सिन्धुली अस्पताल सहित ५ स्वास्थ्य संस्थाको ११ करोड बढी भुक्तानी बाँकी
- बुद्धकुमार आछामी
सिन्धुली, १ श्रावण । स्वास्थ्य बिमा भन्नासाथ सरकारले नागरिकको उपचारका लागि ल्याएको राम्रो कार्यक्रम भनेर बुझिन्छ । तर सुरु भएको १० वर्ष भइसक्दा पनि यो कार्यक्रमले लय समात्न सकेको छैन । बरु समस्यै समस्यामा जकडिएको छ ।
स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा सिन्धुलीका प्रथम सेवा बिन्दुको रुपमा रहेका सिन्धुली अस्पताल सहित ५ स्वास्थ्य केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम बढेको छ । स्वास्थ्य बिमा बोर्डले सिन्धुलीमा मात्र ११ करोड बढि रकम भुक्तानी दिन बाँकी छ । समयमै रकम भुक्तानी नदिएकाले उपचारको लागि समस्या भएको ति स्वास्थ्य केन्द्रहरुले जनाएका छन ।
स्वास्थ्य बिमा बापत सरकारसँग शोधभर्ना लिनुपर्नेमा सवैभन्दा बढि सिन्धुली अस्पतालले ६ करोड ५० लाख रहेको छ भने दुधौली नगर अस्पताल सिर्थौलीले २ करोड ७२ लाख ८ हजार ९६ रुपैयाँ, लाम्पान्टार स्वास्थ्य चौकीले १ करोड २८ लाख ८५ हजार २ सय ५२ रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ । त्यस्तै कपिलाकोट स्वास्थ्य चौकी मरिणले ४९ लाख ३४ हजार ५ सय ९८ र बेलघारी आधारभुत अस्पताल तिनपाटनले ४२ लाख ५ हजार ५ सय ७५ रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ । प्रथम सेवा बिन्दुको रुपमा रहेका ५ वटा संस्थाहरुले भुक्तानी लिन बाँकी कुल रकम ११ करोड ३२ लाख ३३ हजार ५ सय २१ रुपैयाँ रहेको छ ।
बिमा वापतको रकम शोधभर्ना नपाउँदा आर्थिक अभावले गर्दा औषधी र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको स्वास्थ्य संस्थाहरुले बताएका छन । बिमा बोर्डले लामो समय देखि ठुलो मात्रामा भुक्तानी नदिएकोले बिमित ब्यक्तिको उपचार नै रोक्नु पर्ने स्थिति आउन लागेको सिन्धुली अस्पतालका सुचना अधिकारी राजकुमार गोलेले बताउनुभयो । ९० प्रतिशत भन्दा बढी बिरामी बिमा अन्तर्गतका हुने भएकोले लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसकेको अस्पतालले जनाएको छ ।
आर्थिक अभावले गर्दा औषधी र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेकोले उधारो नदिँदा सेवामा सङ्कट आउन लागेको सुचना अधिकारी गोलेले बताउनुभयो । कार्यक्रम अनुसार, बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएका मध्ये कुनै पनि स्वास्थ्य संस्थाबाट बीमा भुक्तानी रकम ननाघ्ने गरी ओपीडी, इमर्जेन्जी, ल्याब, अन्तरंग, शल्यक्रिया, एक्सरे, एमआरआई लगायत उपचार सेवा पाउन सक्छन् । यसका साथै सरकारले तोकेको निःशुल्क औषधि समेत बीमितले पाउँछन् ।
अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको छ । स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिदमा समस्या परेको लाम्पान्टार प्राथामिक स्वास्थ्य केन्द्रका गंगा बहादुर बुढाथोकीले बताउनुभयो । रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।
स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि स्वास्थ्य केन्द्र आइपुग्छन्, उनीहरूलाई सेवा दिनैपर्छ, तर बोर्डले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ । जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सिर्जना हुन थालेको बुढाथोकीको भनाई छ ।
३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमामा आबद्ध भएपछि नागरिकले ओपीडीदेखि शल्यक्रियासम्मको सेवा प्राप्त गर्न पाउँछन । तर बीमितको सधैंको गुनासो छ– बीमा बापतको सेवा पाउनै कठिन हुन्छ । अस्पतालहरूमा सहज सेवा त छैन नै, बीमाले भने अनुसारको औषधि पनि पाइँदैन । यही कारण बर्सेनि बीमालेख नवीकरण घट्दै गईरहेको छ ।
सरकारले लोकप्रियताका लागी कार्यक्रमको घोषणा गर्ने तर कार्यान्वयनमा समस्या हुने देखिएको छ । स्वास्थ्य बिमा कार्यक्रम पनि सेवाग्राहीहरुका लागी झन्झटिलो र हैरानी मात्र बन्दै गएको छ । सेवा पाउनै मुस्कील हुने गरेको तथा सरकारले शोधभर्ना भुक्तानी नगर्दा स्वास्थ्य बिमा कार्यान्वयन गर्न नसक्ने अवस्थामा स्वास्थ्य संस्थाहरु रहेका छन ।
सिन्धुलीका तिस हजार बढी परिवार बिमामा आबद्ध
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सिन्धुलीका ३० हजार ३ सय ७ परिवार आबद्ध भएका छन् । उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु भएयता २०८२ असार मसान्त सम्मको हो । स्वास्थ्य बिमा बोर्ड सिन्धुलीको तथ्याकं अनुसार सबैभन्दा बढी कमलामाई नगरपालिकामा स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबै भन्दा कम घ्याङ्लेख गाउँपालिकामा स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
कमलामाई नगरपालिकामा ७ हजार ४ सय ५७ परिवार बीमीत हुँदा घ्याङ्लेख गाउँपालिमा ५ सय ४५ परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन ।
बोर्डको तथ्याकं अनुसार गोलन्जोर गाउँपालिकामा १ हजार ३ सय ८८, दुधौली नगरपालिका ४ हजार चार सय ६५, तीनपाटन गाउँपालिकाका १ हजार ९ सय ७३ र फिक्कलका ७ सय ५९ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । त्यसै गरी मरिण गाउँपालिकाको १ हजार सात सय ८६, सुनकोशीको १ हजार चार सय २० र हरिहरपुरगढीको ५ सय २४ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन ।
त्यस्तै ज्येष्ठ नागरिक ९ हजार दुई सय २५, मधुमेहका ९ सय, एचआइभी सङ्क्रमित ७९, क्षयरोगका १० जना, महिला स्वास्थ्य स्वयेमसेवीका २ सय ९० जना, अपागंता भएका ब्यक्ति ३ सय ८५ जना ब्यक्ति स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।
सिन्धुलीमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमीतहरूको नाम दर्ता गराउँदै आएको छ । स्वास्थ्य बिमा गराएकाले जिल्लाको पाँच स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । सिन्धुली अस्पताल, दुधौली नगर अस्पताल, लाम्पान्टार प्राथमिक स्वास्थ्य केन्द्र, बेलघारी आधारभूत अस्पताल र कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।
0 comments
Write Down Your Responses