Powered by Blogger.
मालपोत कार्यालय सिन्धुलीद्धारा १७ करोड बढि राजश्व संकलन


सिन्धुली– जिल्ला मालपोत कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८०/८१ मा जग्गा रजिष्टेशन दस्तुर, रोक्का, सेवा शुल्क, दण्ड जरिवाना, लाभकर लगायत लगायतका शीर्षकबाट १७ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले १ बर्षमा ५ हजार २ सय ३६ लिखत पास गर्दै  १७ करोड  ४ लाख ४२ हजार २ सय ३९ रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयका सुचना अधिकारी राजकुमार प्रसाईका अनुसार आर्थिक बर्ष २०८०/८१ मा घर जग्गा रजिष्ट्रेशन दस्तुर बापत ९ करोड ४७ लाख २८ हजार २ सय ५८ रुपैयाँ  धितो तर्फबाट १ करोड ५३ लाख ६० हजार ७० रुपैयाँ, सेवा शुल्क बापत ३७ लाख ६९ हजार ७ सय ३९ रुपैयाँ र रोक्का सेवा दस्तुरबाट २ लाख ६२ हजार ८ सय ५२ रुपैयाँ राजश्व संकलन भएको हो । त्यस्तै कार्यालयले गत आर्थिक वर्षमा ५ करोड ६३ लाख २१ हजार ३ सय २० रुपैयाँ लाभकर संकलन गरेको छ । 

कार्यालयमा जिल्लाका नौं वटै स्थानीय तहका सेवाग्राहीले घरजग्गा सम्बन्धी कारोवारबाट उक्त राजस्व रकम संकलन भएको सुचना अधिकारी प्रसाईको भनाई छ । सेवा शुल्कअन्तर्गत पुर्जा, धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्क लगायतवाट राजश्व संकलन भएको हो ।

मालपोत कार्यालय सिन्धुलीले आर्थिक बर्ष २०८०/८१ मा राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्का लगायतका शीर्षकबाट जिल्लाका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट घरजग्गा पास तर्फ ५ हजार २३६ र धितो रोक्कातर्फ २ हजार ९८६  लिखित पास गरेको छ । 

महिला, दलित, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई गत आर्थिक वर्षमा रजिष्ट्रेशन पासमा १ करोड ५२ लाख ८० हजार ७ सय ८५ रुपैयाँ रकम छुट दिइएको मालपोत कार्यालय सिन्धुलीले जनाएको छ । ग्रामीण महिला तर्फ ३६ लाख २५ हजार १ सय १५, नगर महिला तर्फ १ करोड ५ लाख ८३ हजार ४ सय ३६ राजश्व छुट भएको कार्यालयले जनाएको छ ।

त्यस्तै ग्रामीण दलित तर्फ २ लाख ६४ हजार ७ सय ४० रुपैयाँ, नगर दलित तर्फ ७ लाख ९० हजार ३ सय ३४ रुपैयाँ रकम राजश्व छुट भएको छ भने ग्रामीण अपाङ्ग तर्फ १ हजार ८ सय ७५ र नगर अपाङ्ग तर्फ ५ हजार १ सय ७४ रुपैयाँ राजश्व छुट दिइएको कार्यालयले जनाएको छ । 

सरकारले महिला, एकल महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग तथा शहीद परीवारहरुको जग्गामा स्वामित्व बढाउनका लागी लिखत पासमा २५ देखी ३५ प्रतिशत राजश्व छुट दिदै आएको छ । महिला, दलित तथा अपाङ्गहरु राजश्व छुट हुने भएपछि राजश्व छुट लिएर लिखत पास गर्नेको संख्यामा ह्वात्तै बृद्धि भएको कार्यालयका सुचना अधिकारी राजकुमार प्रसाईले बताउनुभयो । गत आर्थिक वर्षमा महिला, दलित अपाङ्ग तथा जेष्ठ नागरिक सहित कुल २ हजार २ सय ६० लिखत पास भएको छ । 

घरजग्गा कारोबारमा कमलामाई अगाडि 

मालपोत कार्यालय सिन्धुलीको तथ्याकं अनुसार गत आर्थिक वर्षमा घरजग्गा कारोबारको अवस्थालाई हेर्ने हो भने कमलामाई नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । आर्थिक वर्ष २०८०⁄०८१ मा मालपोत कार्यालय सिन्धुलीले कमलामाई नगरपालिकाबाट घरजग्गा कारोबार बापत ५ करोड ९ लाख ९५ हजार ४ सय १७ रुपैयाँ राजश्व संकलन गरेको छ भने दोश्रोमा दुधौली नगरपालिकाबाट ३ करोड ३९ लाख २८ हजार ६ सय ९८ रुपैयाँ राजश्व संकलन गरेको छ । कमलामाई सदरमुकाम भएको कारण र दुधौली मदन भण्डारी राजमार्गका कारण पछिल्लो समय जग्गाको मुल्यमा ब्यापक बृद्धि भएको छ भने कारोबार पनि बढ्दै गएको छ । 

त्यस्तै मरिण, सुनकोशी र हरिहरपुरगढीमा पनि जग्गाको कारोबारमा बृद्धि भएको छ । मरिण गाउँपालिकाबाट ८७ लाख ५६ हजार ४ सय ९० रुपैयाँ, सुनकोशी गाउँपालिकाबाट ७७ लाख ५५ हजार २३ रुपैयाँ र हरिहरपुरगढीबाट ४२ लाख ९९ हजार ५४४ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । 

त्यस्तै गोलन्जोर, तिनपाटन, फिक्कल र घ्याङलेकमा पनि जग्गाको खासै कारोबार हुन सकेको अवस्था छैन । गोलन्जोरबाट ४४ लाख ४ हजार ५ सय ६७ रुपैयाँ, तिनपाटनबाट ३१ लाख ५९ हजार ३२ रुपैयाँ, फिक्कलबाट १६ लाख ६९ हजार ६६० रुपैयाँ र घ्याङलेकबाट १२ लाख ५८ हजार ३६० रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकारी राजकुमार प्रसाईले जानकारी दिनुभयो । 

संकलित राजश्वबाट पुँजीगत लाभकर बापतको रकम संघीय सरकारको राजश्व खातामा जम्मा हुने र रजिष्ट्रेशन दस्तुर बापतको रकम २ प्रतिशत प्रदेश कोषमा जम्मा हुने साथै बाँकी रकम स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशत वाडफाड हुने कानुनी ब्यवस्था रहेको छ ।







, ,

0 comments

Write Down Your Responses