त्यसपछि बितेका १५ वर्षहरुमा नेपालमा जनताको पक्षमा वा राज्यसत्ता बदल्नका लागि जनयुद्ध हुन सकेको छैन । नेतृत्वबाट धोका भएको भन्दै अन्तरसंघर्षका बुझिनेगरि ५ वर्ष बितेपछि पुनः जनयुद्धमा जोडिने भनेर २०६९ सालको बौद्ध भेलामार्फत किरणको नेतृत्वमा पहल भयो । नेकपा –माओवादी को सोही साल कार्तिकमा सातौं राष्ट्रिय सम्मेलन गर्दै ७ तयारि गरेर जनयुद्धमा जोडिने निर्णय भयो । यो जनयुद्धमा जोडिने निर्णयमा नेतृत्व तयार भएको नदेखेपछि विप्लवको नेतृत्वमा अलग पार्टी गठन गरेर जनयुद्धमा जोडिने निर्णय गर्यो । अर्को साल २०७१ पुसमा दाङमा राष्ट्रिय सम्मेलन गर्दै जनयुद्धमा जोडिने भन्दा पनि अर्कै बाटो (एकीकृत जनक्रान्ति) हिंड्ने निर्णयसँगै नेपालमा बिधिवत रुपमा जनयुद्धमा हिंड्ने संगठित शक्तिको अभाव भएको छ ।

अहिले प्रश्न खडा भएको छ— के नेपालमा जनयुद्धको बिकल्प छ ? यति धेरै आफूलाई कम्युनिस्ट भन्ने राजनैतिक दलहरु छन् ती कुनैले दीघकालिन जनयुद्धको माध्यमद्वारा राजनैतिक हस्तक्षेप गर्ने नीति लिएका छैनन् । पछिल्लोपटक किरणको नेतृत्वमा माओवादलाई नस्वीकार्ने वा आत्मसात गर्ननसक्ने भीड थुप्रिएको छ । मोहन बिक्रमले भन्ने गरेको अमुर्त जनक्रान्तिका कुरामा यो राजनैतिक शक्ति अव थला परेको स्थितिमा छ । विप्लवले त माओवादले मात्रै पुग्दैन, जनयुद्ध त मोडेल आउट नै भैसकेको भावमा आफ्ना बिचार राख्न थालेका छन। बाटो पहिल्याउन नसकेर यो राजनैतिक शक्ति पनि गोलचक्करमा फसेको छ र पछिल्लो चरण वैधानिक राजनीतिक धार समाउने प्रयास गरिरहेको छ । यति धेरै राजनैतिक दलहरुले जनयुद्ध बारेमा यतिधेरै भ्रमहरु दिएका छन् कि लाग्छ, अव यो देशमा फेरि पनि जनयुद्ध हुनेछैन । यी अवशरवादीहरुले फैलाएका भ्रम मात्र हुन् । फेरि पनि नयाँ जनवाद स्थापना गर्नको लागि दीर्घकालिन जनयुद्धलाई व्यवस्थित गर्नको बिकल्प नै छैन । 

अहिले पनि दलाल पुँजीवादको नेतृत्वको प्रतिक्रियावादी राज्य छ । माक्सवाद सचेत पहलद्वारा गरिने हस्तक्षेपकारि कार्य हो भन्ने कुरालाई मनन् गर्न नसकेको कारण सबै अल्मिलिएको अवस्था छ । यो राज्यसत्तालाई ध्वस्त पारेर नयाँ जनवादी व्यवस्था स्थापना गर्न दीर्घकालिन जनयुद्धको बाटो तय गर्नुुको बिकल्प नै छैन । विज्ञान र प्रबिधिको जतिनै विकास भए पनि र खोज अनुसन्धान तथा आर्थिक केन्द्रहरु जता फर्किएका भएपनि सर्वहारावादी क्रान्तिको आधारभुत चरित्रमा फेरबदल भएको छैन । सर्वहारा वर्गको अग्रदस्ताद्वारा प्रतिक्रियावादी राज्यमाथि हस्तक्षेपको कुनै बिकल्प हुँदैन ।            (लेखक दाहाल स्वतन्त्र बाम बिश्लेषक हुनुहुन्छ)


,

0 comments

Write Down Your Responses