Powered by Blogger.
वाणिज्य बैंक सिन्धुलीको लापरबाही: एउटाको रकम अर्कैको खातामा

आशीष ज्ञवाली/राजन गाउँले
काठमाडौं/सिन्धुली: राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखाले एउटा व्यक्तिको नाममा जम्मा गर्नुपर्ने पैसा अर्कैकोमा जम्मा गरेको खुलासा भएको छ। 

शाखाको गम्भिर त्रुटिका कारण २०६८ साल पुस ३० देखि २०७१ मंसिर ४ सम्म फरक खातावालको नाममा पैसा जम्मा भएको हो। विदुरकुमार अधिकारीको नाममा राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखामा रहेको खाता नम्बर १०६००१५४६०१० मा तीन वर्षदेखि अर्काको नाममा जम्मा हुनुपर्ने रकम १० पटकसम्म बैंकले जम्मा गरेको देखिन्छ। 

यद्यपि, १० पटकसम्म जम्मा भएको रकम भने १६ हजार चार सय ८० रुपैयाँ ८७ पैसा मात्र छ।बैंकले गत असोजमा खातावाल अधिकारीलाई पत्र पठाउँदै भुलवस जम्मा हुन भनेको रकम फिर्ता गर्न अनुरोध गरेको छ। 

यस्ता घटनामा गल्तीका कारण अर्को व्यक्तिको नाममा पैसा जम्मा भएको भए जम्मा हुने खाताधनीले पैसा फिर्ता गर्नुपर्ने प्रावधान छ । यद्यपि, यसरी हुने गल्तीले भने बैंकप्रतिको विश्वसनियतालाई आशंका पैदा गरेको छ।

वाणिज्य बैंक सिन्धुलीको घटनाले बैंकका कर्मचारीको लापरवाहीलाई पुष्टी गरेको छ। बैंकका कर्मचारीले हरेक दिन हिसाब मिलाउँदा बैंकमा पैसा जम्मा गर्ने र भुक्तानी लगेकोलाई रुजु गर्ने गर्छन्। 

यसमा तीन वर्षसम्म पनि खातावालको पहिचान गर्न बैंक कर्मचारी चुकेको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा सिन्धुलीका प्रबन्धक बद्रीप्रसाद पौडेलले मान्छेलेनै कम्प्युटरबाट पोस्टिङ गर्नु पर्ने भएकाले त्रुटि भएको स्वीकार गरे। 
बैंकको गम्भिर त्रुटिका कारण २०६८ साल पुस ३० देखि २०७१ मंसिर ४ गतेसम्म फरक खातावालको नाममा पैसा जम्मा भएको हो।
'तत्काली शाखा प्रमुख फौदबहादुर सुनुवारले नै मुद्दती खाताको रकम पोस्टिङ गर्ने क्रममा त्रुटी गरेको भए पनि अहिले त्यसलाई सच्चाँइ सकिएको छ',उनले अन्नपूर्णसँग भने,‘कम्प्युटर पनि मान्छेलेनै चलाउने हो। कहिलेकाँही गल्ती भइहाल्छ। यसलाई सामान्य रुपमा नै लिनुपर्छ। अहिले त्यसलाई थाहापाएपछि उक्त खाता बन्द गरिदिएका छौं । भुल सुधार गरिसक्यौं।'

प्रायः उस्तैउस्तै खाता नम्बर भएका खातावालाकोमा रकम जम्मा गर्दा यस्तो भएको उनले बताए । बैंककै कर्मचारीको लापरबाहीका कारण त्यस्तो हुन गएपछि सम्बन्धी खातावालाई रकम फिर्ता गरिसकेको भए पनि गल्तिले रकम जम्मा हुन गएको विदुर अधिकारीको खाताबाट भने रकम नपाएको प्रबन्धक पौडेलले बताए।

'हामीले गल्तीले तपाईंको खातामा रकम जम्मा हुन गएको हो । त्यसलाई फिर्ता गरिदिनुस् भनेर अधिकारीलाई भनेका छौं । तर, अधिकारीले आफ्नो खातामा पनि पटकपटक गरी रकम जम्मा भएको भन्दै आफू पनि पटकपटक गरेरै फिर्ता गरिदिने जनाएका छन् । बरु अधिकारीलाई पनि सम्झाइ दिनुपर्‍यो,' पौडेलले उल्टै अनुरोध गरे।

बैंकका अनुसार एक वर्षदेखि अधिकारीलाई रकम फिर्ता गर्न अनुरोध गरिएको भए पनि उनले रकम फिर्ता गरेका छैनन्। अधिकारीलाई बैंकले पत्र समेत काटेको छ। दुई वर्षे मुद्दती खतामा जम्मा भएको रकमको मासिक ब्याज पोस्टिङ गर्ने क्रममा त्रुटिभएको प्रबन्धक पौडेलले जनाए। 

अधिकारीको खातामा बैंकको लापरबाहीका कारण मासिक नौं सय रुपैयाँका दरले जम्मा हुने गरेको थियो।वाणिज्य बैंक सिन्धुलीको घटनाले बैंकको सफट्वेयरको विषयमा पनि गम्भिर आशंका उत्पन्न भएको छ।

 सिन्धुली शाखाबाट गल्तीले अर्काको खातामा पोस्टिङ भएको रकम न्यून भए पनि यस्तै घटनामा कृषि विकास बैंकमा ३० करोडभन्दा बढी रकमको घोटाला भएको थियो। 'रकम सानो भएको हुँदा वाणिज्य बैंकको वित्तीय अवस्थामा केही असर देखिँदैन',एक बैकिङ विश्लेषकले भने,‘ तीन वर्षसम्म एउटा व्यक्तिको नाममा जम्मा हुनुपर्ने रकम अर्काको जम्मा हुँदा थाहा नभएको घटना भने आशंका गर्नुपर्ने देखिन्छ।'

कृषि विकास बैंकमा पनि कर्मचारीले सफ्टवेयर परिवर्तन भएको मौका छोपेर ३० करोडभन्दा बढी रकम हिनामिना गरेका थिए। ग्राहकले पैसा जम्मा गरिसकेपछि लामो समयसम्म विस्तृत विवरण नलिने लगायतका घटनाले पनि बैंक तथा वित्तीय संस्थामा यस्ता घटना घटेका हुन्छन्।

बैंक तथा वित्तीय संस्थामा सञ्चालन जोखिममा लिइने यस्तो समस्याको निधानलाई आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन राष्ट्रबैंकले भनिरहेको हुन्छ। कतिपय अवस्थामा शाखाको कर्मचारीले गर्ने लापरबाहीका कारण बैंकलाई समस्या पार्ने घटना पनि बाहिर आएको हुन्छ। 

एचएन्डबीमा कुलेश्वर शाखामा तत्कालीन शाखा प्रमुख निरज नेपालले पनि कमजोर आन्तरिक नियन्त्रण प्रणालीको फाइदा उठाउदै ठूलो रकम अनियमितता गरेका थिए। 
साभार अन्नपूण पाेष्ट डटकमबाट


,

0 comments

Write Down Your Responses