Powered by Blogger.
सुरक्षा चुनौतीसँग जुध्न सक्ने दक्ष प्रहरी तयार पार्न डीआईजी पौडेलको निर्देशन


सिन्धुली, ७ साउन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरूण पौडेलले सिन्धुली स्थित बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको निरीक्षण गर्दै तालिमलाई अझ प्रभावकारी र व्यावसायिक बनाउन आवश्यक रहेकाेमा जोड दिनुभएकाे छ। 
निरीक्षण कार्यक्रम अन्तर्गत डीआईजी पौडेलले तालिम केन्द्रको कार्यालय भवन, ब्यारेक, मेश, पेरिमिटर लगायतका संरचना र विभिन्न शाखाहरूको कार्यसम्पादनको अभिलेख अवलोकन गर्नुभएकाे थियाे। उहाँले तालिम अवधिमा दिइने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरू मार्फत प्रहरी संगठनको मर्यादा जोगाउने र समसामयिक सुरक्षा चुनौतीहरूसँग जुध्न सक्षम जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभयाे ।
डिआईजी पौडेलले प्रशिक्षणको गुणस्तरमा कुनै सम्झौता नगरी आधुनिक, वैज्ञानिक र अनुशासित तालिम मार्फत जिम्मेवार प्रहरी निर्माण गर्ने दिशामा काम गर्नुपर्ने उल्लेख गर्नुभयाे। उहाँले प्रहरी संगठनप्रति आम जनताको विश्वास बढाउनका लागि तालिमकै चरणबाट कडाइका साथ इमानदारी, उत्तरदायित्व र कार्यदक्षता विकास गरिनु आवश्यक रहेकाे बताउनुभयाे । 

निरीक्षणका क्रममा तालिम केन्द्रका प्रमुख, प्रशिक्षक तथा अन्य सम्बन्धित शाखा प्रमुखहरू समेतकाे उपस्थिती रहेकाे थियाे। सहभागीहरूले तालिम केन्द्रमा भइरहेका गतिविधिहरूबारे जानकारी गराउँदै भावी सुधार र योजनाबारे छलफल गरेका थिए।

प्रहरी संगठनको दीर्घकालीन सुधार, व्यावसायिकता र समर्पणसहितको कार्यशैली निर्माणका लागि यस्ता निरीक्षण तथा निर्देशन कार्यक्रमलाई प्रभावकारी पहलका रूपमा लिइएको छ।


,

0 comments

Write Down Your Responses