भाषण मात्रै गरेर देश समृद्ध बन्छ ?
मिलन कान्छा किराती
नेपाली श्रम बजारमा श्रमशक्तिको संख्या लगभग एक करोड तीस लाखको हाराहारीमा रहेको एक सर्बेक्षणले देखाएको छ। नेपालमा बर्सेनी करीब साढे चार लाखको अनुपातमा श्रमशक्ति थपिदैजाने गरेको अनुमान छ। यसको मतलब बर्सेनी साढे चार लाख उर्जाशील नेपाली श्रमिक बेरोजगार हुनु हो। श्रम शक्ति आपूर्तिको तुलनामा रोजगारको अवसर सिर्जना हुन नसकेकै कारण युवाहरु बैदेशिक रोजगारमा पलायन हुनेको सङ्ख्या बर्सेनी उच्च दरमा बढेको देखिन्छ। बिदेशबाट भित्रिने अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिएको विप्रेषण सँगसँगै काठको बाकसमा बिलाप पनि भित्रिने गरेको छ।
देशभित्र सूचना प्रणालीको भरपर्दो र व्यवस्थित नीति निर्माण हुन नसक्दा सञ्चालनमा रहेका कैयौं उद्योग, प्रतिष्ठान र कलकारखाना दक्ष जनशक्तिको चरम अभावको सामना गरिरहेका छन्। अर्कोतर्फ सीप, योग्यता र अनुभवप्राप्त दक्ष जनशक्ति बेरोजगारको चपेटामा छट्पटाइरहेका छन्। अन्ततः बैदेशिक रोजगारबाहेक अर्को बिकल्प नखोज्दा यस्तो पीडा खेप्नुपर्ने बाध्यत्मक परिस्थिति सिर्जना भएको छ।
एशियाली बिकास बैंकको एशियन डेभलपमेन्ट आउटलुकका अनुसार नेपालको आर्थिक बृद्विदर २.८ प्रतिशत भन्दा तल देखिइनुले नेपाल घरेलु द्वन्द र हिंसाको जोखिमको भयानक अवस्थाबाट सजिलै फुत्कने सम्भावना देखिँदैन। किनकि आर्थिक असमानताको कारण विश्वका धेरै मुलुक गृहयुद्व र अशान्तिको चपेटामा पिल्सिएका हामीसामु थुप्रै दृष्टान्त छन्। त्यसकारण, यस्ता समस्याको न्युनिकरण र समाधान गर्न राज्यलाई ठोस नीति आवश्यक पर्दछ। श्रम बजारमा जनशक्तिको माग र आपूर्तिबीचको खाडल पुर्न एवं हुने र नहुनेबीचको खाडल कम गर्न राष्ट्रिय नीति निर्माणको खाँचो देखिन्छ। आर्थिक समृद्विको मुख्य आधार नै राम्रा नीतिगत पक्षको पर्याप्तता र इमान्दारितासाथ गरिने कार्यान्वयन नै हो।
राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरणको अभाव र कमजोर राष्ट्रिय श्रम नीतिकै कारण आर्थिक समृद्वितर्फ मुलुक अघि बढेको छैन। देश बेरोजगारले आक्रान्त छ। रोजगार प्राप्त गरेका जनशक्तिको पनि चरम श्रम शोषण भइरहेको छ। घोडा चढ्ने तर दानापानीमा कञ्ज्युस्याइँ गर्ने हरेक रोजगारदातामा देखिएको छ। श्रमिक हकहितको निम्ति खुलेका ट्रेड युनियन एकातर्फ राजनीतिक आडमा भ्रष्टाचार मच्चाइरहेका छन् भने अर्कोतर्फ गैरश्रमिकका नेतृत्व भएकैले श्रमिकको पीडा सम्बोधन गर्न सकिरहेका छैनन्। सम्पूर्ण श्रमिक स्वतन्त्र एवं स्वस्फुर्तरुपमा हक, अधिकार स्थापित गर्न सङ्गठित हुन पाउने अधिकारको संरक्षण र सङ्गठनको स्वतन्त्रतासम्बन्धी महासन्धि नं ८७, सङ्गठित हुने र सामुहिक सौदाबाजी गर्ने अधिकारसम्बन्धी महासन्धि नं ९८, न्युनतम ज्याला निर्धारणसम्बन्धी अभिसन्धि नं १३१, भेदभाव (रोजगारी र पेशा) सम्बन्धी महासन्धि नं १११, समान पारिश्रमिक सम्बन्धी महासन्धि नं १००, त्रिपक्षीय परामर्श( अन्तर्राष्ट्रिय श्रम मापदण्ड) महासन्धि नं १४४, सार्वजनिक सेवामा रोजगारसम्बन्धी महासन्धि नं १५१, सामूहिक सौदाबाजी महासन्धि नं १५४ नेपाल राज्य पक्षबाट अनुमोदन भएका र हुन बाँकी सबै अधिकारबाट बिभिन्न कारण र बहानामा श्रमिकहरु बञ्चित छन्।
विश्वव्यापी ट्रेड युनियन अधिकारको रुपमा स्थापित संगठित हुने अधिकार, सामुहिक सौदाबाजी गर्ने अधिकार र हडताल गर्ने अधिकारसमेत प्रत्याभूत भए पनि श्रमिकहरु अन्याय खेपेर पीडामा गुजि्ररहेका छन्। तसर्थ, उल्लेखित अधिकारका सुनिस्चितता एवं कार्यान्वयन हुन सकेको खण्डमा श्रमिकलाई मात्र नभई उद्योगी, व्यावसायी रोजगारदातालाई समेत लाभ हुने देखिन्छ। तर, जब श्रमिकहरुले हक, अधिकारको कुरा उठाउँछन तब केही बाहेक आम उद्योगी, व्यावसायीमा अनावश्यक त्रासको भूकम्प जानु साँच्चै विडम्वनापूर्ण अवस्था छ। आर्थिक सम्पन्नताको लागि मालिक र मजदूरबीचको सम्बन्ध सुमधुर हुनुबाहेक अर्को बिकल्प फितलो साबित भइसकेको छ।
म्ूालुकमा संविधान जारी भइसकेको छ। यद्यपि, मुलुक राजनैतिक बिकराल सङ्कटमा अहिले पनि गुजि्ररहेको छ। स्थायी शान्ति नभएसम्म आर्थिक बिकास हुने सम्भावना देखिँदैन। मुलुकमा आर्थिक समृद्धिको लागि राष्ट्रिय श्रमनीति एवं श्रमिकको भाग्य–भविष्य र हक अधिकार सुनिस्चितताको लागि कोही पनि गम्भीर छैनन्। श्रमनीति र श्रमिकको अधिकार संस्थागत गर्ने नाउँमा ठूला राजनीतिक दलका अमूक युनियन, संघसंस्था, भातृ सङ्गठनको चित्त बुझाउन कागजी सहमति मात्रै नगरेर संविधान श्रमिक पक्षीय हुनु पर्दछ। बिकास–समृद्धि र परिवर्तनको आधार श्रमनीति, शक्तिबाहेक अरु पनि छन्। तर, ती सबै गौण हुन्। नेपाल आर्थिक र श्रमको भरपर्दो एवं दीर्घकालीन नीतिअभावमा यति धेरै पछौटे हुनु परेको हो। बिगतमा थुप्रै गल्ती भएका छन्। त्यसबाट पाठ सिकेर सच्याउनु पर्छ कि पर्दैन? उत्पादनसँग नजोडिई आर्थिक समृद्धिको नारा लगाएर मात्रै देश बन्छ? बिदेशिएका युवालाई स्वदेश फर्काउन चर्का भाषणले मात्रै संभव छ? के भाषण मात्रै गरेर देश समृद्ध बनाउने तरीका नयाँ हो? प्रश्न उठेको छ।
0 comments
Write Down Your Responses