Powered by Blogger.
प्रचण्डको महानता या नयाँ केशरजंगको अवतार ?

सीताराम भट्टराई

समसामयिक राजनीतिबारे एमाओवादी अध्यक्ष प्रचण्डको धारणा आफू कार्यरत साप्ताहिक पत्रिका जनआस्थाबाट सार्वजनिक भएलगत्तै बिगतमा उनकै नेतृत्वमा जनयुद्धको मोर्चामा सँगै हिँडेका एक मित्रले प्रश्नात्मक शैलीमा फोनमार्फत प्रतिक्रिया दिए- सीतारामजी, पुष्पकमल दाहाललाई केशरजंग रायामाझीको नयाँ अवतार भने कसो होला ?
आइतबारदेखि मिडियाले अत्यधीक ‘ग्लोरीफाइड’ गरेका प्रचण्डमाथिको यो टिप्पणी वास्तवमा नै मननयोग्य छ ।
उनी किन एकाएक सबैको ‘हाईहाई’ भए ? के वास्तवमा नै संविधान घोषणा प्रक्रियालाई पूरा गरेरै छाड्ने र यसबीच कसैलाई नसुन्ने उनको निर्णय अत्यन्तै ऐतिहासिक र अपरिहार्य थियो ? उनको गुणगानमा आˆनो अमूल्य वाणी खर्च गर्ने समूह र तप्का कुन वर्गमा पर्छन् ?
उनी हिँडिरहेको दिशामा निसन्देह मुलुक अघि बढ्ने हो भने त्यसबाट मुलुकको समग्र हित हुने पक्का छ ? र, सबैभन्दा महत्वपूर्ण प्रश्न-बिगतमा आफैंले खनेका गोरेटाहरुलाई प्रचण्डका पछिल्ला कदमहरुले सम्मान गरिरहेका छन् ? यी प्रश्नहरु यतिबेला चर्चायोग्य बनेका छन् ।
कतिपयले प्रचण्डले सबै पाप नै पखालेर बिगतका सबै गल्तीहरुलाई क्षमा गर्न योग्य बनाई अद्वितीय कार्य गरे भने झैँ गरी प्रचार गरिरहेका छन् । प्रचण्डको नाम सुन्दैमा नाक खुम्च्याउने ‘विद्वत वर्ग’ अहिले दाहालले आफु नेता भएको प्रमाणित गरेर देखाए भन्दै प्रसंशा गरिरहेका छन् । प्रचण्डकै सारथी बाबुरामलाई भने खुइल्याउने काम भैरहेको छ ।
फेसबुकको भित्तो आवेगपूर्ण टिप्पणीले रंगाउने बाबुरामको रहर निश्चय नै उनीप्रतिको बढ्दो आक्षेपको कारण हो । तथापि उनका विचार, विश्लेषण र प्रतिक्रियामा निहितार्थ सैद्धान्तिक बैचारिक पक्षको भने बेग्लै समीक्षा हुन सक्छ ।
तर, प्रचण्डले अहिले पाइरहेको वाहीवाहीबारे यतिमात्रै बुझे पनि काफी हुन्छ चोरले साधुको प्रशंसा गर्नुको अर्थ साधुले सत्य छोड्यो भन्ने हुन्छ ।
चरित्रमा मेल खानेले नै हो प्रसंशा गर्ने । प्रचण्डलाई यतिबेला महान् भन्ने अधिकांश मध्यम वर्गीय अवसरवादीहरु छन् । त्यो समुह, वर्ग, र चिन्तकहरुको मुहार अहिले हँसिलो भएको छ, जसलाई सधै नेपाली समाजले प्रगतिशील फड्को मार्ने पो हो कि भन्ने चिन्ताले पिरोलिरहेको थियो ।
यथास्थितिवादीले आˆनो लुटतन्त्र अन्त्यको खतरा देखेका थिए । तर, उनकै शब्दमा ‘गम्भीर चिन्तन’ पछि लिएको प्रचण्ड निर्णयले त्यो सम्भावना टर्‍यो भन्ने त्यो तप्काको विश्लेषण चाहिँ निसन्देह वस्तुपरक छ । र, उनीहरु रमाउनु स्वाभाविक हो । चिन्ता त त्यो समुदायलाई छ, जो अमेरिका र चीनबीच सम्बन्ध सु”एिपछिको खम्पाहरु झैँ अनाथको अवस्थामा असोज ३ गते पछि बैधानिक रुपमा नै पुग्दैछन् ।
यसमा कुनै शंका छैन कि माओबादीले स्थापित गरेका जे जति जनपक्षीय एजेन्डाहरु थिए तीमध्ये अधिकांशको सम्बोधन नयाँ संबिधानले गरेको छैन र त्यसलाई पूरा गराउन प्रयत्न गर्ने शक्तिले ती सबै एजेन्डा र त्यसबाट लाभान्वित हुने समुदाय र वर्गलाई नराम्ररी धोका दिएको छ ।

अर्को महत्वपूर्ण कुरा, प्रचण्डले मुलुकलाई अब जुन दिशामा डोर्‍याउन खोजेका छन्, त्यो मार्गबाट समग्र मुलुक र मुलुकबासीको हित हुन्छ वा हुँदैन भन्ने नै हो । किटानीका साथ भन्न सकिन्छ, प्रचण्ड नेतृत्वमा सम्पन्न संबिधान लेखनको यो प्रक्रियाले मुलुकको काँचुली फेरिने ग्यारेन्टी चाहिँ छैन ।
यो तर्कलाई बलियो पार्ने तथ्य के हो भने ०४८ पछि मौलाएको भ्रष्टीकरणले एमाले र कांग्रेसको नेतृत्वप्रति जनताको आस्था, विश्वास र भरोसामा अत्यन्त तिब्र गतिमा ह्रास आएको छ । त्यसैले ०५२ सालमा विकल्पको खोजीका क्रममा जनयुद्धको थालनी भयो र अकल्पनीय ढंगले त्यसको बिकास भयो । तर, बिडम्बना, अहिले दुई दशकपछि विकल्प खोजीको त्यो सिलसिलामा उपलब्धिविहीन पूर्णविराम लाग्दैछ, भ्रष्टीकरणका सामु ‘क्रान्तिकारी’ हरुले आत्मसमर्पण गरेका कारण ।
त्यसो त स्वयं एमाओवादी पनि जनताबाट अनपेक्षित बहिस्कारमा परेको धेरै भएको छैन । आफुलाई प्रचण्डकै गतिमा दायाँ ढल्काउन नसकेकाहरूले एमाओवादीको उदयसँगै एउटा कालखण्डमा अस्तित्व नै संकटमा परेको एमाले-कांग्रेसको उही पुरानो नेतृत्व प्रचण्डकै कारण फेरि एकपटक पुनस्र्थापित भयो र अहिले आएर निर्विकल्प बन्यो भनी उनको आलोचना गर्नुलाई पनि अपराध भन्न मिल्दैन । न त जडसूत्रवादीको बिल्ला भिराएर उनीहरुको अपमान गर्नु नै न्यायसंगत मान्न सकिन्छ ।

भनिरहनु पर्दैन, पूर्णरुपमा असफल भइसकेको नेतृत्व हो यो, जसले बिगत २६ वर्षयता मुलुकमा ब्रम्हलुट मात्र मच्चाइरह्यो । तीस वर्षमा लि क्वानले सिंगापुरलाई कहाँबाट कहाँ पुर्‍याए ? लगभग त्यतिकै समयमा हाम्रा महान् अर्थशास्त्री डा. रामशरण महतको अर्थनीतिले मुलुकलाई कति कमजोर र जर्जर बनायो ? तुलना गर्दा प्रचण्डको सुनपानी छर्केर उही पुरानो नेतृत्वको पतैया गर्ने कर्मकाण्डको स्वाहा स्वस्तिमा समृद्ध नेपाल बनाउने चाहना र वर्गीय उत्पीडनबाट मुक्त हुने सपना फेरि पनि जलेर खरानी भयो भन्ने प्रष्ट छ ।
आफैंले स्थापित गराएका मान्यताहरुमा प्रचण्ड कति हदसम्म अडिग रहन सके भन्ने कुराले पनि उनी अहिले सही या गलत बाटोमा हिँडिरहेका छन् भन्ने कुराको मापन गर्न सकिन्छ । जातीय राज्यहरुको सपना बाँड्दा उनले त्यसलाई सैद्धान्तीकरण गर्ने प्रयत्न गरेका थिए । तर, अहिले आफुले त्यसलाई स्थापित गर्न नसक्दा उनी भन्दैछन्-कतिपय असम्भव सपना र आश्वासन हामीले विगतमा बाँडेछौं, अहिले महसुस हुँदैछ, हामीले वस्तुवादी कुरा गरेनछौं । प्रचण्डले गल्ती स्वीकार त गरे, तर के उनले भूल भएछ भनेझैँ सहज छ र मधेस, जाति-जनजातिको हालको असन्तुष्टि सम्बोधन गर्न ?
अझ प्रचण्डले त यो घडीमा चौबाटोमा उभिएर ०५२ देखि ०६३ सम्म भएको लगभग १७ हजारको मृत्यु जायज थियो भन्न सक्नुपर्छ । तर, के उनी त्यो प्रमाणित गर्न सक्छन् ? अहँ, सक्दैनन् ।
निश्चित छ, मुलुकको काँचुली फेरिन्छ भन्ने भ्रममा बगेको रगतको मूल्य प्रचण्डका लागि निकै महंगो पर्नेवाला छ । आफुलाई कम्युनिस्ट भनेर दाबी गर्न सक्ने नैतिकता भएकाहरुले यदि प्रचण्डलाई नेपाली कम्युनिस्ट आन्दोलनका गद्दार करार गरे भने उनीहरुले प्रशस्तै प्रमाणहरु तथ्यको आधारमा प्रस्तुत गर्न सक्छन् ।
आखिर गणतान्त्रिक नेपालका नयाँ राजाहरु -एमाले-कांग्रेसको वर्तमान नेतृत्व) समक्ष प्रचण्डले आत्मसमर्पण गरेकै हुन् । तसर्थ हिजो बन्दुक बोकेर हिँडेका मित्रले प्रचण्डलाई केशरजंगको नयाँ अवतार भन्नुलाई अतिशयोक्ति भन्न मिल्दैन ।
झापातिरका किसानहरुले ०२८ सालतिर एउटा गीत गाउने गरेका थिए- ‘लौ जुटाउँ संघर्ष किसान मिलेर/ माझीजस्तो बजियालाई लात्तले हानेर ।’ अब यो गीतको नयाँ संस्करण चाँडै गाउँटोलमा गुन्गुनाइयो भने त्यो शायदै अनौठो हुनेछ ।(साभार अनलाइन खबर डटकमबाट)


,

0 comments

Write Down Your Responses