Powered by Blogger.
भावी राष्ट्रपति को ? कांग्रेसमा शुरु भयो छलफल

सुशीलको साटो रामवरणलाई निरन्तरता दिन पार्टीभित्रै लबिङ

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले रोल्पा पुगेर डा.रामवरण यादवलाई नै राष्ट्रपतिमा निरन्तरता दिनुपर्ने बताएपछि कांग्रेसभित्र चलिरहेको राष्ट्रपतिको बहस सतहमा आएको छ ।

केसीले यो कुरा सोच बिचार गरेरै बहसका लागि सार्वजनिक गरेको उनी निकट स्रोतले जनाएको छ । केसीमात्र होइन, उनको यो लाइनमा कांग्रेसका धेरै नेताहरु छन् ।
डा.शेखर कोइराला, फर्मुल्लाह मन्सुर, आनन्द्रप्रसाद ढुंगाना, लीला कोइराला, रामकृष्ण यादवमात्र होइन, यादवका परम्परागत बिरोधी मानिने बिमलेन्द्र निधिसमेत रामवरणको निरन्तरतामा सहमत रहेको कांग्रेस उच्च स्रोतले जनाएको छ ।
‘अर्जुन दाइको कुरा नयाँ होइन, संविधान बन्न नदिने खेल भइरहेकै बेला यो कुरा उठेको थियो, रामवरण यादवलाई कांग्रेसले राष्ट्रपति बनाएको हो, उहाँ निरन्तर भए हाम्रा लागि आपत्ति हुने कुरा रहेन’ कांग्रेस सभासद रामहरि खतिवडाले भने ।
मधेस आन्दोलन चलिरहेका बेला यादवको निरन्तरताको कुरा उठे पनि अबको राष्ट्रपति आदिवासी जनजाति वा दलित समुदायबाट भए राम्रो हुने खतिवडाले बताए । ‘हाम्रै पार्टीका बरिष्ठ नेता केबी गुरुङ हुनुहुन्छ, सभामुख सुवास नेम्वाङ पनि राष्ट्रपतिका लागि उपयुक्त पात्र हुन्’ खतिवडाले भने ।
स्राेतका अनुसार गगन थापा पनि यसपटककाे राष्ट्रपति जनजाति वा दलित समुदायबाट बनाउनुपर्छ भन्ने पक्षका उभिएका छन् ।
कांग्रेसको संगठन विभाग प्रमुख समेत रहेका नेता आनन्द ढुंगानाले भने राष्ट्रपति को हुने र कुन पार्टीले पाउने भन्ने भन्ने निश्चित नभएकाले यसबारेमा अहिले नै बहस गर्नुको अर्थ नहुने बताए ।
ढुंगानाले भने- ‘दलहरुबीच पावर सेयरिङमा कुनै सहमति भएको छैन, नेताहरुबीच कुनै भद्र सहमति भएको हो भने अब बाहिर आउनुपर्छ, जहाँसम्म राष्ट्रपतिको कुरा छ, अहिलेको राष्ट्रपतिलाई संविधान कार्यान्वयन हुने चरणमा निरन्तरता दिँदा कसैलाई आपत्ति नहोला ।
संविधानअनुसार संसद अधिवेशन शुरु भएको एक महिना, कात्तिक १५ भित्र मुलुकले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउन सक्छ
यादवलाई रााष्ट्रपति निरन्तरता दिनेमा कांग्रेसभित्र जसरी बहस चलेको छ, त्यसलाई सुन्नै नचाहनेमा महामन्त्री कृष्णप्रसाद सिटौला पर्छन् । उनले निकटस्थहरुसँग भन्ने गरेका छन् यो अहिले भइरहेको खेल नै रामवरणलाई निरन्तरता दिनका लागि दबाव हो ।
सिटौलाले संविधानसभाबाट संविधान जारी हुनै लाग्दा संविधानसभाको रोष्ट्रमबाटै यादवलाई खुला चुनौती दिएका थिए । उनले कांग्रेसले यादवलाई राष्ट्रपति बनाएको स्मरण गराउँदै आफ्नो ठाउँमा बस्न चेतावनी समेत दिएका थिए ।
सिटौलाले जुन सन्दर्भमा यादवको भूमिकाको बिरोध गरे पनि सुशील कोइरालावृत्तकै एउटा समूह यादवको पक्षमा छ । उनीहरुको स्वार्थ भने यादवको लागि भन्दा पनि कोइरालालाई सेरमोनियल राष्ट्रपतिमा थन्क्याउँदा पार्टीमा कोइराला परिवारको बर्चश्व गुम्ने खतराले हो ।
आसन्न महाधिवेशनमा सुशील बाहेक अरु उम्मेदवार हुँदा शेरबहादुर देउवालाई सभापतिमा हराउन नसकिने भएकाले पनि कोइराला परिवार अहिले नै सुशीललाई राष्ट्रपति बनाएर राजपाठ गुमाउन चाहँदैन ।
कांग्रेसले राष्ट्रपति पाउने सन्दर्भमा स्वभाविक दाबेदार कोइराला मानिएका थिए । तर, कांग्रेसभित्रै अहिले अलग पात्र खडा गरेर बिभिन्न शिविरमा बहस भइरहेका छन् ।
स्रोतका अनुसार रामवरण यादवको निरन्तरताका पक्षमा कांग्रेसको ठूलो समूह लाग्न सक्छ । विकल्पमा केबी गुरुङ र मानवहादुर विश्वकर्माको नाम पनि बहसमा आइरहेको छ ।
अहिलेसम्मको दलहरुबीचको अघोषित भागबण्डा हुँदा सुशील राष्ट्रपति, केपी ओली प्रधानमन्त्री र कृष्णबहादुर महरा सभामुखका रुपमा चर्चामा छन् । यसो गर्दा मुख्य पदमा मधेशी र जनजाति छुट्ने भएकाले पछिल्लो संवेदनशीलता बुझेर राष्ट्रपतिमा यादवको निरन्तरता भयो भने आश्चर्य नहुने कांग्रेस नेताहरु बताउँछन् ।
‘यादवलाई निरन्तरता दिँदा भित्र र बाहिरका शक्तिकेन्द्रहरु पनि सन्तुष्ट हुन्छन् भने कांग्रेस त्यो कदम उठाउन तयार हुन्छ’ एक प्रभावशाली कांग्रेस नेतलो भने ‘रामवरणको निरन्तरता कांग्रेसका लागि रहर नभएर मुलुककै लागि बाध्यता हुन सक्छ’ ।
संविधानअनुसार संसद अधिवेशन शुरु भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ । यस हिसाबले कात्तिक १५ भित्र मुलुकले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउन सक्छ ।


,

0 comments

Write Down Your Responses