Powered by Blogger.
स्कूलका लागि शिक्षा मन्त्रालयको १६ बुँदे नियम

काठमाडौं,  १८ चैत्र । सरकारी स्कुलको वार्षिक उत्सव कार्यक्रमहरु निकै भद्दा र पट्यारलाग्दा भएको भन्दै सरकारले नयाँ नियम बनाएको छ । शिक्षा विभाग अन्तर्गतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले जिल्ला तथा विद्यालयस्तरमा सञ्चालन गर्ने औपचारिक कार्यक्रम व्यवस्थित बनाउन १६ बुँदे नियम बनाएको हो ।
शिक्षा विभागले चैत १० गते निर्णय गरी स्कूलका कार्यक्रमहरुमा गर्न नपाइने १६ कामको सूचीहरुमा मञ्चमा अति कम मानिस मात्र बस्ने ब्यवस्था मिलाउनु पर्नेछ र को कहाँ बस्ने पहिले नै निर्धारण गर्नुपर्ने वुंदा उल्लेख छ । त्यस्तै नियममा अतिथिहरु कार्यक्रम सुरु नहुँदै मञ्चमा पुगिसक्नु पर्ने र उनीहरुलाई एकमुष्ट आसन ग्रहण गराउनुपर्ने पनि जनाइएको छ । विभागको निर्णयमा ‘कार्यक्रम सुरु भएपछि अविरल आसनग्रहण नगराउने, हाम्रो आसनग्रहणको क्रम यसपछि पनि जारी रहनेछ भन्दै कार्यक्रमको समापन चरणसम्म आसनग्रहण नगराउने ।’ भनिएको छ ।
त्यस्तै प्रमुख अतिथि नआइपुगेपनि कार्यक्रम तोकिएको समयमा गर्नुपर्नेछ, बरु उद्घाटन भने प्रमुख अतिथि आएपछि गराउने निर्णयमा जनाइएको छ । कार्यक्रम सञ्चालकले भाषण गर्ने, वक्ताले बोलेका कुराको ब्याख्या र संक्षेपीकरण गर्न पनि पाउनेछैनन् । त्यस्तै स्वागत मन्तव्य दिनेले बाहेक अरु वक्ताले संबोधन पनि गर्नुपर्ने छैन ।
कार्यक्रमहरुमा प्रमुख अतिथि र विशेष अतिथिको गरी दुई थरी मात्र ब्याच बनाउनुपर्नेछ । ब्याच वितरण गर्दा महिला अतिथिलाई छात्राले र पुरुष अतिथिलाई छात्रले हातमा दिनुपर्नेछ ।
अतिथिको स्वागतका लागि पञ्चकन्या प्रयोग गर्न पनि नपाइने भएको छ । त्यस्तै बालबालिकाहरुलाई कार्यक्रमस्थल जाने बाटोदेखि नै लाइनमा राखेर ताली बजाउने र फूलमाला दिने गराउन पनि नपाइने भएको छ । निर्णयमा भनिएको छ ‘प्रमुख अतिथि तथा अतिथिका स्वागतका लागि पञ्चकन्या प्रयोग नगर्ने, बालबालिकालाई कार्यक्रमस्थल जाने बाटोदेखि नै ताली बजाउने र फूलमाला दिने काममा नलगाउने ।’
प्रमुख अतिथिको स्वागतका लागि धेरै माला लगाइदिन पनि नपाइने भएको छ । त्यसको सट्टा गाउँमा नै पाइने फूलको गुच्छा दिनुपर्नेछ । खादा प्रयोगमा पनि बन्देज लगाइएको छ । सांस्कृतिक कारणले खादा प्रयोग गर्नुपरेमा त्यसमा प्रयोग भएको भाषा सबैले बुझ्ने हुनुपर्नेछ । प्रमुख अतिथि, विशेष अतिथि चाँडै जानुपर्ने भएमा उनीहरुको बिदाई गर्न लाइन लाग्न नपाइने पनि उल्लेख गरिएको छ ।
विभागले विद्यालयको वार्षिक कार्यक्रम दुई चरणमा गर्न आग्रह गरेको छ । विद्यालयको प्रगति विवरण, आयव्य विवरण, शुभकामना मन्तब्य, पुरस्कार वितरण, सम्मान जस्ता कार्यक्रम २ घण्टाभित्र सक्नुपर्नेछ ।
प्राज्ञिक कार्यक्रम सकिएपछि विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने सांस्कृतिक कार्यक्रम गर्नुपर्नेछ । यसमा देशको मौलिक संस्कृति झल्किने नाचगान, बालगीत, लोकगीत, राष्ट्रिय गीतमा मात्रनाचगान गर्न पाइनेछ । उत्ताउलो फिल्मी गीत, पप गीतमा नचाउन पनि नपाइने उल्लेख गरिएको छ ।
बिभागको चैत १० गतेको बैठकले आसन ग्रहण र बसाइ ब्यवस्थापन गर्ने, कार्यक्रम सञ्चालन, अतिथिको स्वागत र बिदाइ गर्ने तरिका सहितको सुझाव क्षेत्रीय शिक्षा निर्देशनालयमार्फत जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुमा पठाएको हो ।


,

0 comments

Write Down Your Responses