Powered by Blogger.
विशाल–कुमार स्मृति दिवसमा परिवार नै बेखबर

बिजयकिल्ला ब्यूराे 
काठमाडौ । २१ भाद्र । एनकेपा (माअ‍ाेवादी) पार्टीले आईतबार २० आैं बिशाल–कुमार स्मृती दिवस मनायो । बिशाल अर्थात, शेरमान कुँवर र कुमार अर्थात, मोहन चन्द्र गौतम । महान् जनयुद्धको क्रममा उहाँहरुलाई तत्कालिन आततायी सरकारले कायरतपूर्णं हत्या गर्यो । २०६१ साल भदौ २० मा सिराहाको धन्छवारमा तत्कालिन सकारले बिभत्सपूर्णं हत्या गरेका नेकपा (माओवादी) का केन्द्रीय सदस्य शेरमान कुँवर र वैकल्पीक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम (कुमार) को स्मृतिमा प्रत्येक वर्ष एकीकृत नकपा (माओवादी), बैद्य माओवादी लगायत माओवादी धाराका पार्टीहरुले स्मृति दिवस मनाउँदै आएका छन् ।


औपचारिकतामैं सीमित यस पटकको स्मृती दिवस एनेकपा (माओवादी) ले पार्टी कार्यालय पेरिस डाँडामा, एनेकपा (माओवादी) सिन्धुलीले जिल्ला पार्टी कार्यालय सिन्धुलीमा र मोहन वैद्य नेतृत्वको नेकपा –माओवादीले शाहदत प्राप्त गरेको स्थान सिराहाको धन्छवारमा पुगेर शहीदको फोटोमा माला र अबिर लगाए । साथमा केहि स्थानीय नेताहरुले भाषण गरे, मौन धारण गरे, ताली बजाए, चियापन गरे अनि कार्यक्रम सफलतापूर्वक सकिएको घोषणा गरे ।
तर बिशाल कुमार स्मृती दिवस मनाई रहँदा शहीद परिवार भने बेखवर थिए । शहीद कुमार (मोहन चन्द्र गौतम) का जेठा छोरा सुदिप गौतम भन्छन्,– ‘पहिला पहिला त पार्टीले बुबाको स्मृती दिवसमा सहीद परिवारलाई बोलाउने गर्थे यस पटक त कुनै पनि नेता र पार्टीले खवर गरेनन् ।’ उनले भने,–‘यस पटकको स्मृती दिवसमा कतैबाट सम्वन्धीत पार्टीका नेताले बेलाउलान् भन्ने त लागेको थियो, न कुनै ती नेताले ममीलाई फोन गरे न मलाई नैं बोलाए ।’
बिशाल– कुमार स्मृती दिवस पार्टी हेडक्वार्टर पेरिसडाँडा, उहाँहरुको जन्म स्थान सिन्धुली र घटना भएको स्थानमा पनि एमाओवादी र ड्यास माओवादीका नेताहरुले मनाएछन् त तपाईहरुलाई कुनै पनि पार्टीका नेताहरुले बोलाएनन् ? महोत्तरी जिल्लाको यखरमारामा रहेका शहीद कुमारका छोरा सुदीपलाई यस संवाददाताले सोधेको प्रश्नमा उनले भने,–‘हामीलाई कतैबाट पनि औपचारीक जानकारी आएन, ममी घाँस काट्न जानुभएको छ, म खेतमा धान गोड्दै छु ।’ करिव १८ लाख ऋण भएको बताउँदै सुदीपले भने, नेताहरु आज टूट, फुट र गुटमा बिभाजन भएका छन्, मेरो बुवा र अरु शहीदहरुले बगाएको रगत र प्राप्त गरेको शहादतमा केहि थान नेताहरु मन्त्री बने, शहर बजारमा घर बनाए, आफ्नाहरुलाई जागिर ख्वाए, हाम्रो त यस्तै हो । 
शहीद कुमारकी पत्नी अम्विका गौतम पार्टीका नेताहरु गुटमा बिभाजन हुनु, जनयुद्ध सुरु गर्दाको एउटा पार्टी अहिले खण्डित भएर पाँच पार्टीमा चोईटिनु आफ्नो लागि मात्र नभएर आफ्ना शहीद पति मोहन चन्द्र गौतमप्रति नेताहरुले गद्धार गरेको खुलस्त बताउँनुहुन्छ । हाल पार्टीमा अनेकौ खाले स्वार्थी, चुल्ठे, मुन्द्रे र विचार तथा सिद्धान्त नभएकाहरु प्रबेश गरेको र तीनैलाई पार्टीको महत्वपूर्णं स्थानमा फूल माला लगाएर बसाएका कारण पार्टी बदनाम भएको उहाँको भनाई छ । 
शहीद कुमारका दुई भाई छोराहरु रहेका छन् । केहि बर्ष उनीहरु राजधानीका होटल तथा क्यासिनोमा रोजगार थिए । तर बिगत २ वर्षदेखि क्यासिनो बन्द हुँदा उनीहरु बेरोजगार बनेका छन् । शहीद पत्नी अम्बिका भन्नुहुन्छ,– ‘१७, १८ लाख ऋण छ, पति देश र जनताको लागि युद्ध गर्दा गर्दे बित्नुभयो, शहीद परिवारको कन्तविजोग छ, कहिले काहिँ घरमा भात खान र बास माग्न आउने नेताहरुलाई छोराहरुलाई केहि सानोतिनो प्राईभेट जागिर मिलाईदिनु पर्यो भनेर कत्ति आग्रह गरे तर उनीहरुले सुनेको नसुनैं गरे ।’
भर्खरै ई–डिभि परेर अमेरीका पुगेका कुमारका कान्छा छोरा योगेश गौतम पार्टीले आफ्नो मात्र नभई जनयुद्धमा शहादत प्राप्त गर्ने सवै शहीद परिवारको चित्त दुखाएको गुनासो पोख्छन् । उनी भन्छन्– ‘जनयुद्धमा सामेल भएका पार्टी तथा नेताहरुले अहिले शहीदहरुलाई पनि आफ्नो पार्टीको र आफ्नो गुटको शहीद परिवार भएको भन्दै भागबन्डा गर्नु पार्टी र समग्र क्रान्तिकै धोका र गद्धार हो ।’
संविधान निर्माणको यस युगीन घडीमा पनि जनयुद्धमा लागेका सवै नेता तथा पार्टीहरु एकमत हुन नसक्नु शहीदप्रतिको अपमान र शहीदले देखेका सपना पुरा नहुने चालबाजी भएको सिन्धुलीका अर्का महान् शहीद महेन्द्र श्रेष्ठका छोरा क्षितिज श्रेष्ठ बताउँछन् । बुबाको शहादत हुदा करिव ६ बर्षका क्षितिज यतिबेला वैदेशिक रोजगारीका लागि खाडि मुलुक पुगेका छन् । 
यता बिशाल (शेरमान कुँवर) का परिवार पनि शहीदको सपना पुरा नभएको र त्यसका लागि निरन्तर संघर्ष गरिरहनु पर्ने बताउँदै आएको छ । शहीद बिशालकी जीवन संगिनी निरु दर्लामी कुँवर देशमा सम्पन्न प्रथम संविधान सभाको निर्वाचनमा सिन्धुलीबाट प्रत्यक्ष निर्वाचनमा बिजय हाँसिल गर्दे संविधान सभा सदस्य हुन पुगिन् । संविधान सभाले संविधान बनाउन नसक्दै उनी एनेकपा (माओवादी) पार्टीबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी तिर लागिन् । शहीद बिशालकी छोरी निशा कुँवर पार्टी सम्वन्धी कुनै पनि प्रतिक्रिया दिन चाहान्नन् । सिर्फ उनको भनाई छ,–मेरो बुबाको मृत्यु के का लागि थियो, अहिले के भयो ? 
बर्षमा एक पटक आउने स्मृती दिवसमा शहीदको फोटोमा माला र अबिर लगाउँदैमा शहीदका सपना पुरा नहुने शहीद परिवारको पर्टीप्रति गुनासो रहेको छ । देशभरका शहीद परिवारको एउटै भनाई छ, नेताहरु सुबिधा भोगी भए । नेताहरुको लागि शहीद कमाई खाने भाँडो जस्तै भए, स्मृती दिवस केवल औपचारीकताका लागि मात्र मनाउने गरिएको छ । शहीद परिवारलाई अहिले पनि साँझ–बिहान छाक टार्ने समस्या छ । उनीहरुका परिवारलाई पार्टीले सकेको रोजगारी उपलब्ध गराउन सकेको खण्डमा पनि शहीद परिवारको घाउमा मल्हमरुपी राहत हुने थियो । नेताहरु यथार्थवादी हुन सकेको खण्डमा हजारौं शहीदका परिवारको मुहार मुस्कुराएको देख्न सकिने थियो । सिद्धान्त र पार्टी ठिक भए पनि नेताहरु गलत र स्वार्थी बनेको बिशाल–कुमार स्मृती दिवसमा सम्वन्धित शहीद परिवारले अनुभव गरेको तीतो यथार्थ हो । यसप्रति नेताहरु बेलैमा सजग बन्न सकेको खण्डमा स्मृती दिवस मनाउनुको औचित्य साबित होला नत्र भने औपचारीता मात्र निभाउने स्मृती दिवस नमनाएकै बेस !


, ,

0 comments

Write Down Your Responses