Powered by Blogger.
६ वर्ष यता वीपी राजमार्गमा १०९ ओटा सडक दुर्घटना

 १२७ जनाको मृत्यू, ६ सय भन्दा वढी घाईते 

सिन्धुली, १२ चैत्र । वीपी राजमार्गको सडक सुविधा पाउनु सिन्धुलीबासीहरुको हरेक क्षेत्रको विकासको लागी महत्वपूर्ण अवसर हो तर विडम्बना त्यहि सडकलाई सहि सदुपयोग गर्न नसक्दा ठुला–ठुला मानवीय दुर्घटनाहरु पनि निम्तीने गरेका छन र ति दुर्घटनाले सिन्धुलीबासीलाई सधै अत्याईरहेको अवस्था छ । 
वीपी राजमार्ग आफैमा साधुरो छ त्यसमा पनि सिन्धुली खुर्कोट खण्ड असाध्यै घुमाउरो पनि छ । जापान सरकारको सहयोगमा निर्माण गरिएको यो राजमार्ग तराईलाई राजधानीसँग जोड्ने छोटो दुरीको सडकको रुपमा पनि स्थापित भएको छ । यो राजमार्गले सिन्धुलीको चुरे देखी कुशेश्वर दुम्जा सम्म झण्डै १ सय किलोमिटर सिन्धुलीको भुभागलाई छोएको छ । सिन्धुलीबासीको समग्र विकासमा यो सडकले महत्वपूर्ण भुमीका समेत निर्वाह गरिदिएको छ । सहज ढंगले राजधानी र तराईका जिल्लाहरुसँग जोडिदिएको यो राजमार्गले सिन्धुलीमा उत्पादित बस्तुहरुको निर्यात र वाहिरबाट सामान आयात गर्न सहज बनाइदिएको छ । अझ पछिल्लो समय त सिन्धुली राजमार्ग नै राजमार्गहरुको जिल्ला भएको छ । वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र हेटौडा–चतरा भित्री मधेश राजमार्ग पनि सिन्धुली हुँदै निर्माण हुँदैछ । यो सकारात्मक पक्ष हो । 
वीपी राजमार्ग र अन्य राजमार्गहरुको धेरै गुणहरु छन । सकारात्मक पक्षहरु नै वढी भएपनि यस्का केहि अवगुणहरु पनि छन । सडकलाई सहि ढंगले प्रयोग गर्न नसक्दा उपलब्धीसँगै ठुलठुला क्षतिहरु पनि निम्तीने गरेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङक अनुसार २०६५ साल यता मात्र वीपी राजमार्गको अन्र्तगतको सिन्धुली खण्ड्मा १०९ ओटा ठुला तथा साना सडक दुर्घटनाहरु भएका छन । उक्त सडक दुर्घटनाबाट १ सय २७ जनाले ज्यान गुमाएका छन भने ६ सय १० जना व्यक्तिहरु घाईते भएका छन । 
यति धेरै सडक दुर्घटनाहरुले सिन्धुलीबासीलाई अत्याएको र दुखद बनाएको अवस्था छ । यो सडकमा भएका दुर्घटनाहरु मध्ये २०६८ सालको असोजमा भएको रिठ्ठेभीरको सडक दुर्घटना सवैभन्दा ठुलो दुर्घटना हो जहाँ आफ्नो घरमा दशै मनाएर सिन्धुली सदरमुकामबाट काठमाण्डौ फर्कदै गरेको ४१ जना यात्रीहरुको एकैठाउँ ज्यान गएको थियो । अर्को ठुलो दुर्घटना २०६८ सालमै रिठ्ठे भिरमै भएको दुर्घटना हो । जहाँ १३ जनाले एकैठाउँ ज्यान गुमाएका थिए । त्यसबाहेक दर्जनौ त्यस्ता दुर्घटनाहरु छन जहाँ ठुलो संख्यामा मानवीय क्षति भएको छ । 
पछिल्लो समय वीपी राजमार्गको निर्माण कार्य समेत सकिएको छ । ६ वर्षलाई हेर्ने हो भने यो अत्याधीक सडक दुर्घटना हो । यति धेरै सडक दुर्घटना हुनु र मानवीय क्षति हुनु निक्कै कहाली लाग्दो अवस्था हो । 
निर्माण कार्य सम्पनन् भएपछि सवारी साधनको चापमा बृद्धि भएसागै सवारी दुर्घटना वढ्ने अनुमान स्थानीयहरुले लगाएका छन । तर संभावित सडक दुर्घटनालाई न्युनिकरण गर्न सडक विभाग र स्थानीय प्रशासनले त्यसमा केहि सुधार गर्न खोजेको भएपनि त्यसको प्रभावकारीता खासै देखिएको अवस्था छैन । 
यो सडक दुर्घटनाबाट भएको मानवीय क्षतिलाई मध्य नजर गर्दै सडकसँग सम्बन्धीत सवै पक्षले सडक सुरक्षामा ध्यान दिन जरुरी देखिएको छ । सवारी मालिक, सवारी चालक, यात्रु, स्थानीयबासी र नियम कानुनको नियमन गर्ने ट्राफिक प्रहरी देखी स्थानीय प्रशासन सम्म यो कुरामा गम्भीर भएर लागेमा आगामी दिनमा वीपी राजमार्गमा हुन सक्ने संभावित दुर्घटनालाई न्युनिकरण गर्न सकिने स्थानीयहरु बताउछन । 


,

0 comments

Write Down Your Responses