Powered by Blogger.
प्रचण्डको चर्को भाषणको वास्तविकता



शान्तिमान कार्की 

रंङ्गि बिरङ्गि शब्दजाल बुनेर जनतालाई जतिनै झुक्याउन खोजे पनि वर्तमान परिवेशमा नेपालका दुई जना ब्यक्तिहरुले आफ्नो स्वार्थको रक्षा गर्नको लागि मात्र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनलाई फुटाऊने गम्भिर अपराध गरेका  छन्। त्यतिमात्रै हैन नेपालका कम्युनिष्टहरुले सत्तरी बर्ष पछि आफ्नै बलबुतामा बनाएको जन निर्वाचित कम्युनिष्ट पार्टीको सरकार ढालेर सर्वोच्च अदालतको परमादेशबाट निर्मित कांग्रेस नेतृत्वको सरकारमा बसेर नेकपा (एमाले)को बिरोधमा निकै नै चर्का भाषणबाजी गर्दैछन्। 

यो सबै नाटक  गर्नुको पछाडी उनिहरुको गुटपार्टी बिघटनको दिशामा गएकोले ,आफ्नै पार्टीका नेता कार्यकर्ता र जनतालाई समेत ढाटछल गरेर  स्वयं आफैले गरेको पदलोलुप कम्युनिष्ट बिरोधी अपराधको ढाकछोप गर्ने षडयन्त्र मात्रै हो । कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले बनाएको दुई तिहाई बहुमतको सरकार गिराउने षडयन्त्रको मूख्य खलपात्र माओवादी केन्द्रका नेता प्रचण्ड र एमालेबाट भागेका माधब नेपाल नै हुन्।

जसले अहिले कांग्रेसी सरकारको हनुमानगीरि गरिरहेका छन्। त्यसो गर्नुको कुनै बैचारिक र राजनीतिक धरातल नै छैन भन्ने कुरा प्रमाणित भईसकेको छ।

रुसमा यस्तै चर्का कुरा गर्ने कथित बामपंथी कम्युनिष्ट पार्टीकै नाममा षडयन्त्रमुलक ढंगले भाषण गरिरहेको समयमा एउटी महिला मार्फत लेनिनलाई गोली हान्न लगाईएको थियो । चीनमा माओलाई पटक पटक मार्ने षडयन्त्र गरिएको थियो । होचिमिन्ह र फिडेल क्यासट्रोलाई त हजारौ पटक मार्ने षडयन्त्र असफल बनाईएको थियो।ठिक त्यसै गरि अहिले नेपालमा कम्युनिष्ट बिरोधी पुजीवादी शक्तिको उक्साहटमा प्रचण्ड र माधब नेपाल  पनि  नेकपा एमालेका अध्यक्ष क.केपी ओलीलाई चौतर्फी रुपमा हमला गरिरहेका छन्।कम्युनिष्ट बिरोधीहरुले मदन भण्डारीलाई जसरी नै मौका परे क.केपी ओलीको हत्या गर्ने सम्मको गम्भिर षडयन्त्र गरिरहेका छन्।

यस्तो अबस्थामा पुजीवादी शक्तिले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन  कम्युनिष्ट पार्टी  फुटाएर भागेका प्रचण्ड र माधब नेपाललाई प्रयोग गरेर एमाले र त्यसको मूल नेतृत्व बिरुद्ध बिचार ,राजनीति र भौतिक रुपमा समेत हमला गर्ने खतरा देखिएकोले नेतृत्वको सुरक्षाको लागि पार्टी केन्द्रिय कमिटीले गम्भिर सतर्कता अपनाउन जरुरी देखिएको छ।

देउवा सरकारका बेड पाट्नर प्रचण्डले आफ्नो पार्टीका अल्लारे युवाहरुलाई उचालेर फेरि देशमा गडबडी मच्चाउन पर्छ भनिरेका छन् । कथित युवा स्वरोजगारको नाममा राज्यको ढिकुटीबाट पोषित हुने युवाहरुको भिजिलान्ते दस्ता परिचालन गरेर फेरि “जनयुद्धताकाको आतंक आबस्यक छ “ भन्ने भाषण गरिरहदा कांग्रेसका सभापती  शेर बहादुर देउवाको सरकार रमिते बनेर बसेको छ।

जनयुद्ध कै शैलीमा माओवादीको नाममा प्रचण्ड युवा र बिध्यार्थीहरुलाई उराल्ने कार्य गर्दै छन्। प्रचण्डको ताण्डव भाषण सफल हुने छैन। यदि सफल भयो भने सवभन्दा पहिले कांग्रेसीहरुले नै यसको निक्कै नै चर्को मूल्य चुकाउनु पर्ने छ ।

२०४८ साल पछि एमालेको लोकप्रियता बढेको देखेर अत्तालिएको कांग्रेसी सरकारका गृहमंत्री देउवाले एकहद सम्म जनमोर्चा र एकताकेन्द्रलाई एमाले बिरुद्ध उचाल्ने काम भएको थियो।कालान्तरमा त्यहि उक्साहट कांग्रेसको लागि अभिशाप सावित भएको कुरा यति चाडै बिर्सिने उनै देउवाले फेरि मुलुकलाई कुन भड्खालोमा जाक्ने हुन भन्न सकिन्न।

नमरि बाचे कालले साचे जे पनि देख्न पाईने रहेछ।माओवादीको टाउकोको मूल्य तोक्ने,संकटकाल लगाउने,भैरवनाथ गणका बन्दीहरुको सामुहिक हत्या गर्ने देउवा र जनयुद्ध कै नाममा हिंसात्मक आन्दोलन गर्ने प्रचण्ड बिचको मेलमिलापले माओवादी र कांग्रेस भन्नेहरु नै हैरान परेशान बनेका छन्। स्पष्ट शब्दमा प्रचण्डले  वाइस्यालहरुलाई भनेका छन् “तपाईहरुले आतंक मच्चाउनुस परेको म ब्यहोर्छु”यसको मतलव के हो?प्रचण्डले कसका बिरुद्ध आतंक मच्चाउन खोज्दैछन ?

लेखक-नेकपा(एमाले) सिन्धुलीकाे सचिब हुनुहुन्छ । 


0 comments

Write Down Your Responses