Powered by Blogger.
ग्याँस अभाव हुँदा दाउराको चोरी निकासी बढ्यो

राजन गाउँले
सिन्धुली २७ पुष । तराई बन्द र भारतिय नाका बन्दीका कारण खाना पकाउने ग्यासको अभाव हुँदा यहाँका सामुदायिक वनहरुबाट दाउरा चोरी निकासी बढेको छ ।  
ग्याँस अभावमा खाना पकाउन समेत मुस्किल भएपछि जिल्लाका प्रायः सबै सामुदायिक वनहरुबाट दाउराको चोरी निकासी बढेको हो । कतिपय सामुदायिक वन समुहले दाउरा निकासीका दागि मापदण्ड नै बनाएर अनुमति दिएको भएपनि अधिकांस वनहरुबाट अबैध चोरी निकासी हुने गरेको हो ।
स्रोतका अनुसार यस्ता सामुदायिक वनहरुबाट दैनिक चार सय देखी सात सय भारीसम्म दाउरा निकासी हुने गरेको छ । जिल्ला सदरमुकाम माढीबजार आसपासका सामुदायिक वनहरुबाट धेरैमात्रमा दाउरा निकासा हुने गरेको बताइन्छ । यस्ता सामुदायिक वनहरुले दाउराका नाममा ठुला सालजातकै काठहरु समेत चोरी निकासी हुने गरेको भन्दै कडा निगरानी समेत राख्न थालेका छन् । 
समुहरुले उपभोक्ता कार्डदेखी सामुहीक दाउरा संकलन केन्द्र बनाएर समेत उपभोक्तालाई दाउरा वितरण गर्ने गरेका छन् । भारतिय नाकाबन्दीका कारण अबैध रुपमा दाउराको चोरी निकासी हुने गरेको भन्दै कमलामाई नगरपालिका ९ स्थित च्याउकोट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई उपभोक्ता कार्ड वितरण गरेर दाउरा संकलनको व्यवस्थापन मिलाएको छ ।
तराई बन्दका कारण मट्टितेल तथा ग्यासको अभाव हुँदा स्थानीय उपभोक्ता देखी बाहिरका सर्वसाधरणले समेत ठुलो परिणाममा काठ दाउराको निकासी गर्न थालेपछि उनिहरुलाई नियमन गर्न विभिन्न प्रकारका नियमहरु बनाएको च्याउकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिष्मराज श्रेष्ठले बताए ।
‘सामुदायिक वनबाट दाउरा निकासीका लागि कुनै प्रकारको बन्देज नलगाएको भएपनि दाउरा संकलन गरेर ल्याउदा वनको निति नियममा रही ल्याउन आग्रह गरेका छौं,’ श्रेष्ठले भने । जंगलमा दाउरा संकलन गर्न जाने उपभोक्ताले अनीवार्य उपभोक्ता कार्ड लैजानु पने व्यवस्थापन गरेका छौं उनले भने । समुहले उपभोक्ता बाहेकका लागि भने दाउरा संकलनमा रोक लगाएको छ । 
श्रेष्ठले भने, ‘उपभोक्ता नभएका ब्यक्तिहरुले दाउरा संकलन गरी वेच विखन गरेको पाईएमा पहिला पटक ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक ५ हजार जरीवाना गरिने छ ।’ समुहले विद्यार्थीहरुका लागि पनि दाउरा संकलनमा खुल्ला गरेको छ । विद्यार्थीहरुले हरिया रुख विरुवा नमासी सुकेको दउरा थोरै मात्रामा ल्याउन दिने व्यवस्था मिलाइएको श्रेष्ठको भनाई छ । अहिले वन क्षेत्रमा गैरउपभोक्ताले दाउरा निकासी गरेको गुनासो बढेपछि सवै उपभोक्तालाई उपभोक्ता कार्ड वोकी दाउरा संकलन गर्न आग्रह गरिएको हो । 
 बजारमा ग्यासको अभाव हुँदै जाँदा जंगलबाट काठ तथा दाउराको समेत चोरी तस्करी हुन थालेपछि कमलामाई नगरपालिका ४ स्थित सरस्वती, दक्षिणकाली र कालिका सामुदायिक वन उपभोक्ता समुहले भने सामुहीक दाउरा संकलन केन्द्र बनाएर केन्द्र मार्फत बजारका उपभोक्तालाई दाउरा वितरण गर्न थालेको छ । यस्तै कमलामाई नगरपालिका ३ को रक्तदेवी सामुदायिक वन समुहले पनि संकलन केन्द्र बनाएर दाउराको संकलन गरी विक्री वितरण थालेको जनाइएको छ । 
यसरी संकलन गरीएको दाउरा उपभोक्ताहरुलाई प्रति किलो ६ देखी ८ रुपैयाँसम्ममा विक्री गर्ने गरेको कालिका सामुदायिक वन उपभोक्ता समुहका निवर्तमान अध्यक्ष कृष्ण कार्कीले बताए ।  अहिले जिल्ला सदरमुकाममा दैनिक पाँच सय भारीको हाराहारीमा दाउराको खपत हुने गरेको छ । 
जिल्ला सदरमुकाम बाहेक जिल्लाका भिमान, कमलाखोंच, मरिण, खुर्कोट तथा झाँगाझौली रातमाटा बजारमा समेत ग्यास अभाव भएपछि सर्वसाधरणले सामुदायिक वनबाटै दाउराको निकासी गरेर खपत गर्ने गरेका छन् ।
नोट ः ग्याँस अभाव भएपछि जंगलबाट दाउरा संकलन गरेर घर तर्फ जाँदै सर्वसाधरण । 


0 comments

Write Down Your Responses