Powered by Blogger.
मार्ने र मर्ने होडबाजी अन्त्य गरौं


  • फणीन्द्र फुयाल ज्वाला

संविधान जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाबेला असन्तुष्ट दलहरुले संविधान सभा छाड्ने क्रम बढेको छ । संविधान सभावाट संविधान जारी गर्ने मिति नजिकिदै गर्दा देश फेरी अन्यौलताको भूमरीतर्फ लम्किदै गएको छ । संविधान सभामा भाग लिएका राजनीतिक दलहरु सभावाट बाहिरिदै जानुले पनि संविधान जारी भईहाले पनि त्यसलाई कति दल र कति जनताले मान्यता दिने हुन ? कति अवधि सम्म उक्त संविधान लागू होला भन्ने विषयमा अहिलेदेखि नैं चर्चा परिचर्चा सुरु हुन थालिसकेको छ ।
नेकपा (एमाले), नेपाली काँग्रेस, एनेकपा (माओवादी) को संविधान निर्माण गर्ने चार दलिय मोर्चाबाट बिजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अलग भईसकेको छ । अहिलेसम्म उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम, महन्त ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, महेन्द्र राय यादव नेतृत्वको तमसपा, शरदसिंह भण्डारी नेतृत्वको रामसपा संविधान सभाबाट बाहिरिएका छन् । यस्तै थरुहट तराई पार्टी, फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाबाट अलग भैसकेका छन् ।
संविधान सभाको निर्वाचनमा भाग नलिएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायतको ३३ दलिय मोर्चा, विप्लव माओवादी, अन्य जातिय, क्षत्रिय मोर्चाहरु पनि अहिलेको संविधान निर्माण प्रक्रियाप्रति प्रति सन्तुष्ट छैनन् । वैद्यको ३३ दलिय मोर्चाको माग छ, सर्वदलिय छलफल र संवादद्धारा वर्तमान समस्या हल गर्नुपर्छ ।
यता कमल थापाको राप्रपा नेपाल पनि संविधान सभा छाड्ने चेतावनी दिंदैआएको छ । भर्खरै संविधान सभा छोडेको फोरम लोकतान्त्रिक मोर्चामा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको सद्भावना पार्टी पनि समावेश भईसकेका छन् । संविधानलाई अग्रगामी बनाउन नयाँ राजनीतिक सहमतिका लागि निरन्तर प्रयत्नशील रहँदै चलिरहेको शान्तिपूर्ण जनआन्दोलनलाई सफल बनाउने उक्त मोर्चाले निर्णय गरेको छ । यथास्थितिमा घोषणा हुने संविधानले देशमा शान्ति र स्थिरता कायम गर्न नसक्ने र मुलुक पुनः राजनीतिक द्वन्द्व र मुठभेडमा जाने निष्कर्ष निकाल्दै परिस्थितिको गम्भीरतामाथि विचार गर्न सरकार र सत्ताधारी दललाई फोरम लोतान्त्रिकले आह्वानसमेत गरेको छ । 
आन्दोलनरत पक्षलाई वार्ता, संवाद, सहमति र छलफलद्धारा समस्या हल गर्न सरकारले आग्रह गरिरहेको छ तर आन्दोलनरत पक्षहरु वार्ताको टेवलमा बसेर समस्याको हल गर्न तयार छैनन् । आन्दोनकारीहरुले शान्तिपूर्ण भनिएको आन्दोलनमा कैलालीको टीकापुरदेखि नै घरेलु हतियार प्रयोग हुने, प्रहरीमाथि ढुंगा र भाला प्रहार हुने र यसलाई हिंसात्मक एवं उत्तेजक बनाउने कार्य गरिरहेका छन् । आयोजक मधेसी मोर्चाका नेताहरुले पनि शान्तिपूर्ण आन्दोलन गरेको बताउँदै आएका छन् । तर, उनीहरुको प्रदर्शनमा घरेलु हतियारसमेत प्रयोग हुँदै आएको छ । सरकारी एवं निजी सम्पत्तिमाथि आगजनी र तोडफोडलाई मोर्चाका नेताहरुले रोक्न सकेका छैनन् जसले गर्दा सरकारी सम्पत्ति जोगाउने कार्यमा सरकारी सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य छ ।
कैलालीदेखि नै सुरु भएको घरेलु हतियारको प्रयोग महोत्तरीसम्म आइपुग्दा प्रहरीलाई नियन्त्रणमा लिएर हत्या गर्ने तहसम्म ओर्लिएको छ । संघियताको सिमांकन जारी भईसकेपछि देशमा बिगतको जनयुद्ध जस्तै गरी तीव्र गतिमा मानिस हात्या गर्ने श्रृंखला बृद्धि भएको छ । हाल सम्म ३ दर्जन भन्दा बढि नेपाली जनताको ज्यान गईसकेको छ ।

शान्तिपूर्णं भनिएको तराई आन्दोलनमा भूमिगत ज्वाला सिंहको र देश खिण्डन गर्ने धम्कि दिईरहेका सिके राउतहरुको पनि सहभागिता रहेको प्रस्ट छ । आन्दोलनकै क्रममा ज्वाला सिंहले एक विज्ञप्ती जारी गर्दे आन्दोलनमा घरेलु हतियारको प्रयोग गर्न तराईबासीहरुलाई आग्रह गर्नुले पनि ज्वाला सिंहका कार्यकर्ताको सहभागिता रहेको सहजै अनुमान गर्न सकिन्छ । ज्वाला सिंहले उर्दि जारी गरे जस्तै यो आन्दोलनमा घरेलु हतियारको ब्यापक रुपमा प्रयोग भएको छ । सिके राउतले पनि आन्दोलनमा आफ्ना कार्यकर्ता गिरफ्तार परेको भन्दै जुलुसमा आफ्नो समूहको सहभागिता रहेको पुष्टि गरिसकेका छन् । यीनै प्रमाणहरु काफि छन् कि तराईको आन्दोलन अराजक र नियन्त्रणहिन बन्दै गईरहेको छ । 
जसरी २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा तत्कालिन बिद्रोही नेकपा माओवादीको सहभागिता रहेको थियो त्यसैगरी अहिलेको तराई आन्दोलनमा पनि मधेसी नेताहरुलाई तराईका बिभिन्न भूमिगत समूहहरुले सघाईरहेका छन्, त्यसैले मधेसवादी दलका नेताहरु सरकार संग वार्ता गर्दे जनहत्याको श्रृंखला बन्द गर्ने मनस्थितीमा नदेखिएका हुन् । सरकारले संविधान निर्माण प्रक्रिया स्थगित गर्दे वार्ताका लागि आवहन गर्दा समेत आन्दोनकारी शक्तिहरु वार्ताको टेबलमा आउन आनाकानी गर्नुले के कुराको संकेत गर्छ भने बाहिर पृष्ठभूमीमा देखिएका मधेसवादी दलको मात्र नियन्त्रणमा अव यो आन्दोलन छैन । शान्तिपूर्णं भनिएको यो आन्दोलनमा घूसपैठ भएको छ, हतियारको चलिरहेको छ, र राजावादीहरुको पनि भौतिकरुपमै सहयोग र समर्थन रहेको छ । 
मधेस आन्दोलनलाई हिंसात्मक बनाउदै अनियन्त्रित बनाउने र मधेसवादी दलका नेताहरुलाई वार्तामा आउन नदिने खेलमा अन्य समूहरुको पनि उत्तिकै सहभागिता रहेको सहजै अनुमान गर्न सकिन्छ । केहि दिन अधि मात्रै आन्दोनकै बीचमा हिन्दू राष्ट्रको माग गर्दे काँग्रेस नेता खुमबहादुर खड्काले सुनसरीको ईटहरीमा पुगेर सम्बोधन गरेका थिए । जहाँ भारतीय हरुको सहयोग रहेको थियो । देशको तराई क्षेत्रको सीमा खुला रहनु र आफुहरुको आन्दोलनभर नेपालललाई केहि सामानहरु नपठाई सिमा बजार ठप्प पार्न मधेसी नेताहरुले वीरगञ्जमा सार्वजनीक भाषण गरेर भारतीय पक्षलाई आग्रह पनि गरिसकेका छन् । सरकारले पनि तराईको आन्दोलनमा विदेशीहरुको चलखेल भएको बताईरहनु र भारतीय राजदूतकै ईशारामा दलका नेताहरु चल्नु पनि शंकास्पद बनेको छ । 
फेरी संविधान जारी गर्न ढिला भयो भने राजतन्त्र फर्किने सक्ने संभावना प्रवल रहेको एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले पनि सार्वजनीकरण गरिसकेका छन् । संविधान बन्नै लाग्दा पूर्व राजा ज्ञानेन्द्र दिल्ली प्रस्थान गर्नु, बैंकक भ्रमणमा निस्किनु पनि रहस्यमय बन्दै गएको छ । अरु बेला चुपचाप बस्ने ज्ञानेन्द्र सम्वेदनसिल घडीमा पुजा आजा र मन्दिर दर्शनको बहानामा देशका बिभिन्न स्थानहरु चहार्दै हिड्नु पनि शंकास्पाद रहदै आएको छ । 
त्यसैले यदि तराईका आन्दोलनकारीहरुले आफुलाई राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्ने हो भने र आफ्ना जायज मागहरु हल गर्ने हो भने सरकार संग निहुँ खाजेर खुनको बदला खुनको भावना राख्नु हुदैन । ५० लाखको मूल्य तोकेर निहत्था नेपाली जनतालाई प्रहरीसंग मूठभेडमा जवर्जस्ती पठाउने मूखर्ता गर्नु ठिक छैन । यदि देश र जनताको लागि राजनीति र आन्दोलन गर्ने हो भने सरकार संग वार्ताको बिकल्प बाँकि नैं छ, वार्ता नैं समस्या समाधानको उत्तम बिकल्प भएकाले सवै आन्दोलकारी दल र शक्तिहरु सरकारले आहन गरेको समय सिमा भित्र वार्तामा आएर आफ्ना जायज मागहरु राख्नुको बिकल्प देखिदैन । सरकारले पनि वार्तामा बोलाएर उचित मागहरु सम्बोधन गर्ने बाचा गर्ने मात्र होईन ती बाचाहरु, सम्झौताहरु र सहमतीहरु कार्यान्वयन गर्नु पर्छ । 
अव देशमा आन्दोलन होईन दीगो बिकास चाहिएको छ । नेपाली जनता आजित भईसके, उनीहरुलाई आर्थिक उन्नती चाहिएको छ, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता अत्याबश्येक विषयहरुमा अव दल र जनता एक भई अगाडी बढ्ने समय ढिला भईसकेको छ । त्यसैले मार्नै र मर्ने होडबाजि अन्त्य गारौं ।


,

0 comments

Write Down Your Responses