Powered by Blogger.
शक्तिकेन्द्रमा भावी प्रधानमन्त्रीको खोजी शुरु

काठमाडौं, २८ भाद्र । नयाँ संविधानका लागि निर्णायक प्रक्रिया शुरु भएलगत्तै भावी सत्तासमीकरणमाथिको छलफल भित्र–भित्र शुरु भएको छ । यस्तो समीकरणको अनौपचारिक छलफलसँगै भावी प्रधानमन्त्रीको खोजि पनि शुरु भएको छ ।
प्रमुख चार दलवीच भएको १६ बुँदे सहमतिमा नयाँ संविधान घोषणापश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसद्बाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम हुने गरी व्यवस्था गरिने उल्लेख छ । यसैका आधारमा नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको हो । यद्यपी प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन पनि हुनेछ ।

दौडमा को-को छन् ?

केपी शर्मा ओली

भावी प्रधानमन्त्रीको रुपमा सवैभन्दा बढी चर्चा एमाले अध्यक्ष केपी ओलीको हुने गरेको छ । काग्रेससँग सरकार गठन गर्दा भएको सहमतिका आधारमा आफ्नो पार्टी अध्यक्ष नयाँ संविधान जारीपछि प्रधानमन्त्री हुने एमालेको विश्वास छ । संविधान जारी भएपछि सहमतिको सरकार बन्ने सम्भावना कम रहेको राजनीतिक विश्लेशकहरु बताउँछन् । यस्तो अबस्थामा काग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्न कठिन हुने एमालेकै केही नेताहरु बताउँछन् ।
ओलीसँग बहुमतका आधारमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने विकल्प छ । काग्रेसले आफ्नो पार्टी सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाएर शितलनिवास पठाउने र ओलीलाई प्रधानमन्त्री बनाउने विकल्प कायम छ । यसबाहेक एकीकृत माओवादीसँग मिलेर बहुमतको सरकार बनाउने विकल्प पनि एमालेसँग छ । तर, एकीकृत माओवादीको मात्र मतले बहुमत नपुग्ने भएकाले एमालले तराई–मधेश केन्द्रित केही दलको समर्थन जुटाउनुपर्ने हुन्छ । तर, अहिले संविधान निर्माण प्रक्रियामा सहभागी नभएका उनीहरु सरकार गठनमा सहभागी भैहाल्ने सम्भावना कम छ ।

शेरबहादुर देउवा

सहमतिको सरकार गठन भएन भने प्रधानमन्त्रीका लागि काग्रेस नेता शेरबहादुर देउवा बहुमतको सरकार गठनका लागि अगाडि सर्ने सम्भावना छ । यस्तो अबस्थामा उनलाई एमालले सहयोग गर्ने सम्भवाना कम छ । तर, एकीकृत माओवादीसँग सहकार्य गरेर बहुमतको सरकार बनाउन सक्ने काग्रेससँग विकल्प छ । यस अघि दिल्ली भ्रमण गरेर उनले दक्षिण छिमेकीसँग आफ्नो सम्बन्ध विस्तार गरिसकेका छन् । देउवा प्रधानमन्त्री बन्ने–नबन्ने एकीकृत माओवादीको समर्थनमा भर पर्नेछ ।

प्रचण्ड

प्रधानमन्त्रीका दौडमा आउन सक्ने अर्का नेता एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पनि हुन । काग्रेस–एमालेवीच सहमति वा बहुमतीय सरकार गठनमा सहमति नबने तेस्रो विकल्पका रुपमा प्रचण्ड अगाडि आउन सक्छन् । माओवादीले आफ्नो नेता प्रधानमन्त्री बन्ने सर्तमा जोसँग पनि समझौता गर्न सक्छ । पहिलो संविधानसभामो तेस्रो पार्टी एमालेका दुई नेता माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भएका थिए । तेस्रो शक्ति रहेको एमाओवादीले काग्रेस–एमाले नमिले सत्तासमीकरणमा आफ्नो निर्णायक भूमिका हुने अनुमान गरेको छ ।

दुई शक्ति निर्णायक

भावी प्रधानमन्त्रीका लागि दुई शक्ति निर्णायक तहमा आउने सम्भवाना देखिएको छ । सहमतिको सरकार गठन नहुने अबस्थामा एकीकृत माओवादी र दक्षिण छिमेकी नयाँ प्रधानमन्त्री चयनमा निर्णायक बन्न सक्ने स्रोत बताउँछ । काग्रेस–एमाले नमिल्ने अबस्थामा बहुमतका लागि एकीकृत माओवादी चाहिने भएकाले उ निर्णायक शक्तिका रुपमा आउनेछ । त्यसबाहेक अन्तराष्ट्रिय शक्ति सन्तुलन खास गरेर दिल्लीको सद्भाव नयाँ प्रधानमन्त्री चयनमा एउटा महत्वपूर्ण फ्याक्टर बन्न सक्ने स्रोतहरु बताउँछन् ।

१६ बुँदे सहमतिमा राष्ट्रपतिदेखि उपसभामुखसम्मको खोजीवारे

शासकीय स्वरुप

– नयाँ संविधान घोषणापश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसद्बाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम हुने गरी व्यवस्था गरिनेछ ।
– नयाँ संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रुपान्तरित व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद्को गठनसम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिनेछ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखविरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान, २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिनेछ ।(साभार राताेपाटी डटकमबाट)


, ,

0 comments

Write Down Your Responses