Powered by Blogger.
पीडितका नाममा आएकाे राहत सामाग्रीकाे बिजोग

बुद्धकुमार आछामी
सिन्धुली, ८ असोज । २०७२ वैशाख १२ गते गएको बिनासकारी भुकम्प र त्यसपछि गएका शक्तिशाली पराकम्पनका कारण भएको क्षतिले अति प्रभावित जिल्लाको सुचिमा परेको सिन्धुली जिल्लामा राहत तथा उद्धारको कार्य निरन्तर चलिरहेको छ । बिनासकारी भुकम्प पछि झण्डै ५ महिना बितिसक्दा पनि केहि गैर सरकारी संस्थाहरुले राहत वितरण गर्ने कामलाई निरन्तरतामा नै राखेका छन । 
भुकम्प पीडितहरुका लागी आएको राहत सामाग्रीहरुको दुरुपयोगको चर्चा सिन्धुलीको लागी नयाँ विषय होइन । सुरुमै चाइनिज टेन्टको दुरुपयोगले बजारमा निक्कै चर्चा पाएको थियो भने पछिल्लो समय खाद्यान्न लगायत त्रिपाल र अन्य राहत सामाग्रीहरुको दुरुपयोगको चर्चा भइरहने गरेको छ । 
जिल्ला दैवी प्रकोप उद्धार समितिले एकद्धार प्रणाली मार्फत राहत वितरणको कामलाई व्यवस्थित बनाउने प्रयास गरेपनि पछिल्लो समय त्यो निक्कै भद्रगोल अवस्थामा पुगेको थियो । 
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका गैरसरकारी संस्थाहरुले कति परिणाममा राहत सामाग्रीको वितरण गरे, कति प्रभावकारी र पारदर्शी ढंगले राहत सामाग्री वितरण गरेको छ भन्ने कुरा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई नै थाहा छैन । गाउँ–गाउँमा एनजीओ र आइएनजीओको मनोमानी नै चलिरहेको छ । 

राहतको चामल स्टोरमै कुहियो 

भुकम्प पीडितहरुलाई वितरण गर्न सरकारले दिएको चामल अहिले सम्म पनि स्टोरमै थन्किएर बसेको छ । जिविस सिन्धुलीको सभागृह हलमा राखिएको झण्डै ४५० बोरा चामल कुहिन लागेको छ । 
पानीले भिजेर आधाभन्दा बढी चामल अखाद्य बनिसकेको छ भने बाँकी चामल पनि चिल्सा र किरा लागेर खानका लागी प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ । चामल कस्लाई कहाँ वितरण गर्ने भन्ने अझै ठेगान छैन ।

स्टोरमै थन्कीयो हेल्थ किट 

यूएनएफपीए, यूनिसेफ लगायतका अन्तराष्ट्रिय संस्थाले गर्भवति तथा सुत्केरी महिलाहरुलाई वितरण गर्न ल्याएको इमरजेन्सी रिप्रोडक्टीभ हेल्थ किट जिल्ला अस्पतालको स्टोरमा नै थन्कीएर बसेको छ । त्यो सामाग्री महिनौ देखी अस्पतालमा नै थन्कीएर बसेको छ । जिल्ला स्वास्थ्य कार्यालयसँग कति सामाग्री आयो ? कहाँ–कहाँबाट आयो र कस्ले कहाँ कति परिणाममा सामाग्री वितरण गरेको छ भन्ने रेकर्ड समेत छैन । भुकम्पलाई केन्द्रित गरेर ल्याइएको राहत सामाग्री ५ महिना सम्म अस्पतालमै रहेको छ भने कति सामाग्री प्रयोग विहिन भइसकेको अवस्था रहेको छ । 

राहतको टेन्ट बन्यो ग्यारेज 

भुकम्प पिडितका लागी युएनएफपीएले दिएको टेन्ट जिल्ला विकास समितिको प्रागणमा ग्यारेजको रुपमा प्रयोग गरिएको छ । जिल्ला विकास समितिमा मात्र होइन जिल्लाका धेरै सरकारी कार्यालयहरुमा राखिएको चाइनिज टेन्ट कर्मचारीको मोटरसाइकल पार्किङ्ग गर्ने ग्यारेजको रुपमा प्रयोग भएको अवस्था छ । 
सरकारी कार्यालय र मिडिया हाउसलाई फिर्ता गर्ने गरी चाइनिज टेन्ट दिइएको भएपपनि जिल्ला दैवी प्रकोप उद्धार समितिमा अहिले सम्म एउँटा पनि फिर्ता हुन सकेको अवस्था छैन । 

बाटामै मिल्कीयो हेल्थ किट 

परीवार नियोजन संघले सञ्चालन गरेको स्वास्थ्य शिविरको क्रममा महिलाहरुलाई बितरण गर्नका लागी गाउँमा पुयाइएको स्वास्थ्य सामाग्रीको बोरा बाटामै मिल्कीएको अवस्थामा भेटिएको छ । भुवनेश्वरीको ग्वाल्टारमा बाटोमै मिल्काएको अवस्थामा हेल्थ किट रहेको बोरा बाटोमै ब्यवारीरे अवस्थामा भेटिएकाे हाम्रा संवाददाता गाैरब कार्कीले बताएका छन । 









,

0 comments

Write Down Your Responses