Powered by Blogger.
विद्या भण्डारी : प्रावि शिक्षिका र गृहिणीदेखि राष्ट्रपतिसम्म

सामान्य नागरिकभन्दा फरक छैनन् प्रथम महिला राष्ट्रप्रमुख

काठमाडौं । सत्तामा पुगेको व्यक्तिलाई महान मानिसका रुपमा देवत्वकरण गर्ने प्रचलन सभ्य समाजमा खासै रुचीकर मानिँदैन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ‘महान महिला’का रुपमा देवत्वकरण गर्ने प्रयास विशेषतः एमाले नेता-कार्यकर्ताबाट हुन थालेको छ । तर, विद्याको पृष्ठभूमिलाई हेर्दा उनी एक सामान्य नागरिकभन्दा फरक देखिन्नन् ।
आफ्ना पति अर्थात् एमालेका जननेता मदन भण्डारीको विरासत, पार्टीभित्रबाट निरन्तर संरक्षण अनि ‘भाग्य’ लाई बिर्सने हो भने विद्या भण्डारी आज प्रथम महिला राष्ट्रपतिको कुर्सीमा शायदै पुग्ने थिइन् ।
अहिलेसम्म विद्याले आफ्नो परिवार र समाजका लागि खासै सिक्न लायक छाप छाडेको पाइँदैन । अब यो रिक्त स्थान पूरा गर्ने अवसर पाएकी छिन् उनले ।
पार्टीभित्र रहँदा विद्यासँग असहमति राख्ने नेता कार्यकर्ताहरुले विद्यालाई ‘छुची’ नेतृका रुपमा बुझ्ने गरेका छन् । विशेष गरी महिला नेतृहरु उनीसँग रुष्ट छन् । विद्याकै कारणले उर्मिला अर्याल एमाले छाडेर एमाओवादीमा लागेको बताउनेहरु पनि छन् ।
परिवारका सदस्यहरु पनि विद्याको भूमिकाबाट खासै सन्तुष्ट देखिँदैनन्, जुन नेपाली समाजको आम प्रचलन नै हो ।

प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीको आन्तरिक जीवनका केही पाटाहरु यस्ता छन् :

नेकपा एमालेले सार्वजनिक गरेको विद्यादेवी भण्डारीको वायोडाटा अनुसार उनले गृहजिल्ला भोजपुरबाट आइए उत्तीर्ण गरेकी छिन् भने बिराटनगरबाट बीएसम्मको अध्ययन गरेकी छिन् ।
विसं २०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङ-२ मा जन्मेकी विद्याका पिता रामबहादुर पाण्डेको निधन भइसकेको छ । आमा मिथिला पाण्डे भने जीवितै छिन् । उनका दाजुभाइ तीनजना छन्, जसको नाम तेजेन्द्र, टेकेन्द्र र डेगेन्द्र पाण्डे हो । सुशिला पाण्डे र विद्या दुई दिदीबहिनी हुन् ।
विसं ०३९ सालमा कम्युनिष्ट नेता मदन भण्डारीसँग विवाह गरेकी विद्याका दुई छोरी छन् । जेठी छोरी उषाकिरण भण्डारीले उमेश थापासँग विवाह गरेकी छिन् भने कान्छी छोरी डा. निशाकुसुम भण्डारीको विवाह हुन बाँकी छ ।
एकल महिला विद्यादेवीका घरतर्फ एकजना जेठाजु र तीन देवरहरु छन् । उनका जेठाजु मनोज भण्डारी घरबार छाडेर हिँडेका सन्यासी हुन् । देवरहरु मोहन, प्रेम र डा. कैलाश भण्डारी सामान्य जीवन यापन गरिरहेका छन् ।
विद्याका पाँच आमाजू र नन्दमध्ये एकजना गीता लामिछानेको निधन भइसकेको छ । शारदा र राधाले निरौलासँग विवाह गरेका छन् भने इन्दुले बरालसँग र शान्ताले पोखरेलसँग विवाह गरेका छन् ।
जन्म भोजपुरमा र कर्म मोरङमा भए पनि विद्या हाल अनामनगरमा रहेको देवर डा. कैलाश भण्डारीको घरमा बसोबास गर्दै आएकी छिन् ।
विद्याको नागरिकता नम्बर ३७६८/११८४ हो भने पासपोर्ट नम्बर ४२२९३१० हो । उनको घरको फोन नम्बर ०१-४४८४३२२ हो । उनले इमेल bidyadevi@icloud.com चलाउँछिन् ।
शिक्षाको कुरा गर्दा विद्या खासै अब्बल विद्यार्थी होइनन् । उनले बीएसम्म अध्ययन गरे पनि उत्तीर्ण गर्न सकिनन् । भोजपुरको बेहेरेश्वर प्राविमा वाल्यकालीन शिक्षा लिएकी उनले भोजपुरकै विद्योदय व्यवसायिक सेकेन्डरी स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी हुन् । साहित्य लेखनमा रुची रहेको बताए पनि उनले लेखेका साहित्य वा रचनाहरु खासै पढ्न पाइएको छैन ।
भोजपुर क्याम्पसबाट आइए उत्तीर्ण गरेकी विद्याले बिराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बीए अध्ययन गरिन् । सोही समयमा उनले मोरङको बेलबारी-१, नक्सलबारीमा अवस्थित जनज्योति प्रावि (हाल मावि) मा चार वर्षसम्म सामाजिक शिक्षा पढाइन् ।
नेपाली, हिन्दी र अंग्रेजी जान्ने विद्याले भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानडा, इटली र थाइल्याण्डको भ्रमण गरेकी छिन् ।
हाल व्यवस्थापिका संसदमा समानुपातिक तर्फबाट सदस्य रहेकी विद्या नेकपा एमालेको उपाध्यक्ष हुन् । उनी लामो समयदेखि अनेम संघको अध्यक्षसमेत रहँदै आएकी छिन् । त्यसैगरी उनी मदनभण्डारी फाउन्डेसनको पनि अध्यक्ष रहँदै आएकी छिन् । उनी अफ्रोृ एशियाली जनएकता संघको उपाध्यक्ष समेत छिन्, जसको अध्यक्षमा केपी ओली छन् ।
अब राष्ट्रपति बनेपछि विद्याले सम्हाल्दै आएका यी सबै जिम्मेवारीबाट नैतिकताका आधारमा हट्नुपर्ने भएको छ । एमालेमा अहिलेसम्म टाक्सिएर रहेको अनेम संघले नयाँ नेतृत्व पाउने सम्भावनाको ढोका खुलेको छ ।

संस्थागत संलग्नता

हाल व्यवस्थापिका संसदमा समानुपातिक तर्फबाट सदस्य रहेकी विद्या नेकपा एमालेको उपाध्यक्ष हुन् । उनी लामो समयदेखि अनेम संघको अध्यक्षसमेत रहँदै आएकी छिन् ।
त्यसैगरी उनी मदन भण्डारी फाउन्डेसनको पनि अध्यक्ष रहँदै आएकी छिन् । उनी अफ्रो एशियाली जनएकता संघको उपाध्यक्ष समेत छिन्, जसको अध्यक्षमा केपी ओली छन् ।

शिक्षिकादेखि गृहिणीसम्म

मदन भण्डारीसँग ०३९ सालमा विवाह गरेपछि त्यसैबेला उनी महेन्द्र मोरङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष भइन् । तर, त्यसपछि मदन भण्डारीको निधन नहुँदासम्म उनको राजनीतिक यात्रा खासै अगाडि बढेन ।
विसं ०४२ सालतिर विद्या प्रावि स्कुलको शिक्षिका बनेर उत्तरी मोरङको बेलबारी १ स्थित नक्सलबारीमा पुगेकी थिइन् । त्यहाँ उनले बहुदल आउँदासम्म पढाइन् । पार्टीकै सम्पर्कका आधारमा उनी त्यहाँ शिक्षिका बनेर पुगेकी थिइन् ।
विद्यासँगै सो विद्यालयमा शिक्षक काम गर्नेहरुका अनुसार सामाजिक विषय पढाउने उनको पढाइ खासै राम्रो थिएन । जेठी छोरीका साथमा उनी शुरुमा मणि कोइरालाको घरमा डेरा बसेकी थिइन् । पछि डम्बर निरौलाका घरमा डेरा सरिन् ।
आफूले चार वर्ष पढाएको सो स्कुललाई विद्याले एकपटक पनि फर्केर नरहेरेको स्थानीयको गुनासो छ । अझ एमालेले सार्वजनिक गरेको विद्याको वायोडाटामा सो विद्यालयमा विताएको चार वर्षको कुनै उल्लेखसम्म गरिएको छैन ।
तत्कालीन माले समर्थकहरुको बाहुल्य रहेको सो गाउँको नाम भारतको नक्सलबाडीको सिको गर्दै अहिलेसम्म नक्सलबारी भनेर राखिएको छ । त्यहाँका शिक्षकहरुले विद्याको पेटमा कान्छी छोरी रहेका बेला सुत्केरी भएकी भन्दै लामो विदा दिएर सहयोग गरेको अहिले पनि स्मरण गर्दछन् । उनलाई चार महिना सुत्केरी विदा दिएको शिक्षकहरु सम्झन्छन् । विद्याले पढाउँदा सो स्कुलमा कर्णबहादुर कटुवाल प्रधानाध्यापक थिए ।
विद्यालाई त्यसबेला आश्रय दिनेहरुका अनुसार उनीकहाँ कहिलेकाँही भूमिगतरुपमा मदन भण्डारी आउने गर्थे । भण्डारीसँग छुटिँदा विद्या रुने गरेको स्थानीय बताउँछन् ।
बहुदल आएपछि मदन भण्डारी माले महासचिवका रुपमा सार्वजनिक जीवनमा प्रकट भए । त्यसपछि विद्या नक्सलबारीबाट हिँडिन् । ०५० सालमा मदनको दासढुंगामा निधन नहुँदासम्म विद्याको भूमिका विशेषतः गृहिणीका रुपमा रह्यो ।
विसं ०५० सालपछि ४ वर्षसम्म उनले ट्रेड युनियन महासंघमा काम गरिन् । यद्यपि उनी मजदुर थिइनन् । ०५५ सालदेखि ०७२ सालसम्म १७ वर्षसम्म उनले अखिल नेपाल महिला संघको अध्यक्ष पद ओगटेर बसिन् ।
मदन भण्डारीको निधनपछि ०५० सालमा उपनिर्वाचन र ०५१ सालमा मध्यवधि चुनाव जितेपछि विद्याको व्यक्तित्व उचाइमा जान थाल्यो । विसं. ०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्री बनेकी विद्या ०६७ सालमा रक्षामन्त्री बनिन् ।

चुनौतीसँग अवसर पनि

गणतन्त्रको सौन्दर्य नै यही हो कि रामवरण हुन् वा विद्या, सामान्य नागरिकहरु पनि राष्ट्रको सर्वोच्च पदमा पुग्न सक्छन् ।
त्यसैले राष्ट्र प्रमुखका बारेमा विश्लेषण गर्दा उनको कमजोर वा सामान्य पृष्ठभूमिलाई मात्रै हेर्नुहुँदैन, उनले भविश्यमा निभाउने जिम्मेवारीलाई नै मूल्यांकनको आधार बनाउनुपर्छ । विद्या भण्डारीको हकमा समेत यही कुरा सत्य हो ।
एमाले उपाध्यक्षमा निर्वाचित भएसँगै पछिल्लो समयमा आफूलाई केही मात्रामा सन्तुलित भूमिकामा उभ्याउन थालेकी विद्याले आफ्नो रुची महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा कार्यरत रहने बताएकी छिन् ।
साथै समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने उनले आफ्नो रुची रहेको बताएकी छिन् । राष्ट्रपतिको उम्मेद्वारी दिने क्रममा समेत उनले राष्ट्रिय एकता कायम गर्न लागि पर्ने बताएकी छिन् ।
तर, पार्टीभित्र केपी ओली पक्षको वैचारिक समर्थक रहेकी विद्याले ओलीलाई ‘क्रस’ गर्दै विभिन्न जाति जनजाति, मधेसी एवं थार समुदायको विश्वास कसरी जित्ने हुन्, यो उनीमाथिको निकै ठूलो चुनौतीका रुपमा रहेकोछ ।
आफ्नो कार्यकालको प्रारम्भमै विद्याले मधेसवादी दलहरुलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने विषयमा भूमिका खेल्नुपर्ने आवश्यकता छ ।
क्यान्सरपीडित भएर पुनर्जीवन पाएकी विद्याले राष्ट्रपति हुँदा क्यान्सर पीडित नेपाली नागरिहरुका पक्षमा योगदान गर्न सकिन् भने त्यो नेपाल र नेपालीका लागि स्मरणीय योगदान हुनेछ ।
अब विद्यादेवी भण्डारीले नेकपा एमालेको पिछलग्गुका रुपमा भूमिका निभाउँछिन् या साँच्चै राष्ट्रप्रमुखको भूमिकामा रहेर देशलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्छिन् त्यो हेर्न बाँकी छ । अहिले उनलाई सफलताको शुभकामना !


,

0 comments

Write Down Your Responses