सिन्धुली, ८ साउन । सिन्धुलीमा पछिल्लो पाँच बर्षको अबधिमा ३५ हजार भन्दा बढि नागरिकले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ । बैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिने क्रम तिब्र भईरहेकाले राहदानी लिनेको संख्या हरेक बर्ष बढ्दो क्रममा रहेको हो ।
जिल्ला प्रशासनको तथ्याङ्क अनुसार सन् २०२० देखि सन् २०२५ सम्म ३३ हजार ६ सय ३४ जनाले राहदानी लिएका हुन । सन् २०२०/२१ मा २ हजार ७८ जना, सन् २०२१/२२ मा ४ हजार ७ सय १७ जना, सन् २०२२/२३ मा ९ हजार ७ सय ५८ जनाले राहदानी लिएका थिए । त्यस्तै सन २०२३⁄२०२४ मा ९ हजार १ सय ४७ जनाले र गत आर्थिक वर्ष सन २०२४⁄२०२५ मा ७ हजार ९ सय ३४ जनाले राहदानी लिएका छन ।
जिल्लाको ग्रामीण देखी शहरी क्षेत्रसम्मका युवाहरु रोजगारी, उच्च शिक्षा र जिवनस्तर उकास्ने चाहानाले बिदेशिन थालेका छन । पछिल्लो पाँच बर्षमा मात्र हजारौं सिन्धुलीका युवाहरु राहदानी लिएर वैदेशिक यात्रामा लागेका छन, जस्ले गाउँघरमा श्रमशक्तिको अभाव र सामाजिक संरचनामा परिवर्तन ल्याईरहेको छ ।
राहदानी लिनेमा सबैभन्दा बढि वैदेशिक रोजगारी तथा अध्यनका लागी विदेशीने युवाहरु छन् भने केहिले भ्रमणका लागि लिने गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । बिशेषगरी राहदानी लिनेमा २२ बर्ष देखि ३५ बर्ष उमेर समूहका युवाहरु रहेका छन् । पछिल्लो समय राहदानी लिने महिलाहरुको संख्या पनि बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १५ हजार ८ सय ५० राष्ट्रिय परिचयपत्रका लागी आवेदन दर्ता गरेको छ भने हाल सम्म ४७ हजार ३ सय ५७ राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरेको छ । प्राप्त कार्डहरुमा ९१ हजार ७७ कार्ड वितरण गर्न बाँकी रहेको छ । उक्त कार्ड गाउँपालिका तथा वडाहरुबाट नै वितरणको कार्य भईरहेको सहायक प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट आर्थिक वर्ष २०८१⁄०८२ मा वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ९ हजार ७ सय ३२ रहेको छ । वैवाहिक अंगीकृतको आधारमा नागरिकता प्राप्त गर्ने २ जना रहेका छन् । त्यसैगरी नागरिकता हराएका वा अन्य कारणले नागरिकता गुमाउने ७ हजार ७ सय ५ जनाले पुनः नगरिकताको प्रतिलिपी लिएका छन् भने ८ जना गैर आवासीय नेपालीहरुले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
चार करोड बढि राजश्व संकलन
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१⁄०८२ मा ४ करोड बढी राजस्व संकलन गरेको छ । प्रशासनले ४ करोड १६ लाख ५१ हजार ९५ रुपैया राजस्व संकलन गरेको हो ।
राहदानी दस्तुर बापत ४ करोड ९ लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ । यस्तै प्रशासनिक दण्ड जरिवाना मार्फत २ लाख ८६ हजार ४५ रुपैयाँ, हातहतियार नवीकरणबाट ३० हजार, संस्था दर्ता तथा नविकरणबाट ३ लाख ८९ हजार ५ सय ५० रुपैयाँ, परिक्षा शुल्क वापत १६ हजार ४ सय राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses