Powered by Blogger.
माओवादीहरु हो, प्रचण्डलाई बचाऊ !

-गोविन्द आचार्य


यतिखेर माओवादी विरोधीहरु प्रचण्डको अवसान गराएर पुष्पकमल दाहाललाई मात्र जीवित राख्न चाहान्छन् । तर, नेपाली जनता दशवर्ष लामो जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डको खोजी गरिरहेका छन् । प्रचण्डको एक कासनमा सरकारी सुरक्षा क्याम्प कब्जा गर्ने जनसेना, प्रचण्डको आदेशका भरमा मर्न र मार्न तयार हुने सिंगो पार्टी पङ्ती, गाउँ गाउँमा जनसत्ताको अभ्यास गरिसकेका विविध तह र तप्काका जनसमुदाय एवम् न्याय–समानता र मुक्तिको आवाज उठाउने सबै न्यायपे्रमीले अहिले जनयुद्धका सर्वोच्च कमाण्डर उनै कमरेड प्रचण्डको खोजी गरिरहेका छन् । भौतिक रुपमा प्रचण्ड हिजो पनि उनै थिए र आज पनि उनै छन् । तर, वैचारिक, राजनीतिक र संगठनात्मकरुपमा हिजोका प्रचण्ड आज कतै हराइरहेका छन् । उनका समर्थक, शुभचिन्तकहरुले समेत हिजोका प्रचण्ड पाउन सकिरहेका छैनन् ।
आजका प्रचण्ड चौतर्फी घेरावन्दी र आक्रमणमा छन् । उनीमाथि वुर्जुवा वर्ग त ज्यानै फालेर आक्रमणमा लागेको छ नै, साथमा हिजो जनयुद्धकालमा प्रचण्डका सारथी बनेकाहरुसमेत वुर्जुवाहरुकै स्वरमा स्वर मिलाइरहेका छन् । प्रचण्डकै वरिपरी घुम्नेहरुसमेत अहिले उनको वदनामीमा रमाइरहेका छन् । चौतर्फी आक्रमण र घेरामा परेका प्रचण्डलाई उनका सहयोगी भन्नेहरुले त्यहाँवाट निस्कन मद्दत गर्नेभन्दा दोषको भारी उनी एक्लैलाई देखाएर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् । वुर्जुवा वर्ग र माओवादी आन्दोलनभित्रका प्रचण्डका आलोचकहरुको नियत फरक फरक भए पनि यी दुबैले प्रचण्डको पतनमा मात्र आफ्नो भविष्य देखिरहेका छन् । उनीहरु प्रचण्डले राम्रै काम गर्दा पनि त्यसको जस दिँदैनन्, नराम्रो केही भयो कि तीललाई ताड् नै बनाएर उछाल्छन् । अहिले प्रचण्डको पाइला पाइलामा आलोचना गर्नेमा माओवादी आन्दोलनभित्रकै सहयात्री बढी छन् । प्रचण्ड विरोधीसँग भन्दा आफ्नैसँग जोजिन मुस्किन परिरहेको छ । यसरी माओवादी आन्दोलनभित्र देखापरेको अर्काको खुट्टा काटेर आफू अग्लो बन्ने प्रवृत्तिकै कारण आज सिंगो माओवादी आन्दोलन र त्यसले जन्माएको नेतृत्व ठूलो भुमरीमा परेको छ, जसलाई भुमरीवाट जोगाएर अघि नलादासम्म आन्दोलनले उचाई हासिल गर्न सक्ने छैन ।
हो, हिजो यिनै प्रचण्डले सिर्जना गरेको माओवादी आन्दोलन आज दिशाहीन अवस्थामा छ । हिजो प्रचण्डले निर्माण गरेको बलियो पार्टी आज तितरवितर छ । जनसत्ता र जनसेना त पुरै विघटित नै भइसकेका छन् । प्रचण्डको हेडक्वार्टर वरिपरी गोलबद्ध हजारौ पार्टी कार्यकर्ता आज निराशा, कुण्ठा र अकर्मन्यता व्यक्त गरिरहेका छन् । उनीहरु जनयुद्धकै बलमा प्राप्त भएका गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षतासहितका महान् उपलब्धीहरुको समेत निर्धक्क स्वामित्व लिन सकिरहेका छैनन् । यस्तो अवस्थामा सबैतिर जोडदारढंगले प्रश्न उठिरहेको छ– के माओवादी आन्दोलन फेरि नयाँ ढंगले अघि बढ्ला ?, के कमरेड प्रचण्डले तितरवितर भएका माओवादी क्रान्तिकारीहरुलाई एकत्रित गर्दै आन्दोलनको नेतृत्व गर्न सक्लान ?, के प्रचण्डसहितका प्रमुख नेताहरु आफ्ना कमि कमजोरीवाट पाठ सिकेर सच्चिएर अगाडि बढ्न सक्लान ? अहिले यस्ता दर्जनौ प्रश्न आम कार्यकर्ता र शुभचिन्तकहरुका मनमनमा उब्जिएका छन् ।
प्रचण्डप्रति माओवादी आन्दोलनका नेता, कार्यकर्ता र शुभेच्छुकका जतिसुकै प्रश्न, गुनासा र आलोचना भए पनि उनीहरुको आशा भने प्रचण्डबाहेक अरुमा छैन । अहिले पनि विभिन्न धारामा रहेका माओवादी कार्यकर्ताहरु भन्ने गर्छन् – ‘केही गर्छन् भने प्रचण्डले नै गर्छन्, अरुको त आश पनि छैन ।’ यसरी जसवाट बढी अपेक्षा गरिएको हुन्छ, आलोचना पनि उसैलाई नै बढी हुने गर्छ । आफूले विश्वास र भरोसा गरेको नेता नव्रिगियोस्, सफल होस् र कहिल्यै गल्ती नगरोस् भन्ने कामना गरिएको हुन्छ, जुन कुरा प्रचण्डको सन्दर्भमा पनि स्वभाविकै हो । प्रचण्डले हिजो जनयुद्धपूर्व क्रान्तिकारी पार्टी निर्माणका लागि नेतृत्व गरें । विभिन्न धारका क्रान्तिकारीहरुको एकतापछि जनयुद्ध सुरुवात गर्न लागि परे । उनले जनयुद्ध सुरु गर्नुपर्छ भन्दा उनको आलोचना र सम्वन्ध विच्छेद नै गर्नेहरु समेत अहिले आफूलाई बडो क्रान्तिकारी र प्रचण्डलाई ढुलमूले भनिरहेका छन् । यसरी जनयुद्धका सुरुवातकर्ता, सर्वोच्च कमाण्डर, शान्ति प्रक्रियाका प्रमुख नेता एवम् संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापनाकर्ता समेत भएकाले प्रचण्डप्रति केही बढी अपेक्षा रहनु स्वभाविकै हो । फेरि हालका समकालीन नेताहरुमध्ये प्रचण्डमा जति दुरदर्शिता, सिर्जनासिलता, दृढता र जिम्मेवारीवोध अरु कसैमा देखिँदैन । सायद प्रचण्डमा यिनै गुण भएकाले होला, सबैभन्दा बढी अपेक्षा र आलोचना दुबै उनीमाथि हुने गरेको ।
दोस्रो संविधानसभामा एमाओवादीले ठूलो हार व्यहोरेपछि पनि आम जनताले यो देशमा नयाँ संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्रको सस्थागत विकास, स्थायित्व र प्रगतिका लागि अझै केही वर्ष प्रचण्डको आवश्यकता महशुष गरेका छन् । प्रचण्ड पनि मान्छे भएका कारण उनीवाट गल्ती हुने कुरालाई स्विकार्न सकिन्छ, तर प्रचण्डमा गल्ती सच्चाएर अघि बढ्नसक्ने जुन क्षमता छ, त्यसले पनि उनको नेतृत्वको आवश्यकताबोध हिजोभन्दा आज अझ बढेको छ । नेपाली राजनीतिको अहिलेको वास्तविकता भनेको अध्यक्ष प्रचण्डको अनिवार्यता हो । सायद यो तथ्यलाई प्रचण्ड स्वयंले पनि अनुभूत गरेको हुनुपर्छ । तथ्य यो पनि हो कि प्रचण्डको आलोचना गर्ने समूह नै विश्वस्त छ देश बनाउने सामथ्र्थ प्रचण्डसँग छ । प्रचण्डमा जस्तो गतिशीलता नेपालका अरु कुनै नेतामा देखिदैंन । एमाओवादी वाहेक अन्य दलका कार्यकर्तासमेत आफ्नै नेताप्रति विश्वस्त छैनन, जति प्रचण्डसँग छन् । एकपटक कांग्रेसका युवा नेता गगन थापाले भनेका थिए–‘हाम्रो पार्टीको भूमिका प्रचण्डले दिएको होमवर्क गर्नुमै सीमित छ ।’ सभामुख सुवास नेम्वाङले त –‘नेपाली नेतामा प्रचण्ड फुटबलर मेसी जस्तै हो ।’ भनेर उनको संयोजनकारी भूमिकाप्रति टिप्पणी गरेका थिए ।
प्रचण्डलाई नेपालमा एउटै लोकतान्त्रिक कम्युनिष्ट पार्टी बनाउने चुनौति पनि छ । देशभित्रका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एउटै झण्डामुनी गोलवन्द पार्ने र नेपालमा बहुसख्यक कम्युनिष्ट जनताको सपना साकार पार्ने अभियान सफल पार्न सके प्रचण्ड साच्चैको राजनेता बन्न सक्नेछन् । विश्व कम्युनिष्ट आन्दोलन र नेपालकै आन्दोलनमा समेत सबैखाले गुण भएका नेता सितिमिति जन्मदैनन् । ठूलो त्याग, वलिदान र तपस्याले मात्रै नेता जन्माउछ । नेपालमा पनि जनयुद्ध र जनआन्दोलनको राप र तापवाट जन्मेका नेता हुन् प्रचण्ड । प्रचण्ड आफैमा व्यक्ति मात्र होइनन्, उनी संस्था हुन् । देशको आवश्यकता र आन्दोलनको विकासवाट अहिले नेपालले प्रचण्डलाई पाएको छ । झण्डै चार दशक लामो आन्दोलनवाट खारिएका प्रचण्ड जस्ता नेता पाउनु हामी सबै नेपालीका लागि गर्वको कुरा हो । प्रचण्ड जस्तो आफ्नै मौलिक पहिचान भएका राष्ट्रवादी नेतालाई कुनै पनि हालतमा बचाउनु माओवादी नेता, कार्यकर्ताको दायित्व हो ।
कतिपय कमि कमजोरीका बावजुद समकालीन नेपाली राजनीति र देशको निर्विकल्प नेताका रुपमा भोली पनि प्रचण्डलाई सबैले स्विकार्ने अवस्था कायमै छ । यस अवस्थामा उनलाई पुष्पकमल दाहाल मै सीमित गराउन खोज्नु भनेको उनको सस्थागत हैसियतलाई नामेट पार्नु हो । संस्था बनेका प्रचण्डलाई जोगाउने हो भने उनको सामुन्ने प्रसंशा गाएर साखुल्ले बन्ने तर वाहिर वाहिर खेदो खनिरहेकावाट सतर्क रहनै पर्छ । पार्टीलाई गुट उपगुटमा वदल्ने, कार्यकर्ता र जनताका बीचमा होइन नेतृत्वकै वरिपरी घुम्न रमाउने तथा पार्टी र आन्दोलन भाडमा जाओस् तर आफ्नो भलो हुनुपर्छ भन्नेहरुवाट प्रचण्ड सतर्क हुनै पर्छ । उनले विगतका गल्ती केलाएर त्यसवाट पाठ सिक्दै आफ्नो पंङ्तिभित्र विश्वास आर्जन गर्न सक्नै पर्छ । यसो हुन सक्यो भने विगत जनयुद्ध, शान्ति प्रक्रिया हुँदै अहिलेसम्मको दुई दशकसम्म राजनीतिको केन्द्रमा रहेका प्रचण्ड र उनी नेतृत्वको पार्टी आगामी दुई दशकसम्म पनि सत्ता राजनीतिको केन्द्रमै रहने कुरामा कुनै शंका रहन्न ।(काठमाडाैं पाेष्ट डटकम बाट)


,

0 comments

Write Down Your Responses