Powered by Blogger.
पुँजीबादले महिलाहरूलाई ब्यूटीसियन बनाएर लुट्दै छ


गंगा दाहाल 

महिलाहरू आर्थिक, सामाजिक र मानसिक रूपमा कमजोर हुनुको एउटा मात्रै कारण छ त्यो हो राजनीतिक कारण। राजनीतिमा जबसम्म महिलाहरू शसक्त रूपमा अघिबढ्न सक्दैनन् तब सम्म महिलाको बिकासको गतिले रफ्तार लिन सक्दैन। राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधिस जस्ता पदमा महिलाहरू पुग्न नसक्नुनै महिलाको अधिकार स्थापित हुन नसक्नुको मुख्य कारण हो।
सृष्टि चलाउने, घर चलाउने, आफ्ना सन्तानलाई सदबुद्धि दिएर महान बनाउने महिलाले देश चलाउन सक्दैनन् त? अबश्य सक्छन् तर महिलाहरूलाई त्यो ठाउँमा पुग्नु अघि नै बिचैबाट पाईला पछाडी सार्न बाध्य पारिन्छ।देशमा धेरै आन्दोलनहरू भए तर महिला माथिको दृष्टिकोण कहिल्यै पनि परिबर्तन भएन।

बिद्यार्थी आन्दोलन तथा बिभिन्न आन्दोलनमा महिलाको सहभागिता पुरूषको भन्दा कम छैन तर अधिकार दिने बेलामा किन महिलाहरूलाई बिभेद गरिन्छ? के महिलाहरू जहिले पनि प्रयोग गरेर फालिने बस्तुको रूपमा बसिरहनु पर्छ भन्ने मान्यताले जरा गाडीसकेको हो र? सामन्ति समाजले महिलाहरूलाई घरको मझेरीमा दलाएर लुट्यो अहिले पूजीबादी समाजको सुरूवातमा महिलाहरूलाई ब्युटीसियन बनाएर लुटिदैछ। आखिर जुन ब्यबस्था आएपनि,देशमा जति परिबर्तन भएपनि महिलाहरू त लुटिएकै छन नि के फरक परेको छ र?राजनीतिमा महिलाहरू खुलेर लाग्न नसक्नुको अर्को प्रमुख कारण भनेको पारिवार पनि हो।राजनीतिमा लागेपछि अबिबाहित महिलाहरू बिग्रिन्छन् र बिबाहितहरूले घर बिगार्छन् भन्ने मान्यता चलिआएको छ हाम्रो समाजमा। नेपाल भनेको पुरूष प्रधान देश थियो, आज पनि छ र यस्तै हो भने भोली पनि रहिरहने छ।महिलालाई एउटा भुसुनो जतिको पनि सोचिदैन र ठाउँमा पुग्ने बेलामा पाखा लगाइन्छ त्यसैले महिला आफै पनि राजनीतिमा आकर्षित हुन सकेका सकेका छैनन्।भएकाहरू पनि बिचैमा निरास भएर घरजम गरि श्रीमान र छोराछोरीको स्याहार गरिबसेका छन्।सशक्त भएर लाग्नेलाई ठाउ नदिएर निकाल्ने अनि कर्मकान्ड चलाउन महिला नराखि नहुने भएपछि आरक्षणमा नपढेका, बोल्न नजान्ने महिला अधिकार के हो थाहै नभएका जसले अधिकार पनि माग्न जान्दैन, दिनु पनि पर्दैन भनेर मुर्ति थपना गर्न टिपेर ल्याइन्छ। कहाँबाट हुन्छ महिलाहरूको अधिकारको सुनिश्चितता?

अहिले केही महिलाहरू राजनीतिमा खुलेर लाग्न थालेका छन् र लाग्न चाहने पनि धेरै छन्।परिवारले पनि मौन समर्थन गर्न थालेको छ।महिलाहरू जति क्षमतावान्, शसक्त र बौद्धिक भएपनि अघिबढ्नको लागि पुरूषसंग झुक्नै पर्ने परिपाटी सदियौ देखि चलिआएको छ र यसले निरन्तरता पनि पाइरहेको छ।यदि समयमै महिलाहरूले यसको बिरोध गरेनन् भने यसले निरन्तरता पाइरहने छ।
यहाँ महिलाहरूलाई क्षमता भएर मात्र पुग्दो रहेनछ, एउटा पुरूषको चाकडी गर्ने कला पनि चाहिदो रहेछ अघि बढ्न। अब त खूल्लम खुल्ला बिना हिचकिचाहट सेक्सको बार्गेनिङ हुन थालेको छ। कुनै पुरूषले भनेको ठाउँमा घुम्न गयो र रात बिताउन तयार भयो भने समर्थन गर्ने नत्र नगर्ने।यसरी महिलालाई भोगबिलासको साधन मात्र बनाउन उद्धत भइरहेका छन् गणतान्त्रिक नेपालका राजनैतिक कर्णधारहरू। के महिला भनेका पुरूषको भोगबिलासको साधन मात्र हुन्?
आफूलाई कट्टर क्रान्तिकारी ठान्ने माओबादीको महिला सहभागिता हेर्यो भने त झन लाजमर्दो छ। माओबादीको भन्दा त कांग्रेस एमालेमा बढी छ महिला सहभागिता। जनयुद्धमा महिला मुक्तिको चर्को नारा उठाएर महिलाहरूलाई ढाल बनाइयो अहिले सत्तामा आएपछि तिनै महिला बढी भए। जनयुद्धमा आफ्ना दुधेबालक च्यापेर हिड्ने महिलाको मूल्याङ्कन खोई? भोक र निन्द्रा लागेको बेलामा आश्रय लिनजादा आफ्नो छोराछोरी भन्दा नि माया गरेर ओछ्यान र खानाको व्यबस्था गरिदिने महिलाको मूल्याङ्कन खोई? दश महिना कोखमा राखेर, दश धारा दुध चुसाएर हुर्काएको आफ्नो सन्तान देशकोलागि शहिद हुँदा गर्ब गर्ने ती महान् आमाको मूल्याङ्कन खोई? महिला बिना जनयुद्ध सम्भब थियो? अँह थिएन। अहिले किन महिलाहरूको मूल्याङ्कन हूदैन? के महिलाहरू पुरूषलाई सत्तामा पुर्याउन प्रयोग हुने भर्याङ मात्र हुन्? आखिर यो बिभेद कहिले सम्म?

जति बौद्धिकता भएपनि एक रात सुत्नुनै महिलाको याेग्यता हो त? मञ्चमा गएर महिला सशक्तिकरण र महिला मुक्तिको चर्को भाषण दिने नेताहरूको नैतिकता यति हो? यसमा महिलाहरू आफै पनि सचेत भएर आफ्नो लागि आफ्नै लड्नु पर्छ।अधिकार मागेर पाइदैन खोसेर लिनसक्नु पर्छ। अन्याय र अत्याचार बिरूद्ध लडेर आफ्नो र समग्र महिलाको मुद्दाहरू स्थापित गर्न सकिएन भने युगौसम्म महिलाहरू पुरूषको दास भएर बस्नुपर्ने छ। खबरदार महिला दिदी बहिनीहरू अब पनि यस्ता अन्याय र अत्याचारका बिरूद्धमा बोलेनौ भने सामन्तबादले महिलाहरूलाई घरको मझेरीमा दलेर लुटेको थियो, पूजीबादको सुरूवातले ब्यूटीसियन बनाएर लुट्दै छ र अब नेपाली समाजबादले महिलाहरूलाई बेश्या बनाएर लुट्नेछ।


,

0 comments

Write Down Your Responses