Powered by Blogger.
किन मेरो बिहे हुँदैन?

  • शितल दहाल 

मन्थली बजार र चिसापानी गाउँ जोड्ने तामाकोशी नदिमाथि झुण्डिएको झोलुङगे पुलबाट नदि तर्दै गर्दा सँगैको साथीले पाइला टक्क रोकेर भने,‘तपाईँ नरिसाउने भए एउटा कुरा भन्छु। कुरा केही विशेष उठाउँन खोजिएको छ भन्ने भेउ पाएपछि मैले नरिसाउने बाचा गरे। मेरो नरिसाउने बाचा मुखबाट खस्न नपाउँदै साथीले प्वाक्क मुख खोले– ‘तपाईँ जस्तो केटीको बिहे हुँदैन।’
उमेरले ३० नाघेको। शारीरिक र मानसिक दुबै हिसावले विहेको लागि परिपक्व र योग्य बधुलाई सिधा भाषाको त्यो सम्वाद अपमान झैँ लाग्यो। त्यो शब्दले साँच्चै भन्ने हो भने मुटुमा कसैले जोडले तिर हाने झैँ भयो। मर्ममाथि प्रहार भएको त्यो अप्रत्यासित क्षणलाई नियन्त्रणमा लिँदै र रिसले फुल्दै गरेको आफ्नो स्वास रोकेर धैर्य गर्दै नक्कली हाँसो हाँसेर मैले उल्टै मित्रलाई प्रतिप्रश्न गरे, ‘किन मेरो बिहे हुँदैन?’
खैर, साथीको त्यो तर्क तिर जानुभन्दा पहिले मैले देखेको र भोगेका केहि दृष्टान्तहरू बाँड्न चाहन्छु। यी अनुभवहरु ‘किन मेरो बिहे हुँदैन’ विषयसँग सम्वन्धित छन्। म सानो छँदाको कुरा, मेरो गाउँमा एक जना केटी मान्छे उनको आफन्तको घरमा आउँथिन्। उनी एकदम राम्री लाग्थिन् मलाई।
तर मेरो दाजुहरु उनको कुरा काट्थे, ‘ती केटी राम्री होइनन् बरू खराब हो।’ एक दिन मैले मेरा दाईहरुलाई सोध्ने हिम्मत गरेँ, ’भन त दाई हो, त्यो केटी किन खराव?’ जवाफमा दाईहरुले ‘केटाको जस्तै कपाल काट्ने, केटाको जस्तो जिन्स लाउने र डिंगो बुट लगाउने केटीहरू खराव हुने’ तर्क गरे। म सानै थिँए, मैलै त्यही पत्याएँ। एउटी सुन्दर युवतीलाई मैले पनि मेरो दाजुहरू कै नजरबाट हेरे– खराब केटीको रूपमा।
तर सत्य त्यो थिएन, उनी खराव होइनन् बरू अति सुन्दर मनकी रहिछन्। मैले यस पटक भूकम्पको समयमा त्यो देख्न पाएँ। उनी मेरो गाउँमा आइन् र गाउँका मानिसले पाएको दुःखमा सहानुभूति प्रकट गरिन्। उनले सकेको सहयोगसमेत गरिन्। मैले सानोमा खराव ठानिदिएको केटी कति फरक? उनको कपाल अझै पनि ‘ब्योइज कट’ नै थियो। केटा मान्छेले लाउनेजस्तै पोशाक लाउँदैमा वा केटाको जस्तोगरी कपाल काट्दैमा केटीमान्छे खराव हुने होइन।
शायद, पाइन्ट नै केटीहरूको मुख्य पहिरन भइसकेको आजको युगमा सम्भवतः मेरा दाईहरूले पनि यो कुरो बुझिसके होलान्। जसले प्रत्यक्ष या परोक्ष रूपमा हामीलाई कहिल्यै कुनै प्रकारको हानि नोक्सानी पुर्‍याइनन्। तर, केटाको जस्तो कपाल पारेकै कारण उनी खराव हुन् भन्ने भ्रममा हामी धेरै समय रहि रह्यौँ। त्यो पनि वर्षौँसम्म।
अहिले पनि हाम्रो समाज छोरीमान्छेलाई हेर्ने सवालमा त्यही भ्रममा छ। जसले अन्ततोगत्वा समाजलाई नै पछि पार्छ। समाज अझै पनि सक्षम महिला उत्पादन गर्न चाहँदैन, सवल केटी घर भित्र्याउन मनाही गर्छ। महिलाले लाउने लुगा, महिलाले गर्ने श्रृंगार, कपाल कोराई, हिडाँई–बोलाई, खुवाई सबै कुराको परख गर्छ अनि समाज महिलाई नम्वर दिन्छ यो यति नम्वरकी।
अझ यो भन्दा पनि उदेक लाग्दो कुरा के भने ‘स्मार्ट केटी’ लाई हाम्रो समाज हेर्न मात्रै रूचाउँछ त्यो पनि टिभीमा मात्रै। टिभीमा देखिने बोल्ड क्यारेक्टरको बारेमा बयान गर्छ। त्यो बोल्ड क्यारेक्टरलाई हेरेर कहिले पनि अघाउँदैनन्। तर घरमा कुनै बोल्ड क्यारेक्टर देखियो भने त्यसलाई दबाउनै खोज्छ। हाफ् प्यान्ट लाएर हिँडेको केटीलाई धित् मरुन्जेल हेर्ने पुरुषहरू आफ्नै दिदिबहिनी वा श्रीमतीलाई भने पिजंडाको सुगाझै राख्न खोज्छन्।
महिलामाथि नियन्त्रण, उनले बोल्ने शब्दमाथि टिका टिप्पणी, चार जना पुरूषको बिचमा उभिएर कुनै तर्क गरे बाइफाले भन्ने चलन र संस्कार केही घटेको छ, तर हटेको छैन।
कहिलेसम्म संस्कृतिको नाउँमा महिलालाई अनुशासनको कसीमा जाँचिरहने? के यही कसीमा पुरूषलाई पनि जाँच्न पर्दैन भन्या? मर्यादापालनको जिम्मा महिलालाई मात्रै? पुरूषलाई चाँहि मर्यादामा बस्नुपर्दैन? मर्यादा पुरुष रामले आफ्नी स्त्रीको शरीररको शुद्धताको परीक्षा लिन अग्नी घेरा बनाए। सीता जसैगरि वर्षौ वनवासमा राम पनि त एक्लै थिए। सीता जसैगरि मर्यादाको कसीमा नजाँचीएरै उनी कसरी मर्यादा पुरूष भए?
मनमा लागिरहन्छ। राम त विष्णुका अवतार मानिन्छन्। सायद त्यो परीक्षामा सामेल  भएपनि उनी पास हुने थिए होलान्। तर, विष्मात लाग्ने कुरा यो युगमा पनि साधारण पुरूषहरू महिलाको शुद्धताको परीक्षा लिँदै हिड्छन र, महिलाहरू जीवनभर शरीरको शुद्धताको प्रमाणपत्र च्यापेर बस्न बाध्य छन्। 
तामाकोशी नदि सुसाइ नै रह्यो। नदिमाथि झुण्डिएको पुल र त्यसमा रोकिएका मेरा पाइला स्थिर भए। जवाफ म आफैले पाँएँ, ‘किन मेरो विहे हुँदैन?’ समाजले चाहने जस्तो महिला म होइन। लोग्ने जे–जे भन्छ त्यही कुरा सत्य मान्ने। अन्यायलाई अन्याय र न्यायलाई न्याय भन्न नसक्ने म मृतमूर्ति कदापी होइन। मान्छेको व्यवहार र कर्मलाई प्राथमिक मान्ने म कुर्कुच्चा ढाक्ने लुगा लाएर मात्र अनुशासित भइन्छ भन्ने कुरामा विश्वास गर्दिनँ।
लोग्नेले कमाएको खाएर मेरो जीवन निर्वाह हुन्छ भन्ने पनि मलाई लाग्दैन। जबसम्म मेरो पाखुरी चलि रहन्छन्, कमाई त आफैले गर्नैपर्छ, जीवन निर्वाहका लागि।
म पुरुष सरह काम गर्न सक्छु। म देश र जनताको विषयमा उनीहरुसँग तर्क गर्न सक्छु। अस्तित्व र ईश्वरका बारेमा सवाल जवाफ गर्न सक्छु। अनि अहिलेका लागि म पुलमुनिको यही तामाकोशी नदिमा पौडिएर नदि पार गर्न सक्छु। जुनेली रातमा तामाकोशीको बगरै बगर म निर्धक्क एक्लै हिँड्न सक्छु। पुरुषलाई साथी ठान्दछु, सहयोगी ठान्दछु तर सहारा ठान्दिन। म दानको पात्र होइन। अस्वीकार्य छ मलाई कन्यादानको संस्कार। मैले विवाह गर्ने पुरुष भगवान होइन, सहयात्री हो। समाज संयन्त्रले विवाह पछि महिलालाई विल्कुल परनिर्भर प्राणी ठान्दछ तर मलाई त्यो स्वीकार्य छैन। (साभार सेताे पाटी बाट)


, ,

0 comments

Write Down Your Responses