सिन्धुलीमा गत आवमा १६ अर्ब बजेट खर्च १ अर्ब बढि फ्रिज
सिन्धुली– हरेक राजनीतिक व्यवस्था परिवर्तनका बेलामा जनताको सबैभन्दा ठुलो अभिलाशा हुन्छ– विकास । तर, परिवर्तनले विकास ल्याउने जनआकांक्षा नेपालका हकमा पटक–पटक असफल भइरहेको छ ।
०६२/०६३ को जनआन्दोलनपछि नेपालमा राजसंस्था उन्मूलन भएर गणतन्त्र भित्रियो । सामन्तवादी राजतन्त्र विकासको बाधक बनेको भन्दै राजनीतिक दलहरुले जनतालाई आन्दोलनमा होमेका थिए । तर, अहिले यिनै दलका नेताहरु नयाँ राजा बनेर प्रकट भएको टिप्पणी हुन थालेको छ । विकासको र समृद्धिको एजेन्डा भाषणमा मात्रै सीमित छ ।
सिन्धुली जिल्लालाई हेर्ने हो भने बर्षेनी पुँजीगत अर्थात विकास खर्च भन्दा कर्मचारी तलबभक्ता मै बढि बजेट खर्च हुने गरेको छ । त्यतिमात्र होइन जिल्लाको विकासका लागी आएको बजेट बर्षेनी फ्रिज भएर जाने रोग पनि हाम्रो जिल्लाको पुरानै रोग नै बनेको छ । असारमा गरिने विकास खर्च पनि प्रभावकारी बन्न सकेको अवस्था छैन ।
आर्थिक वर्ष २०८९⁄८० मा संघ तथा प्रदेश सरकारको चालु तथा पुँजीगत तर्फको कुल १६ अर्ब ३९ करोड ३२ लाख ९३ हजार ६ सय २० रकम मध्ये १५ अर्ब १७ करोड ६४ लाख ६६ हजार १ सय १८ रुपैयाँ खर्च भएको थियो भने २०८०⁄०८१ मा संघ तथा प्रदेशको चालु तथा पुँजीगत तर्फको कुल १७ अर्ब ७४ करोड ८५ लाख २८ हजार ६ सय ३७ मध्ये १६ अर्ब ५६ करोड ४३ लाख ३५ हजार १ सय ६८ रुपैयाँ खर्च भएको छ ।
सरकारी निकायले विनियोजित विकास बजेट सतप्रतिशत खर्च गर्न सकेका छैनन् । सरकारले तलब भत्ता र दैनिक कार्य सञ्चालनमा लागि छुट्याउने चालु खर्चको दर आकाशिँदै जाँदा विकास खर्च दर भने त्यसअनुरुप बढेको पाइँदैन । विकास खर्चका लागि विभिन्न तत्वहरु बाधक देखाइएका छन् । तर अर्थविदहरुको भनाइमा कर्मचारी संयन्त्रले बजेट कार्यान्वयनमा उदासिनता देखाउँदा जनताको विकासको चाहना बन्धक बनिरहेको हो ।
बजेट फ्रिजको अवस्थालाई हेर्ने हो भने आर्थिक वर्ष २०७९/८० मा संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त १ अर्ब २१ करोड बढी रकम फ्रिज भएको थियो भने आर्थिक वर्ष २०८०⁄०८१ मा संघ तर्फको ५३ करोड ९९ लाख २३ हजार ४ सय ५९ रुपैयाँ र प्रदेश सरकार तर्फको ६४ करोड ४२ लाख ७० हजार १० रुपैयाँ गरी कुल १ अर्व १८ करोड ४१ लाख ९३ हजार ४ सय ६९ रुपैयाँ फ्रिज भएको छ ।
विकास बजेटको खर्चमा ‘असारे विकास’ को ठूलो हात छ । हाल औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको छ । हरेक सरकारले असारमा आएर धेरै बजेट खर्चिने पुरानो प्रवृत्ति रोक्ने बताउने गरेका छन् । तर, असारमा रकम खर्चिन नदिए विकास बजेटसहित समग्र सरकारी खर्च कमजोर देखिने र सरकारको खर्च गर्ने क्षमता माथि प्रश्न उठ्ने अवस्था आउँछ ।
तथ्यांकमा खर्च देखाउने नियतका साथ हिलोमा गरिने विकासलाई सरकारले थप प्रोत्साहन गर्ने गरेको छ । यस्तो समयमा गरिने कामको भुक्तानी सजिलै पाइने र अनियमितता गर्न सजिलो हुने भएकाले पनि सरकारी अधिकारी यसैबेला खर्च गर्न हौसिन्छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार सिन्धुली स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत शीर्षकमा खर्च गरेको मध्ये ३२.७१ प्रतिशत अथवा १ अर्ब १६ करोड ५७ लाख ५३ हजार १९२ रुपैयाँ आर्थिक वर्षको अन्तिम महिना असारको हो ।
असारमा भुक्तानीको हिसाब उच्च हुनु साथै पुँजीगत भन्दा चालु खर्च बढी हुनु र बिकास बजेट बर्षेनी फ्रिज भएर जानु मुख्य समस्याहरु हुन तर यी समस्याहरुको समाधानका लागी कुनै पक्ष जिम्मेवार बनेर लागेको अवस्था छैन । जस्का कारण बर्षेनी सिन्धुलीमा आएको बजेट दुरुपयोग देखी फिर्ता जाने सम्मका समस्या भोग्न जिल्लाबासी बाध्य बनेका छन ।
0 comments
Write Down Your Responses