Powered by Blogger.
बैदेशिक रोजगारी र प्रविधिको दुरुपयोगले विखण्डन हुँदै परिवार


सिन्धुलीमा सम्बन्ध बिच्छेदका घटना बढ्दो, तिन बर्षमा ७ सय १६ मुद्दा दर्ता

सिन्धुली– बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको दुरुपयोगका कारण परिवार तथा समाज बिखण्डन हुदै गएको छ । त्यसको ज्वालन्त उदाहरण जिल्ला अदालत सिन्धुलीमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ ।

जिल्ला अदालत सिन्धुलीमा दर्ता भएको मुद्धाको तथ्याङ हेर्दा पछिल्लो तीन वर्षमा ७ सय १६ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएका छन । सम्बन्ध बिच्छेदका मुद्धा दर्ताको संख्या बर्षेनी बढ्दै गईरहेको छ । जिल्ला अदातलमा आर्थिक वर्ष ०७७÷७८ मा १४१, आर्थिक वर्ष ०७८÷७९ मा २ सय ४१ र आर्थिक वर्ष २०७९÷८० मा ३३४ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका जिल्ला अदालत सिन्धुलीका श्रेष्तादार बिदुर कोइरालाले जानकारी दिनुभयो ।

जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दो अवस्थामा रहेको छ । सम्बन्ध विच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको एकिन संख्या यो भन्दा अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।

दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमानले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदा समेत खोज खबर गरेका जस्ता आरोप सहितका मुद्दा पर्ने गरेको अदालतका श्रेस्तेदार कोइरालाले बताउनुभयो । 

उमेर नपुग्दै विवाह हुने र परिपक्वतासँगै सम्बन्ध विच्छेदको घटनामा बुद्धि भएको पाईन्छ दम्पतीमा विस्तारै बेमेल बढ्दै गएपछि श्रीमतीलाई अनावश्यक आशंका गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थालेसँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि सम्बन्ध बिच्छेदमा पुगेको देखिन्छ ।

सम्बन्ध विच्छेदका मुद्दा मध्ये अधिकांश श्रीमान् बैदेशिक रोजगारमा विदेश रहेका महिलाले दिने गरेको बताइएको छ । लामो समय सम्म श्रीमान् घर नआउँदा श्रीमतीले अर्कैसँग सम्बन्ध राख्दा यस्तो समस्या देखिने गरेको बताइन्छ । 

सम्बन्ध बिच्छेदको घटना बढ्नुमा पहिलो बैदेशिक रोजगार, दोश्रो सामाजिक सञ्जालको प्रयोग र कानुनले दिएको अधिकारलाई अनाबश्यक प्रयोग, देखा सिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले पनि सामाजिक बिकृति बढेको कानुन ब्यवसायी लोकहरी आचार्य बताउनुहुन्छ । 

पछिल्लो पटक नयाँ मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै जिल्लामा पुरुषद्धारा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्ने क्रम बढ्दै जान थालेको छ । आफु बैदेशिक रोजगारमा रहेको बेला श्रीमतीले घरको चल सम्पती हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको जस्ता आरोप लगाई सम्बन्ध विच्छेदका लागि मुद्दा लिएर अदालत जाने गरेका छन् ।

यसरी सम्बन्ध विच्छेद गर्ने पुरुषहरु मध्ये अधिकांश बैदेशिक रोजगारमा घर बाहिर हुने देखिने गरेको बताइन्छ । आत्मनिर्भरताको खोजी सम्बन्ध विच्छेद पछि महिलाको दैनिकी अत्यन्तै चुनौतीपूर्ण हुने गरेको छ । सम्बन्ध विच्छेदपछि सामाजिक दृष्टिकोणमा पनि बदलाव देखिने गर्दछ ।

घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाको अनुभव छ । महिला हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्ध विच्छेद बढ्दै गएको महिला अधिकारकर्मि सबिता कोइराला बताउनुहुन्छ । श्रीमानले सामान्य हिंसा गर्दा सहदै आएका महिला श्रीमानको अत्याचार बढेपछि भने अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पनि घरेलु हिंसाका घटनामा पनि बृद्धि हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याकं अनुसार पछिल्लो तीन बर्षमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा २५२ उजुरी दर्ता भएका छन । 

तथ्याकं अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ५९, आर्थिक वर्ष २०७८÷७९ मा १०३ वटा र आर्थिक वर्ष २०७९÷८० मा ९० वटा उजुरी दर्ता भएका छन । 

जिल्ला प्रहरी कार्यालय बाहेक स्थानीय तहहरुमा रहेको न्यायीक समितिमा समेत महिला हिंसा तथा घरेलु हिंसाका उजुरीहरु बढ्दै गईरहेको बताइएको छ । जिल्लामा गरिबि, अशिक्षा, बैदेशिक रोजगारीका कारण परिवार र समाज बिखण्डनको सिकार बन्दै गईरहेको छ । 



,

0 comments

Write Down Your Responses