राष्ट्रिय झण्डा बाकेर क्रान्तिकारी लिपुलेक हिँडे
बैद्यले भने-छिमेकी चोर भएपछि हैरान भइयो
२३ साउन, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले दिएको नेपालको राष्ट्रिय झण्डा बाकेर अखिल क्रान्तिकारीका विद्यार्थीहरु लिपुलेकतर्फ लागेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा ४२ जनाको केन्द्रीय टोली शनिवार बिहान काठमाडौबाट दार्चुलातर्फ हिँडेको हो ।

चितवन, बुटवल, कोहलपुर र धनगढीमा छलफल तथा अन्तरक्रिया गरी दार्चुला पुग्ने कार्यक्रम रहेको क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले बताए ।
टोलीमा चितवनमा कोचिला तथा लिम्बुवानका तथा बुटवलबाट अवध तथा मगराँत र कोहलपुरबाट थारुवान र भेलीकर्णालीका विद्यार्थी प्रतिनिधि थप भई १ सय ४७ जना प्रतिनिधि दार्चुला पुग्ने अधिकारीले बताए ।
साउन २६ गते दार्चुला सदरमुकाममा वृहत्त सभा गरी जिल्ला प्रशासनको स्वीकृति लिएर उनीहरु लिपुलेकतर्फ जाने छ ।
भारत र चीनलाई खबरदारी गर्दै लिपुलेकमा झण्डा गाड्न हिँडेको टोलीलाई नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले शुक्रवार राजधानीमा एक कार्यक्रम गरी राष्ट्रिय झण्डा दिएर विदाइ गरेका छन् । विदाइका क्रममा बैद्यले छिमेकीहर चोर भएपछि हैरान हुनुपरेको बताएका थिए ।
भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीका लागि दबाब दिन क्रान्तिकारीले देशब्यापीरुपमा हस्ताक्षर अभियान पनि सञ्चालन गरेको जनाएको छ ।
लिपुलेकबाट फर्किएपछि देशभरबाट १० लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको क्रान्तिकारीका अध्यक्ष ढकालले बताए ।
0 comments
Write Down Your Responses