Powered by Blogger.
भारतसँग राजनीतिक तहमा वार्ता

राम कार्की

भारत र नेपालबीच हालको तनाव सिर्जना हुनुमा भारतीय मनोविज्ञानको पनि भूमिका छ । भारत लामो समयसम्म उपनिवेश रह्यो । त्यसैले स्वतन्त्रता कति मिठो हुन्छ भन्ने भारतका धेरै मानिसलाई थाहा छ । पराधीनता कति पीडादायी हुन्छ भन्ने व्यहोरेका मानिस पनि थुप्रै छन् । भारतीय विद्वान्का अनुसार त्यहाँ एक सय वर्षअघि र पछिका सोच छन् । राजधानी नयाँदिल्लीमै देख्न सकिन्छ, एउटा घरमा भैसी पालिएको हुन्छ, जाँतो हुन्छ, डोरीवाला खाटमा सुत्छन् तर सँगै जोडिएको घर असाध्यै आधुनिकताले भरिपूर्ण हुन्छ । भारतका एउटै पार्टीका नेतामा कोही सतीको महिमामण्डन गरिरहेको हुन्छ भने कोही आधुनिक फेसन सोको उद्घाटन गरिरहेको हुन्छ । यसप्रकारको भारतसँग हामीले ‘डिल’ गर्नु परिरहेको छ ।
जब भारत बेलायतबाट स्वतन्त्र भयो, सोही सेरोफेरोमा नेपाल पनि नयाँ राजनीतिक अध्यायमा प्रवेश गर्‍यो । त्यसपछि भारत र नेपालको कूटनीतिक सम्बन्धमा केही विशेष कार्ड खेल्ने, खेलाउने गरेको देखिन्छ । जस्तै, नेपालको सीमावर्ती इलाकामा बस्ने मैथिल भाषी, भोजपुरी भाषी र अवधि भाषीलाई लिएर भारतले कूटनीतिक चाल चल्ने गरेको थियो । त्यस्तै भारतमा रहेका नेपालीलाई लिएर नेपालले पनि चाल रच्ने गरेको थियो । एक समय तराई कांग्ेरसका प्रखर नेता वेदानन्द झालाई भारतका लागि राजदूत र दार्जिलिङमा राजनीति गरेर ख्याति कमाइसकेका रणधीर सुब्बालाई ल्याएर चीनका लागि राजदूत बनाएको थियो । यसको हाम्रो कूटनीतिक या राजनीतिक इतिहासमा चर्चा–परिचर्चा हुँदैन । अहिले भारतले यहाँ कतिपय भारतीय रहेको, उनीहरूको हितको कुरा गरेको सुन्ने गरिन्छ । तर, नेपालले भारतमा रहेका लाखौँ नेपालीलाई लिएर चर्चा–परिचर्चा नै गर्दैन । नेपालले त्यो विशेष कार्ड खेल्न छोड्यो तर भारतले खेलिरहेको छ ।

आफैँतिर पनि हेर

भारतमा पनि थुपै्र जातीय र क्षेत्रीय आन्दोलन भएका छन् । भारतको उत्तरपूर्वी क्षेत्रको आफ्नै कथाव्यथा छ । भारतको मेनल्यान्डमा पनि त्यस्ता समस्या छन् । स्वतन्त्रतापछाडि नै भारतमा मिथिलाञ्चललाई बेग्लै राज्यको मान्यता दिनुपर्छ भनेर आन्दोलन चल्यो । मिथिलाञ्चल बिहारबाट ठगिएको, त्यहाँको स्रोतको दोहन बिहारका निम्ति भएको तर मिथिलाञ्चलले केही पाएको छैन भन्ने आवाज थियो ।
त्यसैगरी बिहार तथा उत्तर प्रदेशमा बाँडिएका भोजपुरीभाषीले अलग्गै भोजपुर प्रदेश चाहिन्छ भन्दै आन्दोलन चलाए । त्यो आन्दोलन सन् ७० सम्म चल्यो । कुनै समय त्यसको नेता राहुल सांकृत्यायन पनि थिए । तर, मिथिलाञ्चल र भोजपुरी भाषीको आन्दोलन आज कतै देखिँदैन ।
त्यस्तै उत्तराञ्चल–उत्तराखण्डमा आन्दोलन चल्यो । कास्मिरमा चलिरहेको छ । दक्षिण भारतमा पनि आन्दोलन चलेका छन् । जातीय–क्षेत्रीय अस्मिताका कुरा उठेका छन् । ती भोजपुरी भाषीको माग दिल्लीले किन पूरा नगरेको ? अथवा मिथिलाञ्चललाई छुट्टै प्रदेश बनाइयोस् भन्ने मागको किन सुनवाइ नगरेको ?

उत्ताउलो कूटनीतिले हानि

भारतमा उपनिवेशवादी सोच भएका नेता देखिएका छन् । ठूलो मुलुकसामु लुत्रुक्क पर्ने तर साना मुलुकमा आउँदा फाइँफुइँ गर्ने, कोट हल्लाउने प्रवृत्ति देख्न पाउँछौँ । कहिलेकाहीँ उत्ताउलो खालको कूटनीतिक आचरण गर्दा उनीहरूलाई नै हानि भएको पनि हामीले देखेका छौँ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य बन्न खोजिरहेको भारतले आफ्नै वरिपरिका साना मुलुकलाई चिमोट्ने, धम्क्याउने, नंग्याउने, धकेल्ने गरेर कसरी त्यो अन्तर्राष्ट्रिय भूमिका निर्वाह गर्न सक्छ ? हामी चाहन्छौँ भारत यस्ता प्रवृत्तिबाट जोगियोस् । हामीले भारतको उत्तरपूर्वमा यो हुनुपर्छ, कास्मिर वा दक्षिणमा यो हुनुपर्छ भन्यौँ भने के भारत त्यसो गर्न तयार हुन्छ त ? भारतले त आफ्नो अनुसार न गर्छ ।
मोदीले यहाँ आएर भाषण गर्दा राजनीतिक तहमा सम्बन्ध विस्तारको आश्वासन दिएका थिए, तर आज खोइ त मोदीको राजनीति ? मोदीको ‘लिबरल पोलिटिक्स’ यो कूटनीतिक सम्बन्धमा किन देखा परेन ?

भूराजनीतिको ख्याल

भारतीय पक्षको केही दिनयता सीमालाई ‘रेगुलेट’ गर्ने, सामान ल्याउन–लैजान नदिने गरिरहेको छ । तर, भारतीय पक्षले बुझ्नुपर्ने कुरा के हो भने सीमा साँच्चै रेगुलेट गरियो भने के हुन्छ त ? के भारत सीमा नियमन गर्न तयार छ ? यदि भारतले त्यही चाहेको हो भने नेपालले त्यो गरिदिनुपर्छ । हिच्किचाउनु हुँदैन । सायद त्यसपछि नै नेपाल ‘सेल्फ रिलायन्ट’ हुँदै जान्छ ।
भारतले चाहेको अरू कुरा के हो ? नेपाललाई संरक्षित राज्यका रूपमा ‘डिजेनरेट’ गर्न सम्भव छ त ? के भारतले त्यस्तै चाहेको हो ? कुनै देशले कुनै अर्को देशलाई माया वा दया गरेर माथिल्लो मान्ने र तल्लो मान्ने भन्ने हुँदैन । त्यो देशको आफ्नो इतिहास हुन्छ । अर्थतन्त्र हुन्छ । जनता हुन्छन् । छेउछाउमा सानातिना मुलुकलाई कच्याककुचुक पार्छु भन्ने आजको दुनियाँमा सम्भव छैन ।
भारतले पनि यहाँको भूराजनीति बुझ्नुपर्छ । बर्मा कुनै समय भारतका सबैभन्दा नजिकको देश थियो । तर, आज बर्मा कहाँ पुग्यो ? तमिललाई लिएर श्रीलंका ठीक गर्छु भन्दा उसको हालत के भयो ? श्रीलंकाको एलटिटिईलाई भारतले खुबै उक्सायो भनेर हामीले अखबारमा पढ्यौँ । भारतीय लेखकहरूले नै लेखे । तर, दुई वर्षअगाडि तामिलको संहार गरियो । प्रभाकरणको १३ वर्षको छोरोलाई जिउँदै समातेर मारियो ।
मधेसकेन्द्रित राजनीति गर्ने साथीहरूले पनि बुझ्नुपर्ने कुरा के हो भने कुनै देशले अर्को देशका जनताको मायाले केही गर्ने होइन । भारत, अमेरिका या चीन जो भए पनि तिनले नेपाली जनतालाई माया गरेर केही गर्ने होइन । उनीहरूले आफ्नो देशलाई माया गर्छन् । आफ्नो मुलुकका स्वार्थलाई सर्वोपरि राख्छन् । अरू कुनै देशले यहाँको जनताको मायाले केही गरिदिन्छ भन्ने भ्रम कसैमा छ भने उसले श्रीलंका हेरे हुन्छ । नेपालको सत्ताधारी वर्गले भारतीय सत्ताधारी वर्गको स्वार्थपूर्ति गरिदिने हो भने आन्दोलनकारीलाई केही महत्त्व दिँदैन ।

आवश्यक छ राजनीतिक डिलिङ

नेपाल आफ्नो कूटनीतिक मोर्चामा झन् पछि झन् कमजोर हुँदै आएको देखिन्छ । ०६२/६३ को परिवर्तनपछि नेपालले जसरी आफ्नो परिचय संसारभरि दिनुपथ्र्यो, त्यो दिन सकेन । भारतमै जुन राजनीतिक वृत्त छ, तीसँग सम्बन्ध बनाउनुपर्ने थियो । भारतका राजनीतिक पार्टीसँग संस्थागत सम्बन्ध विकास गर्नुपर्नेमा नेपालका राजनीतिक पार्टी चुकेका छन् । वास्तवमा राजनीतिको टेबुलमा धेरै स्वतन्त्र भएर कुरा गर्न सकिन्छ । जस्तो भारतका माक्र्सवादी छन् भने उनीसँग टेबलमा कुरा गर्दा माक्र्स, लेनिन सबैलाई ‘कोट’ गर्न पाइयो । भारतका तर्फबाट कुनै समाजवादी रहेछ भने जयप्रकाश नारायण, राममनोहर लोहिया, ह्यारोल्ड जे लास्कीलगायतलाई उद्धृत गर्दै बहस गर्न पाइन्छ । तर, प्रशासकले आफ्नो देशको आकार, अर्थतन्त्र, सामथ्र्य, अड्डा आदि हेरेर कुरा गर्छ । त्यसैले हाम्रो डाइलग राजनीतिक लेभलमा गर्नुपर्‍यो । नेपाली नेताले भारतीय नेतासँग कुरा गर्नुपर्‍यो । राजनीतिक तहमा वार्ता हुनुपर्‍यो ।
अहिले त भारतले जसलाई पठाउँछ, त्यसैसँग डल्लो परेर गफ गर्ने, भारतले मुखिया पठाइदिए पनि, खरदार पठाइदिए पनि आमन्त्रण गर्ने काम भइरहेको छ । उसको राजदूतका लागि समेत राति १२ बजे होस् वा बिहान ६ बजे, जतिवेला पनि तयार भइदिइरहेका छौँ । यो गर्नुभएन ।
अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले पनि हामी ज्यादै कमजोर छौँ । धेरै देशमा हाम्रो दूतावास नै छैन । दूतावास भएका कैयौँ देशमा हाम्रा राजदूत छैनन् । हामीले यसबीचमा धेरै हेलच्याक्र्याइँ गर्‍यौँ । हाम्रै कमजोरीका कारण कैयौँ राष्ट्र आफ्नो भूमिका खुम्च्याउँदै छन् । जस्तै, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को सदस्य फ्रान्स यहाँका सम्पत्ति बेच्दै नेपालबाट आफूलाई बिस्तारै बाहिर्‍याउँदै छ । आजको युगमा अन्तर्राष्ट्रिय सम्बन्धलाई महत्त्व नदिनु नेपालको दुर्भाग्य हो ।

विश्वलाई सन्देश दिऊ

नेपाली जनतालाई कसैले चिनेको छ भने ऊ यहाँभन्दा अघि नबढ्दा हुन्छ । किनभने सिंगो देश आफ्नो अस्मिताप्रति, आफ्नो स्वतन्त्रताप्रति सचेत भयो भने सानो देश पनि दह्रो गरी खडा हुनसक्छ । महाशक्ति राष्ट्र अमेरिकाले ९० किलोमिटरपर्तिर रहेको क्युवालाई ६०/६५ वर्ष केही गर्न सकेन । क्युवा औँला ठड्याएरै बसिरह्यो । नेपाली जनतामा पनि अहंकार होइन, वास्तविक राष्ट्रिय स्वाभिमान, सचेतता आउन जरुरी छ । नेताहरूले पनि आफ्ना निजी स्वार्थका निम्ति डल्ला पर्ने, कुप्री पर्ने आचरणलाई त्याग्नुपर्छ । यदि त्याग्दैनन् भने नेपालीले अरू नेता तयार गर्छ । नेपाल आमा बाँझी भइसकेकी छैनन्, अरू नेता जन्माउन सक्छिन् ।
अब हाम्रो राजनीतिक नेतृत्वले भारतको राजनीतिक नेतृत्वसँग स्पष्ट रूपमा कुरा गर्नुपर्छ । हाम्रा नेताले पनि यो हाम्रो राष्ट्रिय स्वार्थ हो, यतिसम्म जान सक्छौँ, यसभन्दा तल झर्न सक्दैनौँ भनेर स्पष्ट राखिदिनुपर्छ । त्यसका साथै नेपालमा संविधान बनेको छ, नेपाल फेरिएको छ, नेपालमा राजतन्त्र छैन, नेपाल नयाँ युगमा प्रवेश गर्दै छ भन्ने सन्देश हामीले संसारमा दिनुपर्छ । हामीले हाम्रा मिसनलाई यो उद्देश्यमा परिचालित गर्नुपर्छ । विगतमा जस्तो लापरबाहीले पछिल्ला चुनौतीको सामना गर्न सकिँदैन ।
क्युवामा एउटा आठवर्षे बालकलाई अमेरिकाले लैजाने कि क्युवामै राख्ने भन्ने विवादमा दसौँ लाख क्युवाली सडकमा आए । भारतको अहिलेको व्यवहारले निस्सासिएको अनुभव गरेर नेपालको ठूलो जनसंख्या सडकमा आयो भने भारतसँगको सम्बन्ध के होला ? यो भारतले बुझ्नुपर्छ । त्यसका संकेत देखिइसकेका छन् । सामाजिक सञ्जालमा देखिएको आक्रोशका त्यसैको लक्षण हो । नेपाल यहाँभन्दा बढी सहन सक्दैन भन्ने कुरा हाम्रो नेतृत्वले उनीहरूलाई प्रस्ट भनिदिनुपर्छ ।(साभार इनयाँ पत्रिका डटकमबाट)


,

0 comments

Write Down Your Responses