Powered by Blogger.
फिक्कलमा वडाबाटै सामाजिक सुरक्षा भत्ता बितरण


सिन्धुली– जिल्लाको फिक्कल गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । फिक्कल गाउँपालिकाका वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो ।

गाउँपालिकाको केन्द्र खाङसाङ पुगेर वृद्घभत्ता बुझ्दै आएका फिक्कल गाउँपालिका –२ का ६५ बर्षीय चर्तुमान रम्तेलले यस आर्थिक बर्षको अन्तिम चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्तावडाबाट दिन्छौँ भन्थे,त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुशी लागेको छ ।’

त्यस्तैगरी, फिक्कल गाउँपालिका–२ की ७५ बर्षीया जानुका पहाडी पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउनुहुन्छ । ‘भत्ता बुझ्नका लागि ६ घण्टा हिँडेर खाङसाङ जानुपथ्र्यो, बुढेसकालको शरीर आउन जानै समस्या’, उहाँले भन्नुभयो्, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठुलो राहत मिलेको छ ।

प्राईम कर्मशियल बैंक फिक्कल शाखाको सहकार्यमा फिक्कल गाउँपालिका वडा नम्बर–१ का २ सय २६, वडा नं.३ का १ सय ९४ वडा नं.२ का १ सय ८२ वृद्धवृद्धाहरुलाई वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । नगरपालिका र  वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरुको खाता समेत खोलिएको फिक्कल गाउँपालिकाका पन्जीकरण शाखा सहायक फडिन्द्र पहाडीले बताउनुभयो । 

भौगोलिक रुपमा टाढा रहेकाले वृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो । साथै यो अभियान सबै वडाहरुमा निरन्तर जारी रहने गाउँपालिकाले जनाएको छ ।

यस अघि खाङसाङ पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने  गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि वृद्धहरू खुशी भएका छन् । भत्ता बुझ्नकै लागि एक दिनको दुरीमा रहेको बैंक सम्मको कष्टकर यात्रा गर्न नपरेको भन्दै लाभग्राहीहरुले खुसी व्यक्त गरे । 



, ,

0 comments

Write Down Your Responses